समाज

मापदण्ड विपरीतका संरचना हटाउँदै जानकी गाउँपालिका

जानकी गाउँपालिकाले साइगाउँ उत्तरदेखि सरिफ कबदियाको घरसम्म पर्ने घर तथा टहरा हटाउने भएको छ।

उक्त सडकमा पक्की नाली, माटो पटान तथा ग्राभेल–आरसिसी नाला निर्माण गर्न लागिएकाले यहाँ निर्माण गरिएको घर तथा टहरा हटाउन लागिएको हो।

उक्त सडकको आठ मिटर अधिकार क्षेत्रभित्रका घर टहरा हटाउन गाउँपालिका लागेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जनाए। 

‘मापदण्डभित्र पर्ने घर तथा टहरा भत्काउन लागेका हौँ,’ उनले भने, ‘यसमा सबैले सहयोग गर्नुपर्छ।’

सम्बन्धित व्यक्ति वा संस्थाले उक्त संरचना नहटाए गाउँपालिका आफैँले भत्काउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको खर्च स्वयम् व्यक्ति वा संस्थाबाट असुलउपर गरिने उनले जनाए।

गौघाट जाने मूल बाटो कृपालको मिलदेखि साहुपुर हुँदै खजुरा–२ खैरेनी डाँडा जोड्ने सडक अन्तर्गत पर्ने घर टहरा पनि हटाउन थालिएको जानकी गाउँपालिकाले जनाएको छ। यहाँ १० मिटर सडक अधिकार क्षेत्रभित्र पर्छ। त्यस्तै वनकटुवा चोकदेखि पश्चिम जाने सडक, सहादतपुर गाउँदेखि कालिकापुरसम्मको सडक, सहादतपुर गाउँभित्रको सडकका पनि संरचना हटाउन थालिएको छ। 

गाउँपालिकाका अनुसार विशाल चोकदेखि बनिया गाउँ, गुरुवा गाउँ, लैनपुर हुँदै छत्तरपुर हुँदै खजुरा गाउँपालिका जोड्ने सडक, बुढिया गाउँदेखि निबीबाबा हुँदै नहर जोड्ने सडक र जानकी–२, छोटीपुरदेखि जानकी–१, शिवपुरी जोड्ने सडक पनि खाली गराइँदै छ।

पालिकाको चालु वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त सडकमा पक्की नाली, माटो पटान तथा ग्राभेल–आरसिसी नाला निर्माण गर्न लागिएकोले सडकको मापदण्ड विपरीतका संरचना हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जनाए।

यसका लागि बोलपत्रसमेत स्वीकृत भइसकेको छ। यस सडकमा नाली नहुँदा समस्या हुँदै आएको छ। पालिकाले उक्त सडकमा पक्की नाली, माटो पटान तथा ग्राभेल–आरसिसी नाला निर्माण गर्न लागेपछि स्थानीय खुसी भएका छन्।

प्रकाशित: ११ पुस २०७९ १३:५६ सोमबार