समाज

बालबालिका तस्करी अभियोगमा पक्राउ श्रेष्ठलाई ७ दिन थुन्न आदेश

काठमाडौं— नौ जना बालबालिकालाई अमेरिका पुर्‍याएर छोड्ने पुतलीसडकस्थित सारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई ७ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। शनिबार पक्राउ परेकी श्रेष्ठलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धानका लागि ७ दिन थुन्न अदालतले अनुमति दिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई आइतबार अदालत पेश गरेको थियो।

एक सातादेखि हाजिरी जमानीमा राखिएकी श्रेष्ठविरुद्ध थप प्रमाण जुटेको भन्दै प्रहरीले शनिबार पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई नौ जना बालबालिका अमेरिका पुर्‍याएर छाडेको अभियोगमा मानव ओसारपसार तथा बेचबिखन ऐनअन्तर्गत कारबाही बढाउने तयारी गरिरहेको छ।

‘घटनाका विषयमा थप प्रमाण र आधार भेटिएका छन्, कानुनअनुसार अनुसन्धान हुन्छ’, परिसरप्रमुख एसएसपी विक्रमसिंह थापाले नागरिकन्युजसँग भने।

श्रेष्ठले ‘समर स्कुल’ का लागि भनेर अमेरिका पुर्‍याएकामध्ये ९ बालबालिका न्युयोर्क विमानस्थलबाटै बेपत्ता भएको सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन सतर्क भएको थियो । श्रेष्ठ नेपाल फर्कंदा उनीसँगै गएका सबै बालबालिका नआएपछि अध्यागमन विभाग टोलीले उनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको हो।

विभागले प्रहरीलाई असार १६ गते पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो।

विमानस्थलको रेकर्डअनुसार २४ जुनमा श्रेष्ठ १२ बालबालिका लिएर न्युयोर्कका लागि उडेकी थिइन्। फर्किंदा उनका साथमा तीन बालबालिका मात्र थिए ।

पूर्वयोजनाअनुसार तस्करी

अमेरिकामा छाडिएका भनिएका ९ बालबालिकामध्ये म्याग्दी स्थायी ठेगाना भएका सात र कास्कीका एक रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार बालबालिका छाडेर आएपछि श्रेष्ठले उनीहरू भागेको भन्दै उजुरी दिएकी थिइन्। श्रेष्ठले कहिले आफैंलाई धोका भएको, थाहै नभएको त कहिले अन्य कन्सल्टेन्सी र दलालले फसाएको भन्दै शंकास्पद बयान दिएपछि परिसरले उनलाई हिरासतमा लिएर अनुसन्धान कसिलो पारेको हो । परिसरस्रोतका अनुसार यो प्रकरणपछि ‘समर क्याम्प’का नाउँमा बालबालिका अमेरिका पठाउने अन्य संस्थाको नामसमेत बाहिर आएको छ । परिवार सदस्यले नै मोटो रकम खर्चने गरी देशभर छरिएका दलालमार्फत बालबालिका संकलन गर्ने र भिसा प्रक्रियामा लैजाने गरेको खुलेको छ।

‘भिसा लागे भनेको रकम तिर्ने नभए निश्चित सेवाशुल्क लिने योजनामा तस्करी हुँदै आएको रहेछ, सहारा लिंकपछि नाम चलेका अन्य संस्थासमेत निगरानीमा छन्,’ स्रोतले भन्यो,  ‘अमेरिका रहेका परिवार सदस्यमार्फत नेपालमा रहेका परिवार सदस्यले पठाउने र उतै लुकाउने गरेको अनुसन्धानमा खुलेको छ।’

परिसरका डिएसपी सिद्धिविक्रम शाहले केही व्यक्ति र संस्थाको नामसमेत आएपछि अनुसन्धानका लागि हिरासतमा लिइएको बताए। श्रेष्ठको बयान र क्रियाकलाप शंकास्पद पाइएपछि उनीविरुद्ध मुद्दा चलाउने निर्णय गरिएको उनको भनाइ छ।

प्रहरीले अनुसन्धान थालेपछि श्रेष्ठले अमेरिकामा भागेको दाबी गरिएका बालबालिकाका परिवार र आफन्तलाई परिसर बोलाउँदै उनीहरू सुरक्षित रहेको कागज गराउँदै आएकी थिइन्। परिसरले अहिले म्याग्दी प्रहरीको सहयोगमा बालबालिकाका बाबुआमालाई नै सम्पर्कमा ल्याउन प्रयास गरिरहेको छ।

यसरी छाडिए ९ बालबालिका

पुतलीसडकमा कार्यालय रहेको सारा लिंक विदेश पढ्न जानेलाई परामर्श दिने कम्पनी हो। कम्पनीले सन् २०१६ ‘इएसएल ब्रिज’को ग्रीष्म कार्यक्रम (समर प्रोग्राम) मा अमेरिका लैजान १४० आवेदन लिएको थियो।

अमेरिकाको इकोसेरा इएएसएल ब्रिज स्कुलले स्काइपबाट सबै निवेदकसँग अन्तर्वार्ता गरेको थियो। तीमध्ये ८६ जना उत्तीर्ण भए। सारा लिंकले ती सबैको डकुमेन्ट तयार पारी काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा आवेदन गर्‍यो। तीमध्ये १३ जनाले भिसा पाए। तर, पैसा लेनदेन नमिल्दा एक जना भने जान पाएनन्।

दोस्रो भाषा अंग्रेजी भएकालाई अंग्रेजी भाषा, संस्कृतिसँग जोड्न अमेरिकामा इएसएल ब्रिज कार्यक्रम सञ्चालन हुने गर्छ।

यहाँबाट उत्तरी क्यालिफोर्नियास्थित स्कुल लगिँदै गरेका बालबालिकामध्ये ८ जना न्युयोर्क विमानस्थलबाटै गायब भए। अर्का एक जना क्याम्पमा सहभागी भएको दोस्रो दिन गायब भएका थिए। बाँकी ३ जना लिएर नेपाल फर्किने क्रममा श्रेष्ठ अध्यागमनको फन्दामा परिन्। ९ बालबालिका न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै मर्जीले हिँडेको श्रेष्ठले बताउँदै आएकी छन्। ‘उनीहरु आफ्नै मर्जीले मेरो साथबाट छुट्टिएका हुन्, के प्लान थियो, मलाई थाहा हुने कुरा भएन,’ उनले नागरिकसँग शुक्रबार टेलिफोनमा भनिन्।

यो प्रकरणमा करिब २ करोड रुपैयाँ लेनदेन भएको अनुसन्धानमा संलग्न प्रहरीको अनुमान छ। स्रोतका अनुसार सारा लिंकले भिसाबापत प्रत्येक अभिभावकसँग १५ देखि १८ लाख रुपैयाँसम्म उठाएको थियो । लिंकले भने अमेरिका पठाउने गरी २ हजार अमेरिकी डलर, ५ सय डलर सेवाशुल्क र टिकट परिवार सदस्यले बेहोर्ने सर्तमा पठाएको दाबी गरेको छ।

प्रकाशित: २६ असार २०७३ १२:५६ आइतबार

बालबालिका तस्करी अभियोगमा पक्राउ श्रेष्ठलाई थुन्न आदेश