समाज

सतर्कताका लागि बाढी–पहिराेकाे सूचना अब माेबाइलमै पठाइने

काठमाडौँ–  जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा पूर्वसतर्कताका लागि साेमबारदेखि सूचना प्रवाहको व्यवस्था मिलाएको छ।

कन्काई, मेची, नारायणी, वाग्मती, बबई, भेरी, कर्णाली र महाकाली नदी तथा त्यस आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकले बाढीको जोखिम हुनेबित्तिकै यस किसिमको सूचना प्राप्त गर्ने छन्। विभागले ती क्षेत्रका नदीमा पानीको बहाब उच्च हुँदा त्यहाँका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलबाट खतरा रहेकाले सुरक्षित हुन तथा सुरक्षित स्थानमा भाग्न सन्देश उपलब्ध गराउने छ।

विभागका महानिर्देशक ऋषिराम शर्माले बाढी प्रभावित क्षेत्रमा ठूलो धनजनको क्षति हुँदै आएकाले त्यसको न्यूनीकरणका लागि सूचना प्रणालीको विकास गरिएको र त्यसका आधारमा टेलिकम र एनसेलबाट चार प्रकारका सूचना प्रवाह हुने जानकारी दिनुए।

खतराका अवस्था अनुसार सन्देश उपलब्ध गराइने छ। यस किसिमको व्यवस्था अहिलेलाई परीक्षणका रुपमा रहे पनि आउने दिनमा यसलाई थप व्यवस्थित गराइने बताइएको छ। रासस

प्रकाशित: २० असार २०७३ ११:४५ सोमबार

सतर्कताका लागि बाढी–पहिराेकाे सूचना अब माेबाइलमै पठाइने