समाज

दामको लोभले हुचिल संकटमा

मान्म ताडिका एक स्थानीयले समाएकोे हुचिल । तस्विर:पवित्रकुमार शाही

पवित्रकुमार शाही

कालिकोट–मान्म ताडिका भरत पाण्डेले आफ्नो घर नजिकैको रुखमा पासो लगाएर हुचिल समाए। हुचिल समाएपछि अव ७ लाख पाइने भो भन्दै उनी खुसी भए। उनले एक हप्तासम्म कुखुरा र खसीको मासु दिएर आफ्नै होटलमा हुचिल राखे। ७ लाख रुपैयाँ पाइन्छ भन्ने हल्लाले धेरै दुःख गरेर अफ्ठ्यारो रुखबाट समाएर ल्याएको उनले सुनाए। ‘धेरै मान्छेसँग हुचिलको मूल्य कति हुन्छ भनेर सोधे,तर कसैले पनि हुचिलको बारेमा पत्तो पाएनन्,’ उनले भने ।

उनले कुनै पनि निकायबाट सामान्य मूल्यमापनि दाम नपाउने भएपछि घर परिवारमा सल्लाह गरे। घरमा सल्लाह गर्दा पैसा आउने मेसो नहुँदा जहाँबाट पासो लगाएर ल्याएको हो उतैतिर छोडिदिने निर्णय गरे। होटलमा मासु दिएर पालेको एक हप्तापछि उनले हुचिलको खुट्टामा बााधेको डोरी फुकालेर ‘ल जा’ भन्दै उडाइ दिए। उनले भने, ‘दिन कै एककिलो मासु खुवाएर कसले पाल्न सक्ने अब यो पाल्नु भन्दा नपाल्नु बेस भएकाले जंगलमा छोडेको हुँ।’

जिल्ला भर हुचिल समातेर मार्नेको संख्या बढ्दो छ। पैसा पाउने लोभमा हुचिल समाएर बजार– बजारमा घुमाउने गरेको पाइएको छ।
महंगो मूल्यमा बिक्री हुने हल्लाका कारणले यहाँका स्थानीयले लोपोन्मुख प्रजातीको चरा हुचिल समाउने काम गरिहेकाछन्। धेरै दिनसम्म खुट्टामा डोरी लगाइ तनाब दिएर घरमा राख्ने गरेका छन्। अन्तिममा बिक्री नभएपछि समातेका हुचिल खाना नपाएर मर्ने गरेका छन्। लालु गाविसका मिम रावलले भने, ‘हाम्रो गाँउका एक काकाले एक हुचिल समातेका थिए। धेरै दिनसम्म पाल्दापनि किन्ने मान्छे कोही नआएपछि छोडिदिए।’

स्थानीय भाषामा ‘हुबाघ’ भनिने हुचिल चरा बिक्री नभए पनि हल्ला कै भरमा समात्ने र मार्ने कार्य धेरै हुन थालेको छ। विहान र दिउँसोको समयमा आँखा कम देख्ने भएकोले पनि यो चरा सजिलै पक्रन सकिन्छ। सिपखाना लहरेलाका कम्मर शाहीले तीन वर्ष पहिले एउटा हुचिल समाएका थिए। उनले नेपालगंज सुर्खेतसम्म बिक्रीको लागि डुलाए। तर अन्ततः खाने आहारा नपाएपछि मर्ने सम्भवना हुँदा एक होटलमा निशुल्क दिएर रित्तो हात घर फर्किएको उनले बताए। उनले बिक्री हुन्छ भन्ने हल्लाले पक्रेको हो तर कतै पनि बिक्री नभएपछि होटलमा छोडेर आएको सुनाए।

हुचिल समाउँदा कारबाही हुन्छ भन्ने थाहा नपाएरपनि मान्छेले यस्तो काम गरेको हुन सक्ने जिल्ला वन कार्यालयका रेन्जर केशव खड्काले बताए। उनले जथाभावी चरा समाएको जानकारी आएमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने बताए। उनले भने, ‘कानुनमा छ महिनासम्म कैद सजाय हुने व्यवस्था छ। कसैले हुचिल पक्रेमा कानुन अनुसार कारबाही हुन्छ।’

 

प्रकाशित: २१ असार २०७३ ०५:३८ मंगलबार

दामको लोभले हुचिल संकटमा