समाज

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

जनकपुर– विद्यालय पढ्न सँगै गएकी साथी कुनै केटोसँग भागेपछि पहिले किन आफूहरुलाई जानकारी नगराएको भन्दै १३ वर्षीया बालिकालाई ५ घण्टासम्म बाँधेर यातना दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जनकपुर –१८ भोइलकी ८ कक्षा पढ्ने काजल मण्डललाई बाँधेर यातना दिने स्थानीय ४२ वर्षीय सुजित मण्डल, २० वर्षीय जितेन्द्र मण्डल, १८ वर्षीय रितेश मण्डल र सोही उमेरका रामहृदय पण्डितलाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही सुरु गरेको छ। बुधबार बिहान घरबाट पक्राउ परेका उनीहरुलाई बुधबारै केही सार्वजनिक अपराधसम्बन्धी ऐनअनुसार कारवाही गरी थुनामा पठाइसकेको प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानबाट हात बाँधेर थप्पडले हानेको र मानसिक यातना दिएको देखिएकाले तत्काल केही सार्वजनिक अपराधसम्बन्धी ऐन बमोजिम चारैजनालाई थुनामा पठाएका छौं’ जोशीले नागरिकसँग भने । पीडित बालिका १३ वर्षको हुँदा बालबालिका सम्बन्धी ऐन २०४८ अनुसार पनि बाल अधिकारसँग सम्बन्धित अपराध ठहर भए थप कारवाही गर्ने तयारीमा रहेको जोशीले जनाए ।

सोमबार सँगै पढ्न गएकी काजलकै विद्यालयमा सात कक्षा पढ्ने साथी गाउँकै कुनै केटोसँग भागेकी छन्। विद्यालयबाट काजल घर फर्केपछि विद्यालयबाटै भागेकी छात्राका आफन्त तथा स्थानीय युवाहरुले काजललाई पाँच घण्टासम्म बाँधेर यातना दिएका थिए ।

काजलकै आफन्तले हल्ला गरेको कारण घटना साञ्चारमाध्यममा आएको र दबावमा प्रहरीले उनीहरुलाई पक्रेको भन्दै केटोसँग भाग्ने छात्राका आफन्तले काजल परिवारले नै अपहरण गरी बेपत्ता पारेको भनेर प्रहरीमा मुद्दा दिने तयारी गरिरहेको छ।

पक्राउ परेकाहरुलाई छुटाउन वार्गेनिङ प्वाइन्ट बनाउन उनीहरुले यस्तो जाल रच्न लागेको स्थानीयले जनाएको छ। प्रहरीले भने २१ औं शताब्दीमा पनि मानवलाई पशुजस्तो यातना दिनेहरुलाई कुनै हालतमा नछोड्ने दावी गरेको छ।

 

 

प्रकाशित: २२ असार २०७३ १३:४२ बुधबार

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने पक्राउ