समाज

तयार भयो निशानेको पानीट्यांकी, खानेपानी बोर्डलाई हस्तान्तरण

निशाने खानेपानी ट्यांकीको रिबन काटेर उद्घाटन गर्दै मेयर हर्क साम्पाङ। तस्बिर: रोहित राई

निशाने खोला दोभानमा निर्माण सम्पन्न भएको पानी ट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ।

ट्यांकी निर्माण समितिले बिहिबार औपचारिक समारोह आयोजना गरेर बोर्डलाई हस्तान्तरण गरेको हो। ट्यांकीको कागजपत्र र चाबी हस्तान्तरण अघि मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका थिए। यो ट्यांकीको क्षमता २ लाख ३७ हजार लिटर क्षमता रहेको छ। गोर्खा पिस फाउण्डेशन युके र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा पानीट्यांकी निर्माण भएको हो। यो ट्यांकीमा सर्दु, खर्दु र निशाने खोलाको पानी संकलन गरेर वितरण भइरहेको छ।

ट्यांकी निर्माणको लागि मेयर साम्पाङले धरानस्थित गोर्खा वेलफेयर अफिसलाई पत्राचार गर्दै आग्रह गरेका थिए। मेयर साम्पाङको आग्रह पछि वेलफेयरको पहलमा गोर्खा पिस फाउण्डेशनले आर्थिक सहयोग गर्न तयार भएको थियो भने युकेमा नै बसोबास गर्ने धरानबासीसहित नेपालीहरुले हर्क साम्पाङ सपोर्ट कमिटी बनाएर सहयोग जुटाएका थिए।

निर्माण कमिटीका सचिव डिबि लिम्बुका अनुसार कुल ८९ लाख ४२ हजार ६१२ रुपैयामा ट्यांकी निर्माण भएको हो। त्यसमध्ये गोर्खा पिस फाउण्डेशनको तर्फबाट ३४ लाख २२ हजार २२३ रुपैया प्राप्त भएको छ भने हर्क साम्पाङ सपोर्ट कमिटीबाट ५८ लाख ७२ हजार १३६ रुपैया सहयोग प्राप्त भएको लिम्बुले जानकारी दिए। ट्यांकी निर्माणमा उपमहानगरपालिकातर्फबाट श्रमदान मार्फत ९ लाख २० हजार २९० रुपैया लगानी भएको पनि उनले बताए। ‘हाल १२ लाख ७२ हजार रुपैया मौजुदा छ,’उनले भने।

वेलफेयर अफिसर पुर्णबहादुर लिम्बुका अनुसार ४ महिनामा निर्माण सम्पन्न गरेर बिहिबार ट्यांकी हस्तान्तरण गरिएको हो। यद्यपी, ट्यांकीको निर्माण कार्य ६२ दिनमा सकिएको थियो, र ट्यांकीबाट पानी वितरण गर्न शुरु भएको थियो। शुरुवातमा २ लाख १० हजार लिटर क्षमताको ट्यांकी बनाउने भनिए पनि क्षमता बढाउन क्षेत्रफल बढाइएको उनले बताए। ‘तोकेको भन्दा क्षमता बढी नै भयो। शुरुमा फिल्टर गर्ने सेन्टपिट सोचिएको थिएन। काम गर्दे जादा आवश्यकता महशुस भएर निर्माण गर्यौं, र केही समय ढिलाई भएको हो,’ उनले भने।

कार्यक्रममा गोर्खा पिस फाउण्डेशनका ट्रष्टी प्रेम लिम्बुले ट्यांकी परिसरमा निर्माण गरिएको दाताहरुको नाम अंकित शिलालेख अनावरण गरेका थिए भने हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सहसंयोजक देव हुक्पा चोङवाङले सपोर्ट कमिटी अन्तर्गतका दाताहरुको नाम लेखिएको शिलाको अनावरण गरेका थिए। साथै, खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भल्व खोलेर औपचारिकरुपमा पानी वितरण गरेका थिए।

यसैगरि, कार्यक्रममा १ लाख भन्दा बढी सहयोग गरेका दाताहरुलाई ताम्रपत्रले सम्मान गरिएको थियो भने ५० हजार भन्दा बढी सहयोग गर्नेलाई प्रशंसा पत्र वितरण गरिएको थियो। मेयर साम्पाङले आफ्नो प्रमुख एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेकोले त्यसैमा केन्द्रीत भएको बताए। ‘खानेपानी समस्या हल नभएसम्म म धेरै जसो खोलाखोल्सी, जंगलतिर नै हुनेछँु,’उनले चुनाव अघिकै प्रतिवद्धता स्मरण गर्दै भने,‘यहाँ पछि भालु खोला र सेउती खोलाको पानी संकलन गर्न अर्को ट्यांकी बन्छ।’

गोर्खा पिस फाउण्डेशनका ट्रष्टी प्रेम लिम्बुले आफुहरुले एउटा गहन जिम्मेवारी पुरा गरेको भन्दै खुशी व्यक्त गरे। साथै, अब ट्यांकीको संरक्षण र सञ्चालनको जिम्मेवारी उपमहानगरपालिकाको भएको पनि उनले बताए। सपोर्ट कमिटी युकेका सहसंयोजक देव हुक्पा चाङवाङले मेयर साम्पाङको काम प्रतिको प्रतिवद्धताबाट प्रभावित भएर सहयोग गर्न कमिटी नै गठन गरिएको बताए। सहयोग गर्नेहरु धरानका मात्र नभएर युकेमा बसोबास गर्ने अन्य जिल्लाका र हङकङमा रहदै आएकाहरु पनि भएको उनले बताए। ‘१९५ जना भुपु, गैरभुपु, भाञ्जाभाञ्जीहरुले शिलालेखमा नाम लेख्ने सर्तमा सहयोग गर्नुभएको छ,’उनले भने,‘अब धरान १५ मा पनि अर्को ट्यांकी बनाउन सहयोग गर्नेबारे छलफल भइरहेको छ। पत्र पाइसकेका छांै, हामी आवश्यक सहयोग जुटाउछौं।’

प्रकाशित: ७ पुस २०७९ १४:१२ बिहीबार

खानेपानी