समाज

घनाजंगल भित्र ‘दोहन लीला’

खोलामा अवैध उत्खनन् गरि जंगल भित्र ठाउँ ठाउँमा थुपारेर राखिएका ढुंगा ।

देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित घना जंगलभित्रको ताली खोला। बसेरी सामुदायिक वन क्षेत्र भित्र पर्ने यो खोलामा ‘दोहन लीला’ नै मच्चियो। नत कुनै विकास आयोजनाका लागि यो उत्खनन् भएको थियो। न कुनै ठेक्का सम्झौतामै उत्खनन् भयो।

दिनदहाडै खुलेआम उत्खनन् भएको यो खोलाबाट झण्डै दुईसय ट्याक्टर ढुंगा निकासी भयो। एक स्थानीय भन्छन् ‘दिउँसै डोजर आएर ढुंगा निकाल्थे, मनपरी नै चल्यो।’ खोलाबाट निकालिएको ढुंगा जंगल भित्र ठाउँ ठाउँमा थुपारेर राखिएको छ। स्थानीयलाई भने कुन प्रयोजनका लागि कसले ढुंगा निकालेको भन्ने जानकारी नै छैन।

‘डोजर आउँथे, खनेर निकाल्थे,’ति स्थानीयले भने ‘तर कसले खनेको हो हामीले पनि पत्तै पाउन सकेनौँ।’ स्थानीयले उक्त उत्खनन्को बिरोध त गरे। तर विकास बिरोधी भनेर उल्टै खप्की खानु पर्यो। ‘त्यहाँ डोजर ल्याएर आउनेहरुले विकासका लागि निकालिएको छ,विकास बिरोधी बन्ने? भनेर हामीहरुलाई उल्टै हप्काए,’ ति स्थानीयले भने ‘विकासका लागि हो भने अहिले जंगलै भरी किन राखिएको छ ? केहि बुझ्न सकेका छैनौँ।’

सामुदायिक वन क्षेत्रको खोला उत्खनन् गरेर ढुंगा निकासी भएको बारे सामुदायिक वन समूह समेत बेखवर जस्तै छ। सामुदायिक वन समूहका अध्यक्ष तथा यसैवडाका वडा सदस्य समेत रहेका धनीप्रसाद खड्काले ढुंगा निकासी गरेर डम्पिङ गरेर राखेपछि मात्रै आफूले थाहा पाएको बताए। उनका अनुसार ढुगा निकासी गर्दा उत्खनन्कर्ताले सामुदायिक वनसंग कुनै सल्लाह नै गरेनन्। ‘मलाई सुरुमा ढुंगा निकाल्ने बेला थाहा भएन,पछि निकालेर जंगलमा राखेको थाहा पाएपछि मैले किन निकालेको हो भनेर सोधेँ,’ खड्काले भने ‘तर ढुंगा निकाल्नेहरुले विकासका लागि हो बिरोध नगर्नुस् भनेर भने।’

उनका अनुसार उक्त सामुदायिक वन क्षेत्र भित्र ढुंगा निकासी गर्ने स्थानीय ठेकेदार हस्तबहादुर ओली हुन्। ओलीले आफूले खोलाबाट निकासी गरेको ढुंगा बाहिर बिक्री नगर्ने भन्दै सामुदायिक वनका अध्यक्ष खड्कालाई थामथुम पार्न खोजे। ‘मैले यो ढुंगा बाहिर बिक्री गर्ने हैन, यहिँको विकासमा लगाउने हुँ भनेर मलाई भने,’ खड्का भन्छन् ‘यहाँको सडकको काममा नै यो ढुंगा प्रयोग हुन्छ,विकासका लागि बिरोध नगर्न मलाई अनुरोध गरेका थिए।’ यो स्थानमा गत वर्ष पनि यसैगरि अनाधिकृत रुपमा ढुंगा उत्खनन् भएको थियो। त्यो बेला पनि आफूले बिरोध गरेको तर सुनुवाई नभएको खड्काले बताए। ‘पोहोर पनि यसैगरि ढुंगा निकालेका थिए,मैले बिरोध गरेपनि तर उनिहरुले मलाई टेरेनन्’ खड्का भन्छन् ‘अहिले भने मैले हाम्रो वडा अध्यक्षलाई ढुंगा निकासी बारे जानकारी गराएको छु।’

खोला उत्खनन् गरेका ओलीले त्यहिँको सडकमा ढुंगा प्रयोग गर्ने बताएको भएपनि उनले भने जंगलमा थुपारिएको ढुंगा निकासी गरिरहेको जनप्रतिनिधि बताउँछन्। ‘खोलाबाट ढुंगा निकासी भयो, अनि जंगलमा लगेर डम्प गरेर राखियो,’ अर्का वडा सदस्य प्रमोद बस्नेतले भने ‘अनि अहिले त्यो ढुंगा जंगलबाट अन्यत्र निकासी भैरहेको छ।’  विकासे आयोजनाका लागि उक्त ढुंगा निकासी गरिएको भए सम्बन्धीत वडा कार्यालयसंग समन्वय गरेर मात्रै मापदण्ड अनुरुप ढुंगा निकासी हुनुपर्ने हो। तर यसबारेमा वडा बेखबर छ। ‘कुनै पनि बिकासे आयोजनाका लागि ढुंगा निकासी गरिएको हो भने त्यो कुरा वडा कार्यालयलाई किन जानकारी भएन?’ वडा सदस्य प्रमोद बस्नेतले भने ‘विकासको काम भनेर एक व्यक्तिे जेसिभि लगाएर कुनै अनुमती बेगर ढुंगा निकाल्न पाउँछ?’

राजपुर गाउँपालिकाले पनि उक्त अत्खनन्लाई अनाधिकृत भन्दै चोरी गरेर निकालिएको ढुंगा गाउँपालिकाको मातहतमा ल्याउने तयारी गरेको छ। ‘त्यहाँ ढुंगा चोरी गरेर जंगल भित्र राखिएको भन्ने सूचना पाएपछि मैले उक्त ढुंगाको परिमाण नाप गरेर गाउँपालिकाकै मातहतमा ल्याउने तयारी गरेको छु,’ गाउँपालिकाका अध्यक्ष शरद बुढाथोेकीले भने ‘चोरी गरेर निकालिएको ढुंगाबाट कसैले पनि फाईदा लिन पाउने छैन।’ उनका अनुसार त्यहाँ गरिएको उत्खनन् अनाधिकृत हो। ‘त्यो बिल्कुल चोरी गरिएको ढुंगा हो,’ उनले भने ‘त्यहाँ उत्खनन्का लागि कोहि कसैले पनि कुनै पनि निकायबाट अनुमती पाएको छैन।’ उक्त ढुंगा मापनका लागि गाउँपालिकाले प्रहरीलाई समेत खवर गरिसकेको छ।

प्रहरीसहित गाउँपालिकाका प्रतिनिधि पुगेर उक्त ढुंगाको परिमाण जाँच गर्ने र गाउँपालिकाको मातहतमा ल्याईने  अध्यक्ष बुढाथोकीले जानकारी दिए। गाउँपालिकाको आग्रह अनुसार उक्त स्थानमा प्रहरी पनि पुग्ने तयारी गरिरहेको छ। ‘गाउँपालिकाको अध्यक्ष ज्यूले पनि उक्त ढुंगा नामजाँच गर्न जाने भनेर मलाई भन्नु भएको छ,’प्रहरी चौकी जंग्रहवाका असई मानबहादुर नेपालीले भने ‘केहि ब्यस्तताका कारण जान सकिएको छैन, हामीहरु तत्काल त्यहाँ पुगेर उक्त उत्खनन् बारे जानकारी लिन्छौँ।’  

प्रकाशित: ७ पुस २०७९ १२:५८ बिहीबार

अवैध दोहन