समाज

बोडे-ठिमी सडकको जात्रा

बोडेस्थित चारदोबाटो चोकमा रहेको सडकको खाल्डो। यस्ता खाल्डा र जमेको पानी सडकैभरी छन्।

काठमाडौं- पाइलैपिच्छे टलपल धमिलो पानी जमेेका ठुल्ठूला खाल्डा छन्। गाडीले हिलोपानी छ्याप्दै गुड्छन्, मोटरसाइकल धमिलो पानीमा डुब्दै गुड्छन्। पैदल हिँड्दा जुत्ता हातमा बोकेर हिँड्नुपर्छ। सडक हो कि खहरे खोला पहिल्याउन गाहै्र पर्छ। अझ झट्ट हेर्दा धान रोप्न हिल्याइएको खेतको गराजस्तै पनि देखिन्छ।

प्रसंग भक्तपुरको मनोहरा पुलदेखि बोडे हुँदै ठिमी जाने सडकको हो। यो सडकले स्थानीयलाई सुविधा हुनुपर्ने साटो वर्षायाममा मात्रै नभएर हिउँदमा समेत सास्ती दियो। 'हिउँदमा धुलोले सकस हुन्थ्यो, मास्क लगाएर जसोतसो छल्ने प्रयास  गर्थ्यौं,' बोडे–ठिमी सडकमा पैदल हिँड्दै गरेकी लक्ष्मी श्रेष्ठले भनिन्, 'गाडी कुद्दा उछिट्टिएको हिलो लुगाभरी हुन्छ, कतै जान हिँडे फर्किन बाध्य भइन्छ।' श्रेष्ठका अनुसार वयस्कहरू हिँड्दा हिलोबाट जोगिएर हिँडे पनि पैदल विद्यालय जाने विद्यार्थी बर्खामा सधैं घर आउँदा रोपाईंमा गएर फर्केजस्तो हिलाम्मे हुन्छन्।

सडकको बेहाल भएपछि पैदल हिँड्ने मात्र नभएर व्यापारी पनि प्रभावित छन्। गाडी हुइकिँदा सडकमा जमेको पानी उछिट्टिएर पसलभरी हुने गरेको स्थानीय व्यापारी मैयाँकेशरी श्रेष्ठले सुनाइन्। 'सडक बिग्रेपछि व्यापार पनि बिग्रेको छ,' मैयाँकेशरीले भनिन्, 'सबैभन्दा त पसलका सामान हिलोले बिग्रन्छन्।'

करिब २ किलोमिटरको सडक गत हिउँदमै बिग्रेको हो। सडक भत्कन थालेपछि स्थानीयले पटकपटक डिभिजन सडक कार्यालय भक्तपुरलाई जानकारी गराए। 'सडक बिग्र्को हिउँदमै हो,' बोडेको दोबाटो चोकका स्थानीय गोपाललाल साहुखलःले भने, 'बर्खा लागेपछि सडक डिभिजनले पटकपटक माटो हालेर झन् हिलो हुने गरेको छ।'

डिभिजन कार्यालय भक्तपुरले भने सडकमा ठूलै खाल्डा बनेकाले ग्राभेल हालेर खाल्डा पुरेको बताएको छ। 'बोडेको सडक बेहाल नै छ। केही समयअघि म आफैं त्यहाँ पुगेको थिएँ,' डिभिजन कार्यालय प्रमुख देवेन्द्र शाहले भने, 'सडक विस्तार गर्न लागिएकाले तत्काल मर्मत नगरिएको हो।' उनका अनुसार डिभिजन कार्यालयले ग्राभेल हालेर भए पनि आवागमन सहज बनाउने प्रयास गरिरहेको छ।

बोडे–ठिमी सडक विस्तार गरी ११ मिटर फराकिलो पार्न पिआर कन्स्ट्रक्सन र सन्तोषी कन्स्ट्रक्सन दुई वटा कम्पनीले ठेक्का पाएका छन्। २ वर्षभित्र सडक निर्माण सक्न ती कम्पनीले जेठ २८ मा ठेक्का पाएका हुन्। शाहका अनुसार अहिले ती कम्पनीले सडकका खाल्डा पुर्ने र पर्खाल लगाइरहेका छन्। 'विस्तार गर्न सडक मिचेर बनाइएका संरचना भत्काउनुपर्ने हुन्छ,' शाहले भने, 'बर्खाका बेला सडक मिचेर बनाइएका संरचना भत्काउँदा सर्वसाधारणको बिचल्ली हुन्छ भने तत्काल विस्तार तीव्र नपारेको हो।' उनले तत्काल मर्मत गर्न नसके पनि खाल्डा पुरेर सहज बनाइने लाग्ने जनाए।

प्रकाशित: २१ असार २०७३ ०२:४८ मंगलबार

बोडे-ठिमी सडकको जात्रा