समाज

विद्युतीय झट्काले श्रीमतीको मृत्यु, श्रीमान् घाईते

विद्युतीय झट्का (करेन्ट) लागेर उदयपुरमा एक महिलाको मृत्यु भएको छ भने उनकै श्रीमान् घाईते भएका छन्। करेन्ट लागेर जिल्लाको त्रियुगा नगरपालिका १५ ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको ज्यान गएको हो।  

बिहीबार साढे १० बजेको समयमा आफ्नै बारीमा कोदो टिप्दै गरेका बेला विजुलीको पोलमा छुन पुग्दा करेन्ट लागेर विश्वकर्माको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  

प्रदेश प्रहरीका अनुसार करेन्ट लागेर बेहोस् भएकी श्रीमतिलाई बचाउन खोज्दा पार्वतीका श्रीमान् रुपेश विश्वकर्मा घाईते भएका छन्। उनको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ।  

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतलमै पठाएको जनाइएको छ। घट्ना के कारणले भएको भन्ने यकिन बिबरण भने खुलिसकेको छैन। यसबारे जिल्ला प्रहरीले बिस्तृत जानकारीका लागि थप अनुसन्धान गरिरहेको जनाइएको छ।  

प्रकाशित: ८ पुस २०७९ ०९:१९ शुक्रबार

त्रियुगा नगरपालिका विद्युतीय झट्का (करेन्ट)