समाज

लम्की नहरमा पानी परीक्षण, थप ६ हजार हेक्टरमा सिँचाई

लम्की विस्तार नहर। तस्बिर: योगेश रावल

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको लम्की विस्तार नहरमा पानी परीक्षण गरिएको छ। नहर निर्माण कार्य सम्पन्न भएपछि पानी परीक्षण गरिएको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिए।  

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकरण गर्ने उद्देश्य सहित सन् २०११ मा आयोजना सुरु भएको हो। योसँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो।  

मुख्य नहरको डुँडेझारीबाट पश्चिम पथरीया नदीसम्म १४ दशमलव ६५ किलोमिटर नहर निर्माण भएको छ। जसमध्ये ६ किलोमिटर नहरको संरचना पक्की रहेको छ। नहर निर्माण भएपछि लम्कीचुहा नगरपालिकाको तीनवटा वडाको ६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको सुचना अधिकारी लासिबाले बताए।  

२०७३ साउन २३ गते आयोजनासँग सम्झौता गरी कालिका/कुमार जेभीले नहर निर्माणको काम थालेको थियो। २०७५ असार ३१ गते भित्रै निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएपनि विविध कारणले नहर निर्माणको काममा ढिलाई भएको निर्माण पक्षले जनाएको छ। नहर निर्माणको काम छ पटक म्याद थप भएको थियो।  

निर्माण कम्पनीका प्रतिनिधि सचित्र पोखरेलले रुख कटान र त्यसको जरा उखेल्ने काममा ढिलाई हुनुका साथै जग्गाको मुआब्जा वितरणमा समेत ढिलाई भएका कारण नहर निर्माणको काम ढिलो हुन गएको बताए।  

‘रुख कटान र मुआब्जा वितरणले धेरै समय काम रोकियो’ उनले भने–‘जसका कारण समयमा काम सम्पन्न गर्न सकिएन।’

नहर निर्माणका क्रममा २ हजार ६८८ रुख काटिएका थिए भने ३० हेक्टर नम्बरी र १५ दशमलव ५ हेक्टर ऐलानी गरी ४५ दशमलव ५ हेक्टर जमिनको मुआब्जा वितरण गरिएको थियो। आयोजनाले मुआब्जा वाफत ८५ करोड रुपैयाँ वितरण गरेको जानकारी दिएको छ।  

ढिलै भएपनि नहर निर्माण भएपछि स्थानीय किसान खुशी भएका छन। उनीहरु बाह्रै महिना सिँचाई सुविधा पाउने भएपछि खुशी भएका हुन। लम्की चुहा नगरपालिका वडा नं। ८ का वडाध्यक्ष हरिप्रसाद चौधरीले नहरले किसानको आयस्तरमा सुधार हुने बताए। उनले किसानलाई नगदे बाली तर्फ आकर्षित गर्न वडा कार्यालयले विभिन्न कार्यक्रम ल्याउने जानकारी दिए। ‘किसानलाई नगदेबाली तर्फ आकर्षित गर्ने कार्यक्रम ल्याउछौं’ उनले भने–‘अब सिँचाईको समस्या रहेन।’

आयोजनाले आगामी दिनमा नहरको पानीलाई किसानका खेतसम्म पुर्याउने योजना बनाईरहेको छ। सूचना अधिकारी लासिबाले नहरको पानी किसानका खेतसम्म पुर्याउन पाँच ठाउँमा संचरना निर्माण गरिएको जानकारी दिए। उनले सोही संरचनाबाट नहरको पानीलाई किसानका खेतसम्म पुर्याईने बताए।  

‘कतिपय ठाउँमा पुरानै कुलो छन। त्यसैबाट पानी पठाउँछौं। कतिपय ठाउँमा भने कुलो निर्माण गर्छौं’ उनले भने–‘हाम्रो उद्देश्य किसानले सिँचाई सुविधाको भरपुर उपभोग गरुन भन्ने हो।’

कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट पानी झण्डै २३ किलोमिटर पश्चिम पथरीया नदीसम्म पुर्याईएको छ। अहिले परीक्षणका रुपमा नहरमा पठाईएको पानीलाई पथरीया नदीमा फालिएको छ। कर्णाली नदीको पानी पथरीया नदीसम्म पुगेपछि स्थानीय अचम्मित परेका छन। उनीहरु कहिल्यै कल्पना नगरेको कुरा सिँचाई आयोजनाले सम्भव पारेको भन्दै खुशी देखिन्छन। ‘कर्णालीको पानी हाम्रा खेतसम्म पुग्छ भन्ने कुरा हामीले कहिल्यै सोचेकै थिएनौं’ स्थानीय कमला चन्द ठकुरीले भनिन्–‘यो हाम्रा लागि ठूलो खुशीको कुरा हो।’

उनी जस्तै धेरै किसानले कर्णाली नदीको पानी खेतसम्म पुग्नुलाई ठूलो उपलब्धी ठानेका छन। उनीहरु तरकारी खेती, पशुपालन लगायतका कुरामा मनग्ये आम्दानी हुने बताउँछन।    

कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट करिव साढे आठ किलोमिटर टाढा रहेको डुँडेझारीसम्म नहर निर्माणको काम समेत सम्पन्न भैसकेको छ। सोही ठाउँबाट नहर दक्षिणतर्फ रहेको कटासेबाट रानी, जमरा र कुलरीया कुलामा मिसाईनेछ। यी तीनवटै कुलामार्फत पानी किसानका खेतसम्म पुग्नेछ।  

डुँडेझारीदेखी कटासेबीचको भागमा आयोजना अन्र्तगतको विद्युत गृह निर्माणको काम भैरहेको छ। जहाँ ४ दशमलव ७ मेगावाट विद्युत उत्पादन हुने बताईएको छ। विद्युत गृह निर्माणको काम सम्पन्न नभएकाले दक्षिणतर्फको नहरमा भने पानी पठाइएको छैन।  

सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यसक्षेत्रको करिव ३८ हजार ३०० हेक्टर भूभागमा सिँचाइ सुविधा पुग्नेछ। जसमध्ये अहिले सिँचाई भैरहेको रानी, जमरा र कुलरीया नदी अन्र्तगतको १४ हजार ३०० हेक्टर, लम्की विस्तार नहर अन्र्तगतको ६ हजार हेक्टर र कान्द्रा नदीसम्म नहर पुग्दा थपिने १८ हजार हेक्टर भूभाग रहेको छ। सन् २०२३ डिसेम्बर ३१ तारिखमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ। यस आयोजनाको कुल लागत २७ अर्ब हो। यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भैरहेको छ।  

प्रकाशित: १४ पुस २०७९ ०६:५४ बिहीबार

रानी जमरा कुलरीया सिँचाई आयोजना राष्ट्रिय गौरव कैलाली