समाज

डा.केसीको स्वास्थ्य जोखिमपूर्ण

अनसनरत डा.गोविन्द केसी। तस्विरः केशव थोकर

काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगको टोलीले चार दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण बन्दै गएको भन्दै चासो देखाउन ध्यानाकर्षण गराएको छ। आयोग अधिकृत दीपेन्द्र सिंहको नेतृत्वको टोलीले केसीको स्वास्थ्यमा अस्पताल प्रशासनले चासो नदिँदा उनको अवस्था गम्भीर हुँदै गएको औंल्याएको हो।

बिहीबार बिहान ८ बजे केसी अनसनरत त्रिवि शिक्षण अस्पताल पुगेर आयोग टोलीले डा.केसीको अवस्थाबारे जानकारी लिएको थियो। केसीको शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मुटुको धड्कन दर वृद्धि हुन थालेको छ। अक्सिजनको मात्रा ९०, मुटुको धड्कन वृद्धि भएर १०० सम्म पुग्ने गरेको छ।

सामान्य मान्छेमा अक्सिजनको मात्रा प्रतिमिनेट १०० हुनुपर्छ भने मुटुको धड्कन ७२ हुनुपर्छ। धड्कन बढ्नु र अक्सिजन घट्नुले जोखिमको संकेत हो। डा.केसीले आफ्नो मृत्यु होस् भने जसरी राज्य लागेको भन्दै कुनै पनि हालतमा अनसन नरोक्ने बताए।

'अस्पतालका आफ्ना साथीहरुलाई डर देखाएकै कारण उपचार प्रबन्ध नगरेको हुन सक्छ', केसीले नागरिकन्युजसँग भने। चिकित्सा विद्यार्थीहरुले यो अवस्थामा तत्काल अक्सिजन दिइराख्नुपर्ने भए पनि अस्पताल प्रशासनले सहयोग नगरेको बताएका छन्।

बुधबार नै रेजिडेन्ट्स चिकित्सकहरुले उपचारको प्रबन्ध गर्न अस्पताल प्रशासनलाई लिखित ध्यानाकर्षण गराएका थिए। डा.केसीका लागि अस्पतालले कुनै टोली प्रबन्ध गरेको छैन।

विद्यार्थीले पढाइ छोडे

अस्पताल प्रशासनले डा.केसीको स्वास्थ्यमा ध्यान नदिएको भन्दै विद्यार्थीहरुले आजैदेखि पठनपाठनमा सरिक नहुने निर्णय गरेका छन्।

प्रकाशित: २९ असार २०७३ ०८:३३ बुधबार

डा.केसीको स्वास्थ्य जोखिमपूर्ण