समाज

छिमेकी वडाबाट खानेपानी ल्याउछन् रारा गाउँका स्थानीयवासी

रारागाउँमा खानेपानीको अभाव। तस्बिर: गोल्डेन बुढा

जुम्लाको तिला गाउँपालिका-१ रारागाउँ खानेपानीको अभाव भएको छ। ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै र मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो।

गाउँमा खानेपानीकै विषयमा युद्ध हुने गरेको छ। रारा गाउँको मुनि कर्णाली राजमार्गको जुम्ला सडक खण्ड छ। अनि सडक मुनि तिला नदी अनवरत बगिरहेको छ। तर नदीमा पिउन योग्य पानी बग्दैन। रारा गाउँवरिपरि पर्याप्त जमिन छ, उर्भर भुमी पानी अभावले मरुभुमी सहर छ। घर वरिपरिका करेसावारी बाँझौ छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ।उत्पादन हुने जमिन छ, तर सुख्खा छ, नदीको पानी खेर गइरहेको छ, सुख्खा जमिनमा उभिएर तल कलकल बगिरहेको तिला नदिलाई हेर्छौं स्थानीय धनराज रावतले भने। कैयौं बालबालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँछन्। यो गाउँका विद्यार्थीलाई विहान र बेलुका आफ्नो गृहकार्य भन्दा घरमा पानी छ, कि छैन रु भन्ने पिरलो हुन्छ।

प्रत्येक दिन २/३ जनाको झगडा भइरहन्छ। स्थानीय नन्द बहादुर बुढाले भने, 'तीन दशकसम्म खानेपानीको अभाव झेलेको रारागाउँमा सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधि, जनप्रतिनिधिबाट महिला तथा बालबालिकालाई सरसफाईमा ध्यान दिनुपर्ने संदेश पुग्यो तर खानेपानी पुगेन। सरसफाइका लागी सबै भन्दा बढी समस्या महिनावारी हुने महिला, जेष्ठ नागरिक र बालबलिकालाई हुन्छ।'

अर्को स्थानीय महिला दन्तकला बुढाले रारा गाउँ मरुभुमी सरह भएको बताए। गाउँमा भएका चार धारा दिनमा २ घण्टा मात्रै पानी आउछन्।१० हजार लिटरको ट्यांकी छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार रारामा २ सय ६८ घरधुरी र १ हजार ६ सय २६ जनसंख्या छ। रारा क्षेत्रमा पानीको मुहान छैन। रारा एक गाउँ एक वडा भएको बस्ती हो। संघीय खानेपानी आयोजनाले चालु आर्थिक वर्षमै खानेपानी समाधान गरिदिने बाचा गरेको तिला १ का वडाध्यक्ष जँगबहादुर बस्नेतले बताए।

रारा गाउँको इलाकामा बन जँगल नहुँदा पानीका मुहान छैनन्। छिमेकी वडाबाट पानी ल्याउनु बाहेक विकल्प नभएको उनले जनाए। उनले भने, 'यो गाउँको लागि बृहत खानेपानी योजना निमार्णधिन अवस्थामा रहेको छ। संघीय खानेपानी आयोजनाले न्यून बजेट विनियोजन गर्न भएकोले आयोजना सम्पन्न हुन सकेको छैन। यो योजनाका कारण गाउँपालिकाले रारागाउँमा खानेपानीको योजना बनाएको छैन।'  

संघीय खानेपानी आयोजनाले आयोजना निर्माण गर्न आश्वासन दिएको वडाध्यक्ष बस्नेतको भनाइ छ। स्थानीय सरकार पाएको ६ वर्षसम्म पनि खानेपानीको समस्या समाधान नहुँदा राराका स्थानीय सन्तुष्ट छैनन्।

प्रकाशित: ८ पुस २०७९ ११:५५ शुक्रबार

खानेपानी