समाज

पिकअप पल्टिँदा एक भारतीयको मृत्यु

रौतहट–रौतहटमा पिकअप जीप पल्टेर किच्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई घाइते भएका  छन्। आइतवार बिहान तीन बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ च ९९६५ नम्बरको टाटा पिकअप जीप चन्द्रपुर नगरपालिका–६ सहिद पार्कमा पल्टिँदा भारतीय नागरिक धनन्जय साहको मृत्यु भएको हो।

गम्भीर घाइते साहलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी मनोज यादवले बताए। दुर्घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३ का चालक दीपक भन्ने सुजन लामा र सिरहा जिल्लाको मिर्चैयाको बडहरा ७ का ४० वर्षे बालचन मुखिया घाइते भएका छन्। घाइते दुवैजनाको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको डिएसपी यादवले जनाए। दुवैजनाको अवस्था गम्भीर रहेको छ। मृतक साहको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा पोस्टमार्टमका लागि राखिएको डिएसपी यादवले बताए।

यसैबीच नदीले बगाउँदा एक बालक वेपत्ता भएका छन्। तेजापाकड गाविस– ८ का मिर असरफका १० वर्षका छोरा नीर अहमद शनिबार साँझदेखि वेपत्ता भएका हुन्। खोलाको छेउमा उभिएर बाख्रा चराइरहेका बेला नदी  कटानले ढिस्को बगाएपछि बालक खोलामा डुबेर वेपत्ता भएको आफन्तले जनाएका छन्।

 

प्रकाशित: १९ असार २०७३ ०८:१३ आइतबार

पिकअप पल्टिँदा भारतीयको मृत्यु