काठमाडौं- राजधानीको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा अनेकौं थरिका फूल ढकमक्क फुलेका छन्। अस्पतालको इएनटी विभागको तेस्रो तलामा फूलजस्ता एक चिकित्सक आइतबार ५ बजेदेखि अन्नपानी त्यागेर भोकै बसेका छन्। चिकित्सा शिक्षा सुधार अभियान टुंगोमै पुर्याएर छाड्ने अठोटसहित वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले आइतबार आठौं आमरण अनशन सुरु गरेसँगै सर्वसाधारणले उनको अभियानमा ऐक्यबद्धता जनाउने क्रम बढेको छ।
१० वर्षे सर्वज्ञ देवकोटालाई डक्टर केसीबारे अलिअलि मात्र जानकारी छ। जति जानकारी छ, त्यतिले नै कक्षा ४ का विद्यार्थी सर्वज्ञलाई सामाखुसीस्थित घरबाट महाराजगन्जस्थित शिक्षण अस्पताल डोर्यायो। आमा श्रृजना र १४ वर्षीया दिदी सदीक्षाका साथ आएका उनी केसी अनशन बसेको कोठाको ढोकामा बसेर निक्कैबेर टोलाए।
भविष्यमा चिकित्सक बन्ने सपना पालेका सर्वज्ञ र समाजसेवी बन्ने सोच बनाएकी सदीक्षाले घरमा हुने कुराकानी र टेलिभिजन, पत्रपत्रिकाबाट आइतबार डा केसीको अनशनबारे जानकारी पाएको आमाले सुनाइन्। 'दिदीभाइले नै भेट्न जाने जिद्दी गरेपछि ल्याएकी हुँ,' श्रृजनाले भनिन्, 'उपचार गर्ने समाजसेवी चिकित्सक बेडमा सुतेको देखेपछि दुवै जना उदास भए।'
मुस्कुराउँदै बिरामीको सेवामा दिनरात जुट्ने फूलजस्ता चिकित्सक डा केसी आइतबार दिउँसोबाट अन्नपानी छाडेर अनशन बसेपछि सर्वसाधारण दुःखी छन्। विपद्का बेला देशपरदेश कुनाकाप्चा पुगेर सर्वसाधारणको जीवन बचाउने यी चिकित्सक आफैं ओइलाउने हुन् की भन्ने चिन्ताले धेरैलाई सताएको छ। अस्पतालको इएनटी विभागको तेस्रो तलामा उनलाई भेट्न आउने अधिकारकर्मी, सञ्चारकर्मी र चिकित्सकसँगै अन्य सुभेच्छुकले उनको जीवन रक्षाको कामना गर्दै केसीको अभियानमा ऐक्यबद्धता जनाए।
भाइको उपचार गराउन आएकी भक्तपुरकी कञ्चन श्रेष्ठले डा केसीको जीवन जोखिममा नपरोस् भनी सद्भाव व्यक्त गरिन्। बानेश्वर कलेजमा स्नातक तहमा अध्ययन गरीरहेकी श्रेष्ठले अनशनमा बस्नुपर्ने बाध्यता दुःखलाग्दो रहेको सुनाइन्। ढोकाबाट चियाएर केसीको अनुहार नियालेकी उनले केसीका माग चाडै पूरा हुने विश्वास राखिन्। 'उनी गल्नुभन्दा पहिल्यै उनका माग सम्बोधन भए हुन्थ्यो,' उनले भनिन्, 'उनको जीवन जोखिममा नपरोस् भन्ने चाहन्छु।'
डा केसीनजिकै बसेका एमबिबिएस चौथो वर्षका विद्यार्थी अनिल कार्कीले अनशनको पहिलो दिनको तुलनामा सोमबार सर्वसाधारणको आउजाउ बढेको बताए। अस्पतालमा आएका बिरामी कुरुवादेखी गाउँघरबाट आएका सर्वसाधरणले उनलाई ढोकाबाट नियालेर गएको उनले सुनाए। अस्पतालका चिकित्सक, कर्मचारी पनि बेलाबेलामा उनलाई नियाल्न आइरहेका उनले जनाए।
'डा केसी अनशनमा बसेको सुनेर यहाँ आएको,' छोरीको उपचार गर्न शिक्षण अस्पताल आएकी धापासीकी मनिषा खड्काले भनिन्, 'उहाँको यो अवस्था देखेपछि निक्कै दुख लागेको छ।' एउटै मागका लागि एउटा व्यक्ति पटक पटक भोकै बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने उनले सुनाइन्। केसीलाई भेट्न सोमबार शिक्षण अस्पताल आइपुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीले राष्ट्र र जनताको हितमा हुने डा केसीका मागहरु तत्काल पुरा गर्नु पर्ने बताए।
प्रकाशित: २८ असार २०७३ ०२:३२ मंगलबार