समाज

‘साउनदेखि पत्रकारलाई नयाँ पारिश्रमिक'

काठमाडौं- सरकारले साउन १ गतेदेखि देशभरका सबै सञ्चारमाध्यममा पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने भएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले साउन १ गतेदेखि पारिश्रमिक लागू गर्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिएका हुन्। 'सरकारको निर्णयअनुसार साउन १ गतेदेखि न्यूनतम पारिश्रमिक लागू हुन्छ,' उनले भने। उनले राजपत्रमा सूचना प्रकाशनका लागि प्रक्रिया अघि बढिसकेकाले कुनै पनि हालतमा साउन १ गतेदेखि पत्रकारले नयाँ पारिश्रमिक पाउने दाबी गरे।

उनले सरकारको निर्णयअनुसार राष्ट्रिय सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि न्यूनतम तलब १९ हजार ५ सय, कामदारका लागि १४ हजार ४ सय, अन्य सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि १४ हजार १ सय, कर्मचारीका लागि १२ हजार ५ सय तलब कार्यान्वयनमा सरकार पछि नहट्ने बताए। न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा मन्त्रिपरिषद्को वैशाख २३ गते बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्ने निर्णय गरेको छ।

सरकारको न्यूनतम पारिश्रमिकसम्बन्धी निर्णय साना लगानीका मिडिया बन्द गर्ने नभई समग्र पत्रकारको पेसागत हितमा ल्याइएको बताए। उनले यस विषयमा अनावश्यक टिकाटिप्पण्ी नगरी न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सहयोग गर्न मिडिया सञ्चालक, पत्रकार र सरोकारवालालाई  आग्रह गरे। नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले हरेक परिवर्तनका मुद्दालाई संस्थागत गरी सहयोग गर्ने, आवाजविहीनको आवाज उजागर गर्ने पत्रकारको आर्थिक र भौतिक सुरक्षा प्रत्याभूति गर्नुपर्ने बताए।

प्रकाशित: २८ असार २०७३ ०२:०३ मंगलबार

साउनदेखि पत्रकारलाई पारिश्रमिक