समाज

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय

सिन्धुपाल्चोक-पांग्रेटारकी सोनु पहरीले भूकम्पले विद्यालय भवन ढालेपछिको वर्षदिन निकै कष्ट सहेर पढिन्। पुराना काठपात र जस्ताले बनाएको अस्थायी सिकाइ केन्द्रमा उनी प्रचण्ड गर्मीले सेकिइन्, कक्षाभित्रै छिर्ने बर्खे भलबाढी भोगिन्, हिउँदे ठन्डीमा कठ्यांग्रिन् । ‘बर्खामा किताब जोगाउनै हम्मे प¥यो । हिउँदमा टहरो नै उडाउला झैं गरेर आउने हुन्डरीले अत्यायो,’ नयाँ शैक्षिक सत्रदेखि लामोसाँघुस्थित सेतीदेवी शारदा उच्च माविको नवनिर्मित ट्रस्ट भवनमा पढिरहेकी उनले भूकम्पपछिका कठिन दिन सम्झिन् ।
कक्षा चारकी छात्रा उनले नयाँ भवनमा छिरेपछि बिनात्रास पढ्न पाएको सुनाइन् । उनी पढ्ने विद्यालयको सातकोठे भवन भूकम्पले ध्वस्त भयो भने अर्को आठकोठे भवन क्षतिग्रस्त बनायो । ‘यति छिट्टै सुरक्षित भवनमा पढ्न पाइएला भनेर सोचेकै थिइनँ,’ उनले भनिन् । प्रधानाध्यापक वासु जिसीले आमोर्ट नामक संस्थाले ट्रस्ट भवनसहित अन्य संरचना पुनर्निर्माणमा सघाएपछि विद्यालय क्रमशः पुरानै अवस्थामा फर्कंदै गएको बताए ।
भूकम्पबाट सर्वाधिक क्षति व्यहोर्ने क्रममा पूर्णरुपमा जगै उखेलिएको सिन्धुपाल्चोकको शैक्षिक क्षेत्रको पुनर्निर्माण तीव्र गतिसाथ निकै अघि बढिसकेको छ । विदेशी दातृ निकाय, संघसंस्था र सरकारले हात थापेपछि शैक्षिक संस्था पुनर्निर्माणमार्फत् जुरुक्कै उठ्न खोज्दैछ । ‘सबैभन्दा पहिले शैक्षिक संस्थाको पुनर्निर्माण सम्पन्न गर्ने दिशाामा अघि बढिरहेका छौं,’ जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले नागरिकसँग भने । क्षतिग्रस्त ५० प्रतिशतभन्दा बढी शैक्षिक संस्थाको पुनर्निर्माण सुरु भइसकेको उनले बताए ।
भूकम्पले जिल्लाका ५ सय ४७ सामुदायिक विद्यालयमध्ये ५ सय १५ पूर्णरुपमा ध्वस्त बनाएको थियो । ५ हजार ३ सय ४७ कक्षा कोठामा ४ हजार ७ सय ७२ नष्ट भएका थिए । शैक्षिक क्षेत्रमा २ अर्ब २० करोड ७६ लाख रुपैयाँ भौतिक नोक्सानी पुगेको थियो । एसियाली विकास बैंक, भारतीय र चिनियाँ दूतावास, विभिन्न २० राष्ट्रिय गैरसरकारी संस्था तथा शिक्षा विभाग सिन्धुको शैक्षिक संस्था पुनर्निर्माणमा जुटिरहेका छन् ।
    भूकम्पपछि तत्काल पढाइ सञ्चालन गर्न शिक्षा विभाग, विभिन्न संघसंस्था र स्थानीयको सहयोगमा १ हजार ३ सय ५४ अस्थायी सिकाइ केन्द्र बनेका थिए । पुनर्निर्माणपछि केही विद्यालय पक्की भवनमा सरिसकेका छन् भने धेरैको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । ठूलो संख्यामा भूकम्पप्रतिरोधी भव्य विद्यालय भवन निर्माण प्रक्रिया सुरु भएको जिशिअ भण्डारीले जानकारी दिए । उनका अनुसार जेठल गाविसका सबै तीन विद्यालय ‘सेमी पर्मानेन्ट’ भवनमा सञ्चालनमा आइसकेका छन् । कालिका गाविसको तीन र पिस्करको सबै पाँचवटा पक्की विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । जेठलका सबै पाँचवटा विद्यालयमा ट्रस्ट भवन निर्माण सम्पन्न हुने चरणमा छ ।
विभिन्न संघसंस्थाले ६ सय ७९ पक्की कक्षाकोठा बनाउन शिक्षा विभाग, शिक्षा कार्यालय र सम्बद्ध विद्यालय व्यवस्थापन समितिबीच त्रिपक्षीय सम्झौता भई पुनर्निर्माण प्रक्रिया सुरु भएको भण्डारीले बताए । त्यस्तै, २ सय ५५ कक्षाकोठा सेमी पर्मानेन्ट बनाउन र २ सय २१ ट्रस्टको कक्षाकोठा मर्मत गर्न सम्झौता भई काम अघि बढेको छ । ‘आइएनजिओले प्रत्यक्ष काम गर्न पाउँदैनन् । उनीहरुको आर्थिक सहयोगमा विभागको मापदण्ड र नीतिमा रहेर गैरसरकारी क्षेत्रले काम गरिरहेको छ,’ जिशिअ भण्डारीले भने ।
कार्यालयका अनुसार एसियाली विकास बैंक (एडिबी) को सहयोगमा शिक्षा मन्त्रालयको केन्द्रीय कार्यक्रम कार्यान्वयन इकाइले सुविधासम्पन्न ५३ पक्की विद्यालय भवन बनाउँदैछ । तीमध्ये ११ प्रावि भवन बनाउन इकाइले बोलपत्र आह्वान गरिसकेको छ भने इकाइले नै थप १२ प्रावि भवनको डिजाइन तयार गरी टेन्टर गर्ने तयारी थालेको छ । ‘अरु ३० विद्यालय छनोटपछि इकाइ भवन डिजाइनमा जुटिरहेको छ,’ भण्डारीले जनाए ।
उनका अनुसार चिनियाँ दूतावासले चार उच्च मावि भवन बनाउन प्रारम्भिक तयारी पूरा गरिसकेको छ । त्यस्तै, भारतीय दूतावासले १० विद्यालय भवन बनाउँदैछ । सम्झौताका लागि भारतीय प्रस्ताव सम्झौताका लागि मन्त्रालयमा पुगेको छ । दुवै दूतावास र केन्द्रीय कार्यक्रम कार्यान्वयन इकाइद्वारा बन्नै एउटै विद्यालय भवनको लागत न्यूनतम १० करोड रुपैयाँ हुने जिशिअ भण्डारी बताउँछन् । ‘इकाइले एउटा विद्यालय नमुनाका रुपमा पुनर्निर्माण गर्दैछ । त्यो छनोटसमेत भइसकेको छ,’ उनले भने ।
    ट्रस्टसमेत १ सय ४७ विद्यालय मर्मत सम्पन्न भई क्रमशः सञ्चालनमा आइरहेको शिक्षा कार्यालयले जनाएको छ । उसका अनुसार ५७ विद्यालय रेट्रो मर्मत भइरहेको छ । यसबाहेक शिक्षा कार्यालयको नियमित बजेटबाट ३८ वटा विद्यालयको सेमी पर्मानेन्ट भवन निर्माणाधीन छ । ‘आधा शैक्षिक संस्था पुनर्निर्माण अघि बढ्यो । अझै आधा विद्यालयको पुनर्निर्माण थाल्न चुनौती छ,’ आगामी तीन वर्षभित्र जिल्लाको शैक्षिक क्षेत्र पुनर्निर्माण सम्पन्न गर्ने कार्ययोजना अघि सारेको भण्डारीले जनाए । बर्खा, बाटोघाटो अभाव, भूकम्पले निम्त्याएको पहिरो, जग्गा अभाव र धाँजा चिराले कतिपय विद्यालय पुनर्निर्माण अघि बढाउन नसकिएको उनले बताए ।
भूकम्पले भवनसँगै फर्निचर, विद्यार्थीका पाठ्यसामग्री पनि क्षति भएको थियो । त्यस्ता १३ विद्यालयलाई कार्यालयले चालु वर्षमा १ लाख रुपैयाँको दरले फर्निचर उपलब्ध गराएको छ । थप ९ सय ९४ सेट फर्निचर बनाउन विद्यालयलाई ८ हजार रुपैयाँका दरले निकासा दिएको कार्यालयले जनाएको छ ।
भूकम्पले जिल्लाको शैक्षिक क्षेत्रमा सबैभन्दा बढी क्षति पु¥याएको थियो । विद्यालयका ८५ प्रतिशत शौचालय र ८७ प्रतिशत खानेपानी क्षतिग्रस्त बनेका थिए । भूकम्पले २७ शिक्षक, कर्मचारी (सहयोग) र ६ सय १२ छात्रछात्राको ज्यान लिँदा ७६ हजार ४ सय ७५ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका थिए ।
भूकम्पले ध्वस्त सिन्धुपाल्चोकको शैक्षिक क्षेत्रको आकस्मिक र पूर्वतयारी चरणमा विभागले १६ करोड रुपैयाँभन्दा बढी खर्च गरेको थियो । शिक्षा कार्यालयका अनुसार ध्वस्त विद्यालय भवनको खण्डहर पन्छाउन ४ करोड ३६ लाख ८० हजार, अस्थायी कक्षाकोठा निर्माणमा ४ करोड ५३ लाख २० हजार खर्च भएको छ । विद्यार्थीलाई १ करोड ९ लाख ११ हजारको पाठ्यपुस्तक र ६ करोड २३ लाख ६४ हजार रुपैयाँको पोसाक तथा झोला वितरण गरिएको थियो ।
 

 

प्रकाशित: १८ असार २०७३ ०४:३९ शनिबार

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय