समाज

तीन मुखे पुलको काम दुई बर्षमा पनि सुरु भएन

पाल्पा-पाल्पा, स्याङजा र गुल्मी जिल्लाको संगम स्थलमा रहेको प्रशिद्ध धार्मिक क्षेत्र रिडीको कालिगण्डकीमा निर्माण हुने भनिएको ३ मुखे झलुङ्गे पुल निर्माणको काम अलपत्र परेको छ। काम सुरु गर्न शिलान्यास गरेको २ वर्ष बितिसकेको छ। तर, निर्माण कार्य प्रारम्भ हुन सकेन । तत्कालिन नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले पुल शिलान्यास गरेका थिए।

२०७१ आषाढ १० गते नयाँ बाटो रुबिना मना जेभि कन्ट्रक्सन तनहुँसँग ९ करोड ८८ लाख लागतमा ठेक्का सम्झौता भएको थियो। पुलको हालसम्म कुनैपनि काम अघि बढ्न नसक्दा यस क्षेत्रका स्थानीय बासीले आक्रोश व्यक्त गरेका छन्।

नयाँ बाटो रुबिना मना जेभि कन्ट्रक्सनसँग सरकारले २०७४ असार ९ गते काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । पुल निर्माण कार्य अगाडी बढाउन पहल गर्न भन्दै पटक–पटक सम्बन्धित मन्त्रालय र मन्त्री कहाँ भेट गर्न गएको स्थानीय परशुराम भट्टराईले बताए । उनी भन्छन्, अहिलेसम्म पुल निर्माणको कुनै कार्य भएको छैन, मन्त्रालयबाट पुल बन्ने आश्वासन पाईयो।

रिडी बजार व्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार श्रेष्ठले पुल निर्माण हुने भो भनेर स्थानीयहरु हर्षित भएकोमा अहिले निराशा थपिएको बताउँछन्। निर्माण कम्पनी कुनै प्रक्रिया अगाडी नबढाउँदा १ वर्षमा पुल नबन्ने निश्चित भएको छ । तीन जिल्लाका मानिसहरुको बजार गर्ने स्थान र धार्मीक पर्यटकीय गन्तव्य भएकोले रिडीमा पुलको आवश्यकता भएको श्रेष्ठले बताए।

रुरु नेटवर्क प्रालिका प्रबन्ध सञ्चालक सुन्दर कसजुले स्थानीयहरुलाई आश देखाएर सरकारले भ्रम सिर्जना गरेको बताए । उनी भन्छन्, ‘कि आशा नदेखाउनु थियो, तामझामका साथ शिलान्यास गरेर एउटा खाल्टो खनेर फर्कीए । अहिलेसम्म निर्माण कम्पनी देखा समेत परेको छैन ।’ १५ करोड इष्टिमेट भएको पुल लिलाम घटाघटमा ठेक्का लिँदा कममा सम्झौता भएको र घाटा हुने देखेर काम नगरेको कसजु बताउँछन्।

                उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पुल बनाउने प्रक्रिया अघि बढाउन पहल गर्ने बताएकाछन् । ऋषिकेश मन्दिरका पुजारी चुरामणी तिमिल्सिनाले धार्मिक र पर्यटकिय क्षेत्रलाई पहिचान गराउनका साथै स्थानीय गाउँ बासीलाई सुविधाका लागि पुल बनाउन बजेट परेको बताए । उनी भन्छन्, यस क्षेत्रका अधिकांश मानिस नदी तर्न समस्या खेपिरहेकाछन् । रिडी बजार कालिगण्डकी किनार र रिडी खोलाको किनारमा अवस्थित छ।

प्रकाशित: ४ श्रावण २०७३ १०:५२ मंगलबार

मुखे पुलको काम दुई बर्षमा सुरु भएन