समाज

बङ्गुर पालनबाट आर्थिक आम्दानी र फोहोरको दीर्घकालीन व्यवस्थापन गर्दै मनोज

बङ्गुर व्यवसायी मनोज बुढाथोकी। तस्बिर: गोल्डेन बुढा

जुम्लाका मनोज बुढाथोकी मगरले एक नमुना व्यवसायीको पहिचान बनाएका छन्। उनले व्यवसायी बङ्गुर पालन गरेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गर्ने गरेको छन्। 

मगरले एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा ३ वटा बङ्गुरबाट व्यवसाय शुरु गरेका हुन्। अहिले ४५ वटा पुगेको छ। बहुउद्देश्यीय लक्ष्यले बङ्गुर पालन सुरु गरिएको उनले बताए। बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको ठूलो चुनौती छ। मगरले बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन्।  

उनले आर्थिक समृद्धि, रोजगारी सृजना र फोहोर व्यवस्थापनको दिगो लक्ष्य राखेका छन्। २०७४ सालबाट ६ लाख लागतमा सुरु गरेका उनलाई बङ्गुर पालनले बहुउपयोगी फाइदा लिइरहेको उद्यमी मगरको भनाइ छ।

मगरले अब बङ्गुर फर्म आसपासको जग्गा लिजमा लिएर व्यवसायीक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना बनाएका छन्। बजारको फोहोर खुवाउने, दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ।

दैनिक रुपमा जुम्ला बजारको झण्डै ३ क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा संकलन गरी बङ्गुरको दानाको रुपमा प्रयोग गरिरहेको उनले बताए।

बङ्गुरको दानाका लागि मनोजले फोहोर संकलन गर्दा पछिल्लो समय बजारको फोहोर कम हुँदै गएको छ। चाँडै जुम्लामा बङ्गुरको प्याकेजिङ मासु बिक्री गर्ने तयारी गरिरहेका छन्। बङ्गुर पालेर उद्यमशीलता, रोजगारी सृजना र आर्थिक आम्दानी छ, भने अर्कोतिर फोहोरको दीर्घकालीन व्यवस्थापनको उत्तम विकल्प हो।

जुम्लामा इन्टरलक इट्टा उद्योग सञ्चालन, बङ्गुर पालन लगायतका विभिन्न व्यवसायबाट झण्डै ७० जनाले  रोजगारी पाएका छन्। कुटानी पिसानी मिल समेत सञ्चालनमा छ। जसबाट स्थानीयलाई राहत भएको छ भने आएको भुस बङ्गुरलाई दाना भइरहेको छ।

उद्यमशीलतामा सफल बन्दै गएका मनोज आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिनुपर्ने बताउँछन्।उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनको विश्वास छ।

प्रकाशित: १३ पुस २०७९ ०८:१८ बुधबार

बङ्गुर पालन