समाज

सम्पन्न परिवारले नै राहत लिने गरेको जिसस प्रमुखको गुनासो

पीडित र विपन्न समुदायको नाममा आउने राहत सम्पन्न परिवारले नै लिने गरेको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम अयोध्या यादवले गुनासो गरेका छन्। रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख यादवले वास्तविक पीडितलाई राहत नपुगेको गुनासो गरेका छन्।

विपन्न परिवारमा पुग्नुको साटो सम्पन्न परिवारले राहत लिने गरेको गुनासो गर्दै जिसस प्रमुख यादवले भने – दैवी प्रकोप एवं विपद्को बेलामा दिइने राहत गरिब, विपन्न एवं पीडित परिवारभन्दा पहुँच र सम्पन्न व्यक्ति तथा परिवारले लिने गरेकाले वास्तविक पीडितलाई राहत व्यवस्थापन गर्न आग्रह गर्दछु।

ग्रामीण विकास केन्द्र नेपाल रौतहटले जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा आयोजना गरेको  स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना साझेदारी कार्यशाला गोष्ठीमा जिसस प्रमुख यादवले चिसोको मौसममा प्रभावित हुने समुदाय, परिवार र व्यक्तिलाई पहिचान गरी सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। रौतहटको गुजरा र कटहरिया नगरपालिकालाई लक्षित गरेर तयार पारिएको पाँंच वर्षीय कार्ययोजनाको बारेमा जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा अध्ययन अनुसन्धान गरी बनाइएको प्रतिवेदन प्रस्तुत गरिएको छ।

जिल्लाका सिमान्तकृत समुदायहरुमा बाल संरक्षण र कल्याण सुनिश्चित परियोजनाअन्तर्गत  कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, गुजरा नगरपालिकाका.निमित्त प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, कटहरिया नगरपालिकाका प्रतिनिधि लगायतको सम्बन्धित निकायका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।

स्थानीय तहले वितरण गर्ने गरेको राहतमा पनि सम्पन्नको पहुँच हुने गरेको जिसस प्रमुख यादवको गुनासोबाट छर्लंग भएकोले अब यस्ता कार्यक्रमको तयारी गम्भीरतापूर्वक गर्न सहभागीहरुले जोड दिएका छन्।

प्रकाशित: ८ पुस २०७९ १३:१२ शुक्रबार

राहत