समाज

पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिभल सुरु

कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यका साथ आज देखि धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिभलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एसोसिएसन अफ भेडेटारले आयोजना गरेको फेस्टिभलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ।औपचारिक कार्यक्रमका बिच आज उद्घाटन गरिएको फुड फेस्टिभललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवद्र्धनका रुपमा समेत लिइएको छ।होटल एसोसिएसन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग  पाएको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने जानकारी दिईन।  

पूर्वको पर्यटकीय गनतव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिभल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ।फेस्टिभलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गनतव्यका रुपमा चित्रित गर्न थप मद्दत पु¥याउने विश्वास लिइएको छ।फेस्टिभलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको उनले जानकारी गराए।  

फेस्टिभलमा सांगुरीगढी गाउँपालिकाले अर्ग्यानिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनी सहितको स्टल राखिएका छन्।फेस्टिभल अवधिभर भेडेटारको रमणीय क्षेत्रको भ्रमण गराइने तथा हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने आयोजकले जनाएको छ।

प्रकाशित: १६ पुस २०७९ १२:१० शनिबार