समाज

नियुक्तिपत्र नदिई काम लगाउन पाइँदैनः अध्यक्ष विष्ट

भक्तपुर– नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले अब कुनै पनि सञ्चारमाध्यमले नियुक्तिपत्र नदिई काममा लगाउन नपाइने बताएका छन्।

क्रियाशील पत्रकार मञ्च भक्तपुरले जिविस भक्तपुरको सहयोगमा साेमबार जिल्लाका क्रियाशील पत्रकारका लागि सञ्चालन गरेको एकदिने ‘फिचर लेखन तालिम’ को उद्घाटन गर्दै उनले सरकारले लागू गरेको पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चारगृहले कुनै पनि हालतमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेर मन्त्रिपरिषद्ले पारित गरिसकेको अवस्थामा यसको कार्यान्वयनका लागि महासङ्घ लाग्ने अध्यक्ष विष्टको भनाइ थियो । सञ्चारगृहले न्यूनतम पारिश्रमिक थेग्न सक्दैन भन्नु गलत भएको जिकिर गर्दै उनले सञ्चारगृह बलियो बनाउन सरकार र संस्था लाग्नुपर्नेमा जोड दिए।

पत्रकार शुद्धीकरणको अभियान जिल्ला जिल्लाबाट सञ्चालन हुने बताउँदै उनले मूल पेसा पत्रकारिता बनाएका बाहेकको महासङ्घले नवीकरण समेत अब रोक्ने बताए।

कार्यक्रममा पत्रकार महासङ्घ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाइँले पत्रकारको हक, हित र उनीहरुको पेसाको संरक्षणका लागि महासङ्घले उत्तरदायी भूमिका निर्वाह गर्न चुक्न नहुने बताए।

पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले क्रियाशील रुपमा काम गरिरहेका पत्रकारका लागि सञ्चालित तालिमले पत्रकारमा निखारता आउने विश्वास व्यक्त गरे।

प्रकाशित: २० असार २०७३ ११:५० सोमबार

नियुक्तिपत्र नदिई काम लगाउन पाइँदैनः अध्यक्ष विष्ट