समाज

ठेकेदार लापरबाहीले अढाई करोड क्षति

भीम चापागाईं/खगेन्द्र अधिकारी

इलाम/ताप्लेजुङ- तमोर नदीमा निर्माणाधीन मोटरेबल ट्रस्ट पुल बाढीले बगाउँदा अढाई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। ठेकेदार कम्पनीले सम्झौता अवधिमा काम नसक्दा ताप्लेजुङका निर्वाचन क्षेत्र १ र २ जोड्ने पुल शुक्रबार रातिको बाढीले बगाएको हो।

जमिनमा सिमेन्टमाथि ट्रस्ट राखेर पुल निर्माण हुँदै थियो। तर, जडान कार्य भइरहेका बेला ट्रस्ट जोड्न सजिलोका लागि गाडिएका टेका (तक्चे) शनिबार बिहान करिब पौने २ बजे आएको बाढीले बगाउँदा पुल क्षतिग्रस्त भएको छ। गत फागुनमै सक्नुपर्ने काम ठेकेदारको ढिलाइका कारण बर्खासम्म धकेलिएकाले यो क्षति भएको पुल नियमनकर्ता उत्तर–दक्षिण लोकमार्ग आयोजना प्रमुख कुबेर नेपालीले बताए। 'सम्झौता अवधिमा काम सकिएको भए यो क्षति हुने थिएन,' उनले भने, 'ठेकेदार कम्पनीले दिनहुँको हर्जाना तिरेर काम गर्दै थियो।'

बाढीले सिमेन्टको संरचनामा क्षति नगरे पनि ट्रस्ट भने पूरै बगाएको उनले जानकारी दिए। 'ट्रस्ट जडान बर्खाअघि सक्न पाएको भए पानीले भेट्ने थिएन र क्षति हुने थिएन,' उनले भने, 'बाढीले बगाएको ट्रस्ट कति पुनः प्रयोग गर्न सकिन्छ भन्ने टुंगो छैन। तर, जडान कार्य शून्यबाटै सुरु गर्नुपर्ने भएको छ।' पुनर्निर्माणका लागि कति लगानी थप्नुपर्छ भन्ने अनुमान नै गर्न नसकेको उनले बताए। 'पुलको ट्रस्ट बाढीले बगाउनु इन्जिनियरिङ नै गलत हुनुचाहिँ होइन,' उनले भने, 'हिउँदमै काम सकेको भए यो समस्या आउने नै थिएन।' उनले बाढीले करिब अढाई करोड रुपैयाँको क्षति पुर्‍याएको अनुमान गरे। २०६६ सालमा पहिलोपटक निर्माण सम्झौता भएको ७५ मिटर लामो पुलको कुल लागत १० करोड ३५ लाख ९५ हजार रुपैयाँ छ।

ताप्लेजुङ नगरपालिका र थाप्लुङ गाविस जोड्ने पुल बाढीले बगाएपछि दर्जनभन्दा बढी गाउँका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। चालु वर्षका लागि सरकारले प्राथमिकतामा राखेको वसन्तपुर–गुफा दोभान सडकका लागि पनि यही पुल आवश्यक थियो। निर्माण सुरु भएको ७ वर्ष बित्दा पनि पुल निर्माण नसकिएको भन्दै स्थानीय आक्रोशितसमेत छन्। दोभान बजारका हरि काफ्लेले ठेकेदारको ढिलाइले पुल बगेको भन्दै आक्रोश पोखे। 'कि पुल निर्माणको जिम्मा नै नलिनु, लिइसकेपछि उपभोक्तालाई किन यत्रो हैरानी दिनु?' उनले भने, 'यस्तो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नुपर्छ।' स्थानीय दीपक काफ्लेले पुल बाढीले बगाएसँगै आफूहरूको भविष्य अन्धकारतिर धकेलिएको गुनासो गरे। बीचैमा काम छोड्दा स्थानीयले पुल निर्माणमा दबाब दिएपछि आयोजनाले ठेकेदार कम्पनी कन्काई इन्टरनेसनल बिल्डर्सलाई दैनिक ०.०५ प्रतिशत हर्जाना तिराएर पुनः काम लगाएको थियो।

खोलाको काम जोखिपूर्ण हुने जान्दाजान्दै ठेकेदार कम्पनीले लापरबाही गरी काममा ढिलाइ गरेको अर्का स्थानीय भोला पौडेलले आरोप लगाए। २०६६ मंसिर ८ मा तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले शिलान्यास गरेको पुलको काम १ वर्ष तीव्र गतिमै भएको थियो। त्यसपछि अढाई वर्षसम्म ठेकेदारले कुनै काम नगरेको उनले बताए।

ठेकेदार कम्पनीले विभिन्न बहानामा पुल निर्माणको काम नगरेको आयोजनाले जनाएको छ। पटक–पटक ताकेता गर्दा करिब ८० प्रतिशत काम सकिएको थियो। तर, पुलको ट्रस्ट जडानको काम भने कन्काईसँग हुलास स्टिल कम्पनीले जिम्मा लिएको थियो। यहाँबाट जितेका सांसद, स्थानीय र उत्तर–दक्षिण आयोजनाको संयुुक्त दबाबपछि निर्माण कम्पनीले २०७२ साल असोजसम्मको म्याद पाएको थियो। यो अवधिमा पनि पुल निर्माणले गति लिएन। पुुस अन्तिम साता आयोजनाले निर्माण थाल्न अन्तिम चेतावनी दिएको थियो। असोजसम्म पाएको अवधिमा विपद्को कारण देखाउँदै सरकारले नै फागुन १५ सम्मको म्याद थपे पनि त्यत्तिकै गुज्रेको थियो। त्यसपछि आयोजनाले हस्तक्षेप गरी ठेकेदारलाई जरिवाना लगाएर काममा फर्काएको योजना प्रमुुख नेपालीले बताए। उनका अनुसार निर्माण कम्पनीले काम ढिलो गरेबापत फागुुन १५ पछि जरिवाना तिरिरहेको आयोजनाले जनाएको छ। कम्पनीले गत वैशाख १७ मा निर्माण थाले पनि तमोर नदीमा पानीको बहाव बढेको कारण देखाउँदै जेठ २७ मै काम रोकेको थियो।

निर्माण कम्पनीले लागतमध्ये ६ करोड रुपैयाँजति भुक्तानी लिइसकेको नेपालीले बताए। उनले निर्माण कम्पनीलाई काममा भएको ढिलाइबापत जरिवाना गरेर पुनः निर्माण थाल्ने कार्यतालिका माग गर्ने तयारी भइरहेको जानकारी दिए। ‘हामीले निर्माण कम्पनीबाट क्षति भएको गुनासो सुन्ने नभई काम ढिला गरेबापत जरिवाना गराएर थप काम थाल्नेतर्फ पहल गर्नुपर्ने हुन्छ,' उनले भने।

केही दिनअघि यहाँबाट करिब १० किलोमिटर माथि सावादिन गाविसमा तमोर नदी थुनिएर ताल बनेको छ। त्यो जोखिमपूर्ण ताल फुटेर यहाँ बाढी आएको भने होइन। नदीमा बढेको पानीको बहाव शनिबार बिहानभन्दा दिउँसो अलि घटेको स्थलगत अवलोकन गरेका नेपालीले बताए। उनले बाढी अझै आए पुलमा थप क्षति गर्नसक्ने जनाए। 'यही अवस्था रह््यो भने हिउँदमा पुलको काम पुनः सुरु हुन्छ,' उनले भने, 'बर्खाभर त काम गर्ने अवस्थै छैन।'

प्रकाशित: २ श्रावण २०७३ ०१:५३ आइतबार

ठेकेदार लापरबाहीले अढाई करोड क्षति