समाज

माडीमा जंगली हात्तीले आक्रमण गर्दा वृद्धाको ज्यान गयो

चितवन–चितवनको माडीमा जंगली हात्तीको आक्रमणमा परेर एकजना महिलाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटना गए राति साढे एक बजे भएको हो। चितवन निकुञ्जको आडैमा रहेको माडी नगरपालिका–८ हरिनगरमा हात्तीले आक्रमण गर्दा सोही ठाउँकी ७५ वर्षीया जलपो पावेको ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

माडी जंगली जनावरले सवैभन्दा धेरै सताउने चितवन राष्ट्रिय निकुञ्ज आडको वस्ती हो । केही समयदेखि जगतपुरको घैलाघारी क्षेत्रमा जंगली हात्ती निस्केर घर भत्काउने र केरा लगायतका बाली नोक्सान गरे पनि कुनै मानवीय क्षति गरेको भने थिएन । सोही हात्ती माडी क्षेत्र पसेको हुन सक्ने स्थानीयको अनुमान रहे पनि चितवन निकुञ्जले यस विषयमा अनुशन्धान भइरहेको जनाएको छ ।

 हात्तीको आक्रमणमा परेर पावेको घटना स्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । घटना स्थाल माडी ठोरी सडकबाट पाँच किलो मिटर उत्तर तर्फ पर्दछ । हात्तीले स्थानीय मानबहादुर धर्तीको घरमा पनि पुर्ण क्षति पु¥याएको चितवन प्रहरीले जानकारी दिएको छ । निकुञ्जबाट आएका जंगली जनावरको आक्रमणमा परेर विस २०५५ साल यता मात्रै माडीमा ५० भन्दा धेरैको ज्यान गएको निकुञ्जको तथ्याङ्क छ ।
    

 

प्रकाशित: १ श्रावण २०७३ ०३:२८ शनिबार

माडीमा जंगली हात्तीले आक्रमण गर्दा वृद्धाको ज्यान गयो