समाज

झरीले पिरल्यो भूकम्पपीडितलाई

भक्तपुर- बर्खामास दिनरात झमझम पानी परिरहेपछि अहिलेसम्म पनि त्रिपाल र जस्ताका अस्थायी टहरामा बस्न बाध्य भूकम्पपीडितसँग झरीमा रुझ्नुको विकल्प छैन। गतवर्षको विनासकारी भूकम्पले घर भत्काएपछि अहिलेसम्म पनि अस्थायी शिविरमा बस्न बाध्य भूकम्पपीडित परिवारको जनजीवन सकसपूर्ण बनेको हो।

जिल्लाका ठाउँठाउँमा बसिरहेका पीडितलाई गत वर्षभन्दा यस वर्षको बर्खा काट्न निकै सकस परेको छ। गतवर्ष नयाँ त्रिपालले बर्खा धाने पनि यसवर्ष पुरानो र मक्किएको त्रिपालले पानी थेग्न नसकेपछि भूकम्पपीडितको बिचल्ली भएको छ।

'पानी पर्न थालेपछि त्रिपालभित्र भान्छा र ओछ्यान भिज्नबाट जोगाउनै गाह्रो हुन्छ,' त्रिपालमा बसिरहेकी रामप्यारी स्वंगमिखाले नागरिकसँग दुःख बिसाइन्, 'कतै जाने ठाउँ र बस्ने ठाउँ अनि भत्केको घर बनाउने आर्थिक अवस्था नभएपछि शिविरमै गुजारा चलाउन बाध्य छौं।'

बुढाबुढी, बालबालिका र अपांगलाई शिविरको बसाइ अझ कष्टकर बनेको छ। कोठाभाडा लिएर बस्न नसक्ने भूकम्पपीडित सबैभन्दा बढी समस्यामा परेका छन्। भक्तपुर नगरपालिका–५ देकोचास्थित भूकम्पपीडित शिविरमा बस्दै आएका लक्ष्मीकेशरी सितिखु शिविरमा बालबालिकालाई कठिन भएको बताउँछिन्। शिविरमा सितिखुको परिवारजस्तै भक्तपुर नगरपालिका–४ थालाछे, वडा–५ याछे, भोलाछे र वडा–७ गोल्मढीका ५४ परिवार देकोचा अस्थायी शिविरमा बसिरहेका छन्। शिविरमा ५४ परिवारका ३ सय जना बसिरहेका छन्।

देकोचा शिविरमै बस्दै आएकी भनपा–५ भोलाछेकी सीता कुसाथाले एउटा घरमा ६ दाजुभाइको परिवार एक/एक वटा कोठा बारेर बसेको र भूकम्पले त्यो भत्काएपछि सबैको उठिबास भएको बताउँछिन्। एउटा सानो घरमा यसरी ५/७ दाजुभाइ संयुक्त रुपमा बसोबास गर्दा कसले कसरी घर पुनर्निर्माण गर्ने अन्याल भएकाले पनि भक्तपुरमा धेरै घर पुनर्निर्माणको कुनै सुरसार हुन सकेको छैन।

शिविरभित्र सर्पको त्रास पनि उत्तिकै रहेको विभिन्न शिविरमा बसेकाले बताएका छन्। दिनहुँजसो झरी परे पनि भूकम्पपीडितका सबै शिविरमा खानेपानीको समस्या छ। 'सहयोग लिन शिविरमा नक्कली भूकम्पपीडित बसेको आरोप लगाउनेलाई शिविरमा एक दिन मात्रै बास बस्न हामी चुनौती दिन्छौं,' भूकम्पपीडित मंगललक्ष्मी शाही भन्छिन्।

भक्तपुर नगरपालिकाको तथ्यांक अनुसार नगरभित्र मात्रै ८७ ठाउँमा २ हजार ३ सय ६ परिवारका १४ हजार ३ सय ३८ जना अस्थायी शिविरमा बसिरहेका छन्। नगरभित्रका ब्याँसी, देकोचा, कमलविनायक, गरुडकुण्ड, च्याम्हासिंह, लिवालि, भेलुखेल, हनुमानघाट, बाराहीलगायत ठाउँमा जताततै अस्थायी शिविरमा भूकम्पपीडित साउने झरीमा कष्टकर जीवन जिउन बाध्य छन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल पुनर्निर्माण अनुदान वितरणका लागि मंगलबार भूकम्पपीडितको लगत संकलन सुरु गर्ने बताउँछन्। पहिलेको तथ्यांकलाई आधार मानी मंगलबारदेखि टोली खटिने उनले जनाए। यसका लागि भक्तपुरको कमलविनायकमा कार्यालय स्थापना भइसकेको उनले जानकारी दिए। 'पुनर्निर्माण सुरु भएपछि उहाँहरूको समस्या समाधान होला,' प्रजिअ पौडेलले भने।

प्रकाशित: ३ श्रावण २०७३ ०२:५९ सोमबार

झरीले पिरल्यो भूकम्पपीडितलाई