समाज

सुकौरा–काभ्रे–सिरुवानी सडक निर्माण सुरु

सुकौरा–काभ्रे–सिरुवानी सडक सिल्यान्यास गर्दै मेयर बस्नेत। तस्बिरः महेश्वर

सदरमुकामको नगरपालिका भए पनि बिकट मानिएको त्रियुगा नगरपालिका १६ नं. वडाको सुकौरादेखि चिलाउने जोड्ने ग्रामिण सडक निर्माण कार्य सुरु भएको छ। त्रियुगा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त सडक निर्माण कार्य थालेको हो। 

‘सुकौरा–काभ्रे–सिरुवानी–चिलाउने’ नाम दिइएको उक्त सडक आउँदो तीन महिनाभित्र सम्पन्न हुने गरी थालिएको छ। प्रधानमन्त्री रोजगार सेवा केन्द्र त्रियुगा नगरपालिका संयोजक निशा घलेका अनुसार ७ किलोमिटर सुख्खा माटो कटिङ र ८ मिटर पहरा (चट्टार) फोर्ने प्राविधिक इस्टीमेट रहेको सडक १ सय दिनमा निर्माण सकिने गरी सुरु भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६ लाख ९२ हजार ४ सय रुपैँया तथा १६ न. वडाले सहभागितावापत ६५ हजारमा उक्त सडक निर्माण थालिएको घलेले बताइन्।

सडक निर्माण कार्यमा खट्न वडाबाट सूचीकृत भएका ६ महिला र ६ पुरुष गरी १२ जना स्थानीय कामदार छानिएका छन्। सडकको जिरो माईल सुकौरामा बिहीबार आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख बसन्तकुमार बस्नेतले सडकको सिल्यान्यास गरे। सडक सिल्यान्यासँगै मेयर बस्नेतले कामदारहरुलाई कामदार सूचिकृत पत्र प्रदान पनि गरे।

मेयर बस्नेतले सानो लगानी र स्थानीय जनशक्ति र स्रोतको उपयोगमार्फत गाउँको विकास निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले गाउँघरका बेरोजगार जनशक्तिलाई स्थानीयस्तरमै सहभागी गराएर काम गर्दा दिगो, भरपर्दो र कम लागतमा महत्वपूर्ण योजनाहरु सम्पन्न गर्ने काम यसबाट हुदै आएको बताए।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण हुने यो सडकले स्थानीयबासीलाई छोटो दुरीको सडकमार्फत आउजाउ गर्न सहज हुने बताए। सबै वडालाई नगरपालिका केन्द्रसँग सडक सञ्जालले जोड्न नगरकार्यपालिका लागिरहेको बताउँदै अधिकृत वनले सञ्चालित योजना समयमै सक्न सुझाए। 

वडाध्यक्ष मानबहादुर राईले चिलाउनेको तल्लो भेगका बासिन्दालाई वडा कार्यालयसम्म सडक बाटोले जोड्न सो सडक निर्माण थालिएको बताए। उनले उक्त सडक बनेपछि सुकौरा, आहाले र खानी क्षेत्रका वडाबासीलाई वडा कार्यालय आउजाउ गर्ने दुरी छोटिने बताए। हाल सुकौरादेखि माथिल्लो भेगको सडकबाट घुमेर वडा कार्यालय पुग्नुपर्ने बाध्यता यो सडक बनेपछि हट्ने तथा चिलाउने, भोर्ले, सिरुवानी र काभ्रेलबासीलाई नगपालिका केन्द्र गाईघाट आउजाउ गर्न आधा दुरी छोटिने वडाध्यक्ष राईले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गोमा कार्की, नगर योजना तथा अनुमगन अधिकृत विश्वजित राई, इन्जिनियरहरु निर्मल चौधरी, जिन्सी शाखा प्रमुख भगवती खतिवडा, वडा सदस्य कुन्ती परियारलगायत जनप्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र सर्वसाधारण वडाबासीको उपस्थिति थियो।  

प्रकाशित: १५ पुस २०७९ ०८:५५ शुक्रबार

सडक