समाज

चुमनुब्रीको जगतमा प्रहरी चौकीको भवन निर्माण

जगत प्रहरी चौकी उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, गोरखाका प्रहरी प्रमुख।

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा नयाँ प्रहरी चौकी भवन निर्माण भएको छ। मंगलबार चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भवनको उद्घाटन गरेका छन्।

गाउँपालिकाको ११ लाख रुपैयाँ लागत, स्थानीयहरुको श्रमदान र प्रहरीको सहयोगमा प्रहरी चौकी जगतको भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए। उनका अनुसार प्रहरी चौकी जगतले यसअघि भाडाको घरमा रहेर आफनो कार्य सम्पादन गर्दै आएको थियो।

प्रहरीको आफनै भवन नहुँदा चिसो ठाउँमा कहिले पालमुनि समेत बस्नुपरेको थियो। हाल प्रहरी चौकी भवन सम्पन्न भइसकेको तर शौचालय भने निर्माण गर्न बाँकी छ। दुर्गममा नयाँ भवन बनेसँगै प्रहरीलाई नयाँ उर्जा र उमंगका साथ काम गर्न सजिलो हुने एसपी केदार खनालले बताए। नयाँ भवनमा बसेर काम गर्दा प्रहरीको मनोबल र आत्माबल पनि उच्च हुने र काम कारबाहीमा प्रभावकारी हुने उनले जानकारी दिए।

‘दुर्गमका प्रहरी चौकी निकै जिर्ण छ, स्थानीय तहसँगको सहकार्यमा स्तरीय बनाउँदै लैजानुपर्छ’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने। जनताको शान्ति सुरक्षाका लागि खटिएका प्रहरी आफैँ असुरक्षित भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

गाउँपालिका अध्यक्ष निमा लामाले प्रहरीसँग मिलेर समाजमा अपराध नियन्त्रण गर्न स्थानीय सरकारसँग सहकार्य हुँदै आएको र भबन निर्माणपनि एउटा नमुना भएको बताए। साथै उनले गाउँपालिका भित्रका अन्य चौकीहरुको स्तरोन्नती र ब्यवस्थापनमापनि पालिकाले केही न केही सहयोग गर्ने बताए।

प्रकाशित: १३ पुस २०७९ १२:४३ बुधबार

प्रहरी चौकी