समाज

बहुरंगी वीरगन्ज

वीरगन्जको ऐतिहासिक पृष्ठभूमि रहेछ तर यसको पौराणिक महत्वका बारेमा केही आख्यान अथवा मिथक मैले आजसम्म पढेको छैन। पत्रकार तथा लेखक गिरीश गिरीको वीरगन्जका बारेमा लेखिएको पुस्तक पनि पढ्न पाइएको छैन। हिन्दी साहित्यका यशस्वी साहित्यकार सच्चिदानन्द हीरानन्द वात्स्यायनद्वारा लिखित यात्रावृत्तान्त ‘जनक जानकी’ पुस्तक पढ्ने अवसर प्राप्त भएको छ तर त्यसमा पनि वीरगन्जका बारेमा कुनै पौराणिक आख्यान पढ्न पाइएन तर वीरगन्जको धार्मिक महत्व अवश्य नै विभिन्न ठाउँमा उल्लेख भएको पाइन्छ र यसको अस्तित्व एवम् अस्मिता गहवा माईको वीरगन्जमा अवस्थितिले गहवा माईको मन्दिर अवश्यमेव दर्शनीय छ। गहवा माईका सात बहिनीमध्ये गढीमाई अत्यन्तै प्रसिद्ध तीर्थस्थल बन्न पुगेको छ। गढीमाईको चियोचर्चा विश्वमा भएको पाइन्छ किनभने यहाँ पाँच पाँच वर्षमा लाग्ने अपूर्व एवम् आश्चर्य चकित पार्ने मेलामा असङ्ख्य खसीबोका र राँगालाई निर्दयतापूर्वक बलि चढाइन्छ, जसले गर्दा यो मेला विश्वमा चर्चित भएको छ तर गहवा माईमा यस्तो बलि चढाइने प्रथा र परम्परा पाइँदैन। दुर्गा पूजाको अवसरमा अवश्य नै यहाँ ठुलो मेला लाग्छ र दर्शनार्थीहरूको घतलाग्दो घुइँचो लाग्ने गर्छ, जसमा नेपाल र भारतका दर्शनार्थीहरू दर्शन गर्न आउने गर्छन्। यिनै माईको नाममा माइस्थानको नामकरण गरिएको छ, जुन वीरगन्जको हृदयस्थल हो। यहाँ बेलुका बेलुका मानिसहरूको मेला लाग्ने गर्छ। जसमा लेखक, पत्रकार, जागिरेको जगजगी हेर्न लायकको हुन्छ। यसले काठमाडौंको नयाँ सडकको पीपलबोटको सम्झना गराउँछ। यहाँबाट केही टाढा मुख्य सडकमा नै वीर हनुमानको मन्दिर स्थित छ। यसको नजिकै मधेशीहरूको सबैभन्दा लोकप्रिय देवता सत्यनारायण भगवान्को मन्दिर पनि अवस्थित छ। माइस्थान अहिले पनि रिक्सा, टाँगा (टमटम), ई–रिक्साको केन्द्र छ, जहाँबाट रक्सौल जाने सवारी साधन सजिलोसित उपलब्ध हुन्छ। रक्सौल रेलवे स्टेसनमा पहिला पहिला रिक्साको मेला नै लाग्ने गथ्र्यो। वीरगन्जबाट रक्सौल जाने एकमात्र सवारी साधन उपलब्ध हुन्थ्यो र रिक्सा चालक रक्सौललाई रसकौल पनि भन्ने गर्थे। अहिले रिक्सा र ई–रिक्साको बाहुल्यले रसकौल सुनिँदैन। एउटा रिक्सा चालकका अनुसार अहिले ई–रिक्साले गर्दा रिक्सा र टाँगाको व्यापार मन्द भएको छ र यिनीहरू अरू व्यापारतिर लागेका छन्। रिक्सा र ई–रिक्साले गर्दा वीरगन्जको पर्यावरण त प्रदूषित भएको छैन तर ध्वनि प्रदूषण बढ्न गएको छ। माइस्थान मुख्य हृदयस्थल भएकाले एवम् ई–रिक्साबाट प्रतिस्थापन भएकाले वीरगन्ज र रक्सौलको दुरी छोटिएको छ। तर, वीरगन्जको रूपरंगमा शंकराचार्यद्वारको निर्माणले गर्दा यसको सौन्दर्य बढ्न गएको छ। यहाँ पुगेपछि तस्करहरूको होसहवास उड्ने गर्छ किनभने यहाँ नेपाल सरकारको भन्सार कार्यालय अवस्थित छ। यहींबाट तस्करहरूको तस्करी व्यापारमा पनि वृद्धि हुने गर्छ। भन्सार कर्मचारी र तस्करहरूको मिलेमतोमा करोडौं राजस्व रकम सरकारको ढुकुटीमा जम्मा हुन पाउँदैन तर पनि वीरगन्ज भन्सारबाट नेपाल सरकारलाई रेकर्ड राजस्व प्राप्त हुन्छ। यस रेकर्डलाई अहिलेसम्म कुनै भन्सारले तोड्न सकेको छैन। तसर्थ वीरगन्ज व्यापारको पनि मुख्य केन्द्र भएको छ। वीरगन्ज उद्योग र व्यापारको नगरका रूपमा परिचित रहेको छ। यहाँका स्थानीय बासिन्दाहरू वीरगन्जलाई नै मधेश प्रदेशको राजधानी बनाउनका लागि महिनौं अनसन बसेर आफ्नो माग स्थानीय सरकार, प्रदेश सरकार तथा संघ सरकारसमक्ष पुर्‍याएका थिए, तर यो सम्भव भएन। वीरगन्जको हकमा राम्रो नै भयो किनभने वीरगन्ज अहिले व्यापार एवम् उद्योगधन्दाको मुख्य आकर्षण केन्द्र भएको छ। व्यापार नगरी भएकाले स्थानीय वासिन्दाहरू व्यापार गर्ने अवसर पाएका छन् र आफ्नो जीविकोपार्जनमा सहज एवम् सक्रिय छन्।  

म सपरिवार जुन परिवारको निमन्त्रणामा वीरगन्ज पुगेको थिएँ, त्यो परिवारको राजनीतिक दृष्टिकोणले पनि नामोल्लेख भएको पाइन्छ। माइस्थान निवासी माखन साहको सम्पत्तिको राणाकालमा सर्वस्व हरण भएको थियो र यिनीहरू रक्सौलमा शरणार्थी भएर जीवनयापनका लागि अभिशप्त भएका थिए। उनको घरमा सहिद शुक्रराज शास्त्री पनि भारत जाँदाआउँदा बस्ने गर्थे। यो कुरा वीरगन्जको इतिहासमा कहीं न कहीं उल्लेखित छ र यसको अध्ययन आवश्यक भएको छ। यसै परिवारको तेस्रो पुस्ता माइस्थान निवासी रविप्रकाश गुप्ताको एकाघरका छोराको शुभविवाहको मुहूर्तको अवसरमा म एक दशकपछि वीरगन्ज जाने अवसर प्राप्त गरेको थिएँ।  

विहार राज्यको नरकटियागन्जदेखि वीरगन्जसम्म जन्ती आएका थिए। अचेल वैवाहिक रीतिरिवाजमा पनि धेरै बदलाव आएको छ। जन्ती जानुपर्ने वीरगन्जबाट नरकटियागन्ज तर त्यो सम्भव नभएर अहिले केटा पक्षको चाहनाअनुसार केटी पक्ष बाध्य भएर विहे हुने केटी र उसकी आमासहित अन्य आमन्त्रित महिलाहरू पुरुषहरूका साथमा आउने गर्दछन्। यो वैवाहिक रीतिस्थितिमा बदलाव समाजशास्त्रीहरूको अध्ययन अनुसन्धानको रुचिको विषय हुन गएको छ। यसबाट नेपाल र भारतका बीचमा बेटी रोटीको सम्बन्धलाई उजागर त गर्छ नै र यसबाट दुवै देशका बीचमा स्थित सामाजिक र सांस्कृतिक सम्बन्ध सुमधुर र सुदृढ हुन्छ। यस्ता वैवाहिक सम्बन्ध वीरगन्ज, जनकपुर, राजविराज, विराटनगर र भद्रपुरबाट मात्र स्थापित भएको छैन। बरु मधेश प्रदेशको गाउँ गाउँबाट स्थापित हुँदै आएको सदियौं भइसक्यो तर केही राजनैतिक नेताहरू जुन पूर्वाग्रह पीडित छन्, तिनीहरू बेटी रोटीको सम्बन्धलाई नकार्छन् र यो तिनीहरूलाई मन पर्दैन। यो जमिनी यथार्थलाई अस्वीकार गर्न सकिन्न। तिनीहरूको विवेकमा घाम लागोस्।  

वीरगन्जमा अवस्थित गीता मन्दिरको छुट्टै विशेषता छ र यो मन्दिर दर्शकहरूको ध्यानलाई आकर्षित गर्छ। यो मन्दिर भित्रबाट धेरै सुन्दर र आकर्षक लाग्छ। यसका सँगै घडिहर्वा पोखरी पनि दर्शनीय छ। छठको छविछटा हेर्न लायकको हुन्छ, जुन प्रतिवर्ष बडो उत्साह एवम् उमंगसाथ मनाइन्छ। यस पोखरीका बीचमा रहेको सूर्य भगवान्को मन्दिर आस्था र विश्वासको केन्द्र हो। प्रातः भ्रमणका लागि पनि यो पोखरी आकर्षणको केन्द्र बनेको छ। यसलाई अझ आकर्षक बनाउन सकिन्छ। यसमा नौका विहारका साथसाथै फ्लोटिङ रेटुराँ, चिया, कफी अनि अलकोहल ब्रेभरेजका लागि पनि समयानुसार व्यवस्था गरियो भने नेपाली एवम् भारतीय स्थानीय पर्यटकहरूका नजरमा रमाइलो आकर्षणको केन्द्र बन्न सक्छ। यसको बाहिरी भागमा र गीता मन्दिरको बाहिरी भागमा फोहोरले गर्दा वातावरण नै प्रदूषित भइराखेको छ। छेउमा नै गन्दा नाला प्रवाहित भएको हुँदा झन् प्रदूषणको समस्याबाट स्थानीय तथा अन्य आगन्तुकहरूलाई धेरै अस्वस्थकर बनेको छ। त्यहाँदेखि माइस्थान चौकसम्म सडकको दुवै छेउमा खुला गन्दा नालाले यस क्षेत्रलाई स्वास्थ्य अनुकूल वातावरण भन्न सकिन्न। यतातिर वीरगन्ज उपमहानगरपालिकाको ध्यान जानु धेरै आवश्यक देखिन्छ।  

वीरगन्जको आदर्श नगरको सडकवरिपरि ‘ग्रिन सिटी’ योजनाअन्तर्गत रुखविरुवा रोपिएको पाइन्छ तर अल्पमात्रामा। प्रत्येक घरको अगाडि कमसेकम पाँचवटा रुखविरुवा रोपियो भने यो ग्रीन सिटी (हरियो सहर) योजनालाई प्रशंसनीय भन्न सकिन्छ।  

वीरगन्जमा नयाँ नयाँ होटलहरू खुलेका छन्, जसले गर्दा आन्तरिक पर्यटकहरूलाई आराम गर्नका लागि प्रशस्त सुविधा उपलब्ध भइराखेको छ। यहाँ स्थित भिस्वा होटल अरू होटलभन्दा धेरै सुविधासम्पन्न मान्न सकिन्छ किनभने यहाँ मिटिङ हल र कन्फ्रेन्स हलको धेरै सुविधा उपलब्ध छ। पार्टी र जन्तीका लागि प्रशस्त खुल्ला ठाउँ छ, जसलाई विभिन्न बत्तीले झिलीमिली तुल्याएर आकर्षक बनाइन्छ। यहाँस्थित लनमा फोहोराको व्यवस्था पनि राम्रो देखिन्छ। यसको गार्डेन पनि हरियो भरियो देखिन्छ र बेलुकापख यसलाई बिजुली बत्तीले सिँगारिन्छ। आन्तरिक पर्यटकहरूका लागि यो सबै सुविधासम्पन्न होटलको रूपमा स्वीकृत छ। यसबाहेक होटल सम्झना, कैलाश, दियालो, माउन्ट मकालु, पूजन र सिटी इन आदि पनि आन्तरिक पर्यटकहरूका लागि राम्रा छन्। मेनरोड सुरज होटललाई पनि सुन्दर मान्न सकिन्छ।  

अहिले उपमहानगर पालिकाद्वारा सञ्चालित टाउन हल पिस गार्डेन पार्टी प्यालेस पनि राम्रोसित सञ्चालित भइराखेको छ। यो धेरै पुरानो पार्टी प्यालेस हो र वीरगन्ज सहरको केन्द्रमा स्थित छ। जहाँ विहेको जन्तीलाई बसोबासको राम्रो व्यवस्था छ। यसको गार्डेनमा स्व. राजा महेन्द्रको सालिक पनि बनाइएको छ। यहाँस्थित फोहोराबाट उनको खुट्टा प्रच्छालित भइरहन्छ। राति राति यसको सौन्दर्यमा चार चाँद जडिएको हुन्छ। गार्डेनभित्र चार पाँच मण्डप पनि निर्मित छन् जहाँ आगन्तुकहरू आरामसित खानपिन गर्न सक्छन्। यसको प्राङ्गणमा बिहेको अवसरमा विभिन्न डान्स पार्टीहरू आफ्नो आकर्षक गीत नादको कार्यक्रम सम्पन्न गर्ने गर्छन्। सयौं सयपत्री फूलको सुवास एवम् सुगन्धबाट सम्पूर्ण गार्डेन मह मह भइरहन्छ। आन्तरिक पर्यटकका साथसाथै बाहिरबाट आउने जन्ती एवम् अतिथिहरूका लागि आरामदायक र आनन्दप्रद मान्न सकिन्छ।  

वीरगन्जको प्राचीन रूपमा केही परिवर्तन भएको त छैन तर गहवा माईको जीर्णाेद्वार गरिएको छ। गहवा माई अहिले झन् दर्शनीय, प्रार्थनीय तथा उदाहरणीय बन्न पुगेको पाइन्छ। वीरगन्जको नामकरण वीर शमशेरको नाउँमा गरिएको छ। त्योभन्दा पहिला यो स्यानो गाउँ वन जंगलले परिपूर्ण थियो होला। वीरगन्ज र रक्सौल पैदल मार्गले मानिसहरू आवत जावत गर्ने गर्थे होला तर अहिले यो सहरको विकास भएको छ। अहिले यो व्यापार नगरका रूपमा विकसित भएको छ। स्थानीय व्यापारीहरूले चाहे भने यो एउटा व्यापारको मुहान हुन सक्छ। यसको बजार विशाल छिमेकी राष्ट्रसँग जोडिएपछि भारतको ठूलो बजारमा यसको प्रवेश सजिलो एवम् सरल हुन जान्छ। वीरगन्जको हृदयस्थल टाउन हलमा तीन रात काट्दा अलि असजिलो नै भयो। यहाँका कर्मचारीहरू स्वागत कक्षमा बसेर दिनरात मोबाइल खेलाई राख्ने तर यहाँ बसेका अतिथिहरूको वास्ता नगर्ने। शिष्टाचारको सर्वथा अभाव देखियो। यिनीहरूलाई होटल तालिमको अनुभव पटक्कै नभएकोजस्तो महसुस भयो।  

टाउन हलमा एउटा ब्लक केटा पक्ष र अर्को ब्लक केटी पक्षका लागि निश्चित गरिएको थियो। तर, यसलाई पनि बेवास्ता गरिएको थियो। यसले गर्दा अतिथिहरूलाई असहज अनुभूति भएको थियो। कोठामा टिभी जडान गरिएको थियो तर कहिल्यै पनि चलेको थिएन। हिटर (केटली) टेबुलमा राखिएको थियो तर त्यसको तार जोडिएको थिएन। केटा पक्ष र केटी पक्षका मानिसहरू आफै खानेपानीको व्यवस्था गर्नुपर्ने। यिनीहरू कहिल्यै पनि कोठामा आएर केही असुविधा एवम् असजिलो छ कि भनेर नसोध्ने। सबैभन्दा बढी शिष्टाचारको उलंघन त अन्तिम दिन अर्थात् टाउन हल छोड्ने दिनमा उर्दी जारी गरियो कि बिहानै छ बजे चेक आउट गर्ने। पानीको प्रवाह नै बन्द गरेर बहादुरी देखाएको र शौचालयसम्म पनि प्रयोगमा ल्याउन नदिने। हदै भयो। एकाबिहानै यहाँ बसेका अतिथिहरू शौचालयको प्रयोग कहाँ गएर गर्ने ? यहाँ बस्ने धेरैजसो बाहिरबाट आएका आमन्त्रित अतिथि नै थिए तर पनि यस्तो अव्यवस्था अशोभनीय एवम् अवाञ्छितजस्तो अनुभव गरियो।  

कोठा र शौचालय कहिल्यै पनि सफा नगर्ने। कोठा शौचालययुक्त भएको त राम्रै थियो तर यसको सफाइ पनि त जरुरी थियो। बिहानको जाडोमा यस्तो अव्यवस्था गरिएको थियो। जसले गर्दा यहाँ बस्नेहरूलाई धेरै असजिलो भयो।  

एक बिहान स्थानीय साहित्यकारसँग चिया चर्चा मेरो नै आन्तरिक इच्छा थियो कि यहाँका नेपाली र भोजपुरी भाषाभाषी साहित्यकारहरूसँग भेटेर चिया चर्चाका साथसाथै साहित्यिक गफगाफ गर्ने। मैले नेपाली भाषी साहित्यकार ऋतुराज भट्टराईज्यूसँग अनुरोध गरें। उहाँले धेरै उत्साह, उमंग र ऊर्जाका साथ यो जमघट गरेर मलाई अनुगृहीत तुल्याउनुभयो। टाउनहलको बास छोडेको एक घण्टापछि उहाँले सिटी इन होटलको एउटा कक्षमा यो जमघटको आयोजना गर्नुभएको थियो। यो बिल्कुल अनौपचारिक भेटघाट थियो तर पनि उहाँहरूले मलाई खादाबाट स्वागत सत्कार गरेका थिए। मेरो आन्तरिक इच्छा थियो, यो जमघट भोजपुरी प्रतिष्ठानको स्वागत कक्षमा गरियोस्। यो सौभाग्यबाट म वञ्चित भएँ किनभने त्यहाँ कार्यरत दुईटै कर्मचारी बिदामा बसेका थिए। मलाई अलि खल्लो लागेको थियो तर लेखक ध्रुवसिंह ठकुरीज्यूले आफ्ना तर्फबाट रंगीन खादाबाट मलाई स्वागत गर्नुभएको सदैव स्मरणीय रहनेछ। यस जमघटमा सहभागी साहित्यकारहरू थिए– ध्रुवसिंह ठकुरी, ऋतुराज भट्टराई, अशोक कुशवाह, गणेशप्रसाद लाठ, उषा साह र अजमत अली। यसबाट के प्रस्ट हुन जान्छ भने यद्यपि यो जमघट सानो थियो तर पूर्ण समावेशी।  

गणेशप्रसाद लाठ र उमाशंकर दधीचिज्यूले मेरा बारेमा बोल्नुभएको थियो। गणेशप्रसाद लाठ स्वनामधन्य साहित्यकार हुनुहुन्छ। उहाँले आफ्ना रचना मलाई भेट स्वरूप प्रदान गर्नुभएको थियो र यी रचनाहरू हुन्– क्षमादान, अधटित, अंग्रजी भाषामा अनुराधा भवन र छमिया। मैले उहाँका फुटकर रचनाहरू पढेको थिएँ र उहाँको भाषाशैलीबाट प्रभावित र प्ररित थिएँ। दधीचिज्यूको भोजपुरी भाषामा लिखित चुडइन (कथासङ्ग्रह) मैले पढेको थिएँ। मैले पनि आफ्ना दुइटा हाइकुसङ्ग्रह गुलमोहर र गुलवदन उहाँहरूलाई प्रदान गरेको थिएँ। दधीचिजी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सभासदस्य हुुनुहुन्छ। गणेशप्रसाद लाठले काठमाडौंमा आयोजित कलिंगा लिटरेचर फेस्टिभलका कटु मधु अनुभव सुनाउँदा म भावुक भएको थिएँ। यसरी बहुरंगी वीरगन्जको विभिन्न रूप रंगको अनुभव गर्दै म सपरिवार सिमराबाट काठमाडौंको उडानमा त्यसै दिन फर्किनुपर्ने बाध्यता थियो। 

प्रकाशित: ९ पुस २०७९ ०१:०९ शनिबार

वीरगन्ज अक्षर