समाज

गोरखा आयुर्वेद कम्पनीमा एक सय पाँच भन्दाबढि उत्पादन

गोरखा आयुर्वेद कम्पनी लिमिटेडले नयाँ उत्पादन सुरु गरेको छ। 

एक सय पाँच भन्दाबढि प्रकारका उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो पटक तनाव कम गर्ने, अनिन्द्रा, मानसिक तथा शारीरिक दुर्बलता सुधार गर्ने ‘शंखपुष्पी’ उत्पादन थालेको कम्पनीका प्रशासन प्रमुख अर्जुन अर्यालले बताए।

‘यो औषधी चार सय ४० एमएल र दुई सय एमएलमा दुई थरीको उत्पादन हुन्छ’ उनले भने ‘नेपालभर यो औषधी पठाइएको छ, दुई महिना यता हामीले उत्पादन गरेर भर्खरै बजार पठाएका हौँ।’ औषधीको सकारात्मक प्रतिक्रिया आएको उनले बताए। जेठीमधु, शंखपुष्पी लगायतका जडीबुटी मिसाएर बनाएकाले यो स्वाथ्यकालागि निकै उपयोगी रहेको उनले बताए।

कम्पनीले सबैभन्दा धेरै अभिपत्तिकरण चूर्ण उत्पादन गर्छ। यो ग्यास्टीककालागि उपयोगी रहेको कम्पनीका कबिराज जीवन रेग्मीले बताए। पायल्सको लागि पिलगरिन, च्यावेनप्रास, कासारिन, बालामृत लगायतका उत्पादन धेरै हुने गरेको उनले बताए।

च्यावेनप्रास पनि तीन प्रकारको छ। स्पेसल, साधारण र शक्तिप्रास। स्पेसल नयाँ उत्पादन हो। प्रतिकेजी एक हजार ७५ रुपैयाँमा बिक्री हुन्छ। यसमा यार्सागुम्बा, केसर लगायत मिसाइएको हुन्छ। यसको माग कम्पनीमा धेरै छ।

हर्बल 'टी' बाट उत्पादन थालेको गोरखा आयुर्वेद कम्पनी अहिले उत्पादन गर्ने एक सय पाँच भन्दाबढि प्रकारका आयुर्वेद औषधीको बजार नेपालभर रहेको जनाएको छ। सबैभन्दा धेरै काठमाडौँ, नेपालजंग, बिरजंग, पोखरा, चितवन लगायत ठाउँमा औषधीको माग भएको कम्पनीका प्रमुख अर्यालले बताए।

गोरखा आयुर्वेदले गत वर्ष २१ करोडको औषधी बिक्री गरेको थियो। बिहान ९ देखि साँझ ५ बजेसम्म संचालन हुने उद्योगमा ३५ जना कार्यरत छन्। गोरखा आयुर्वेदको उत्पादनको प्रचार प्रसार गर्न पुस २७ देखि माघ ७ सम्म हुने महोत्सवमा पनि स्टलमा उत्पादित औषधी राखिने कार्यालय प्रमुख अर्यालले बताए।

यहाँ उत्पादन भएको आयुर्वेद औषधी मुख्य बजार भने यहाँ होइन। गोरखा जिल्लामा एक प्रतिशत पनि व्यापार हुँदैन। 

कम्पनीका कर्मचारी भन्छन् ‘यहाँ अन्य विदेशी कम्पनीका औषधी बिक्री गरिन्छ, यहाँको आयुर्वेद कम्पनीको खासै व्यापारीले बेच्दैनन्।’ 

गण्डकी प्रदेशमै गोरखा आयुर्वेद कम्पनी नमुना उद्योग हो। प्रदेश भित्र पनि यसको बजार छैन। खासै प्रयोग गर्दैनन्। तर काठमाडौँ देखि विदेशी बजारमा भने यस कम्पनीको उत्पादन छ्यापछ्याप्ती छ। विदेशीले खोजी खोजी गोरखा आयुर्वेदको औषधी प्रयोग गर्छन्। ठुला बजारमा आयुर्वेदको माग थेग्न कम्पनीलाई हम्मे हम्मे छ। 

विदेश निर्यात हुने सबैभन्दा धेरै चिया हो। यहाँ उत्पादन भएको ‘पावर टी’ गुड्ची टी’ तुलसी चिया, स्लिम चिया जस्ता उत्पादन निर्यात हुन्छ। कम्पनी सिधै निर्यात नगर्ने भएकाले परिणाम ठ्याक्कै यकिन नभए पनि विदेश बिक्री गर्नेहरूले अत्यधिक चियाको माग गर्छन्। प्रेसर, सुगर, मधुमेह, कब्जियत हुने, जोर्नी दुख्ने हरेक समस्या समाधान गर्ने खालका औषधी कम्पनीले उत्पादन गरिरहेको छ।

बजारको माग, आवस्यक्ता, बिक्रीका आधारमा कम्पनीले उत्पादन बढाउँछ। मानिसमा पछिल्लो समय बढ्दो रक्तचाप, मधुमेह, तनाव जस्ता रोगको सिकार बढेका कारण त्यस्ता रोग प्रतिरोधी उत्पादनलाई उद्योगले प्रशय दिएको प्रशासन प्रमुख अर्जुन अर्याल बताउँछन्।

आयुर्वेद कम्पनीले कच्चापदार्थ गोरखाबाटै संकलन गर्छ। अहिले गोरखा आयुर्वेद कम्पनीका सदस्यहरूले संचालन गरेको गोरखा अर्गानीक हर्बल फार्मबाट धेरै कच्चा पदार्थ आउने गरेको छ। अमला, हर्रो, बर्रो, मरीच, जेठीमधु, निसोध, असुरो, निम, जस्ता वनस्पति र त्यसको फलगोरखा नगरपालिका, छोप्राक, खोप्लाङ, धार्चे गाउँपालिका, चुमनुब्री, सुलिकोटको बारपाक, लगायतका ठाउँबाट आयुर्वेद कम्पनीमा कच्चापदार्थ (जडीबुटी) ल्याइन्छ।

चूर्ण, क्याप्सुल देखि झोल तरिकाले पनि आयुर्वेद औषधी तयार गरिन्छ। उपभोक्ताको सजिलोका लागि र माग अनुसार सहज पहुँचमा पुर्‍याउन, सजिलै प्रयोग गर्न मिल्ने हुन्छ।

आयुर्वेद औषधी तयार गर्दा शास्त्रीय विधिलाई पहिलो प्राथमिकतामा राखिने कबिराज जीवन रेग्मी बताउँछन्। कम्पनीमा कार्यरत कबिराजहरुले डाक्टर विधि पनि त्यसमा मिलाउँछन्।

आयुर्वेदिक औषधीले कुनै ‘साइड इफेक्ट’ नगर्ने उनले बताए। मानवीय स्वास्थ्यमा तत्काल प्रतिक्रिया जनाउने निको हुने औषधीलाई धेरै प्रयोग गरिन्छ। ‘नतिजा चाँडो चाहिनु मानवीय स्वभाव हो, तर बिस्तारै निको हुने र कुनै असर नगर्ने औषधीको रुपमा आयुर्वेदिक प्रति विश्वास बढेको छ’ उनले भने। 

कम्पनीमा अध्ययनकालागि पनि विद्यार्थी आउने गर्छन्। देशका बिभिन्न ठाउँबाट फार्मेसी पढेका विद्यार्थीहरू आउने गरेको कम्पनीले जनाएको छ। वर्षमा ५० देखि ६० वटा विद्यार्थीको समूह आयुर्वेद कम्पनीले कसरी उत्पादन गरेको छ, कच्चा पदार्थको संकलन कसरी गरेको छ, कुन सूत्र प्रयोग गरेर औषधी तयार गरेको छ भन्ने जानकारी लिन आउँछन्’ कम्पनीका प्रशासन प्रमुख अर्यालले भने। अहिले पनि यो क्रम बढ्दो छ।

प्रकाशित: १२ पुस २०७९ १२:४८ मंगलबार