समाज

कर्णाली अस्पताललाई डेढ करोडको जग्गा दान

जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई स्थानीयले झण्डै डेढ करोड रुपैयाँ बरावरको जग्गा दान गरेका छन्। प्रतिष्ठानको मेडिकल कलेज स्थापनासँगै भवन निर्माणको लागि जग्गा दान गरिएको हो। चन्दननाथ नगरपालिका– ४ का नन्द खत्री र देविसिंह खत्रीले ३० हजार वर्गमिटर जग्गा अस्पताललाई दान गरेका हुन्।

नन्द खत्रीले २५ हजार र देवि सिहंले ५ हजार वर्गमिटर जग्गा शिक्षण अस्पताल जुम्लालाई दान गरेका हुन्। जिल्ला मालपोत कार्यालयको दररेट अनुसार प्रतिवर्गमिटर ५ सयका दरले डेढ करोड रुपैयाँ बराबरको जग्गा दान गरिएको जग्गादाता नन्द खत्रीले बताए। ‘अस्पताललाई जग्गा दान गर्न पाउँदा खुशी लागेको छ’, उनले भने,‘मेडिकल कलेज स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुने र त्यही जनशक्तिले कर्णालीका विरामीको उपचार सेवा दिने आशा गरेको छु ।’

मेडिकल कलेजकालागि ५ सय रोपनी जग्गा आवश्यक परेकोमा दुई जनाले पहिलो चरणमा ३० हजार वर्गमिटर जग्गा दिएको अस्पतालका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए।  लालपुर्जा जग्गादाताले अस्पताल प्रशासनलाई दिइसकेका छन्। बाँकी ११ जनाले पनि जग्गा दान गर्ने तयारी गरिरहेका छन्।

पहिलो चरणमा निस्वार्थ रुपमा मेडिकल कलेज स्थापनाका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उनीहरुले बताए। स्वास्थ्य शिक्षा जस्तो पवित्र कार्यालयको पठनपाठन गाउँमै हुँदा निकै खुसी भएको भन्दै स्थानीय मक्कर खत्रीले दुई वर्षदेखिको मेडिकल कलेज स्थापना गर्न वातावरण सृजना गरेको बताए। प्रतिष्ठानले जग्गादाता र जग्गादानकालागि वातावण बनाउने मध्यस्थकर्तालाई सम्मान गरेको छ।

 

प्रकाशित: ३ श्रावण २०७३ १०:०१ सोमबार

कर्णाली अस्पताललाई डेढ करोडको जग्गा