समाज

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न ध्यानाकर्षण

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। 

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरुको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरुले समस्याको समाधान दीर्घकालिन रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उखु किसानहरुको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन्। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रुपमा रहेका उखु लगायतका बालिहरुलाई व्यक्तिगत रुपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए। उनले उखुबालीलाई सामूहिक उत्पादन गर्नुपर्ने बताए।

उखु उत्पादन व्यवस्थित रुपमा नभएको भन्दै उनले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। त्यस्तै चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाई छ। देशमा चिनीको कति खपत हुन्छ भन्ने निक्र्यौल गरेर उपभोग गर्न पुग्नेगरी देशमै उत्पादन गर्नुपर्ने उनले बताए।

त्यसैगरी राष्ट्रियसभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भएपनि यसप्रति सरकार गम्भिर नभएको बताइन्। उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडी बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन्। नीजि क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताइन्। उनले सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको बताइन्। समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्ने उनले उल्लेख गरिन्।

त्यस्तै राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले किसानहरु उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताए। उनले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिक रुपमा सबल बनाउन देश बाहिरबाट नीति आयात हुन नदिने नीति बनाउनुपर्ने बताए।

राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्नेगरी उखुको मुल्य निर्धारण हुनुपर्ने बताए।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकार समक्ष आग्रह गरे। उनले देशलाई कृषि प्रधान देश भनिएपनि उद्योग प्रधान देश बनेको टिप्पणी गरे। उखु किसानका धेरै समस्या रहेको भन्दै उनले समस्या समाधानका निम्ति सरकारले चासो नदिएको बताए।

प्रकाशित: १४ पुस २०७९ ११:१४ बिहीबार

उखु किसान