समाज

अपराध दुनियाँका सनसनीपूर्ण पात्र

चार्ल्स शोभराज

विश्वभरका प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ‘विकिनी किलर’का नामले चर्चित चार्ल्स शोभराज २०६० मा नेपाल प्रहरीको हात लागे। त्यसयता १९ वर्षदेखि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका थिए। ‘वृद्ध उमेर’को कारण देखाउँदै सर्वोच्च अदालतले बुधबार उनलाई कैदमुक्त गर्न आदेश दिएको छ।

शोभराजले विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि अपराध कर्म गरेकै कारण अदालतले उनीमाथि आजीवन काराबासको सजाय सुनाएको थियो। सोहीअनुसार नेपाल प्रहरीले पक्राउ गरेर केन्द्रीय कारागारमा राखेको थियो। नेपालमा शोभराजले गरेको अपराध इतिहास हेर्न ४७ वर्षअगाडि फर्किनुपर्ने हुन्छ।

२०३२ पुस ६ गते भक्तपुरको साँगामा एक विदेशी नागरिक मृत फेला परेका थिए। त्यसको दुई दिनपछि कोटेश्वरमा अर्का विदेशी नागरिक मृत फेला परे। सुरूमा दुवैको परिचय खुल्न सकेन्। शव क्षतविक्षत थियो।

सो घटनापछि नेपालीमा विदेशी नागरिक र पर्यटकहरूमा व्यापक सन्त्रास फैलिएको थियो। त्यसक्रममा थुप्रै विदेशी नागरिक असुरक्षित महसुस गरेर स्वदेश फर्किएको त्यतिबेलाका जानकारहरूले बताउने गरेका छन्। त्यसपछि गरिएको प्रहरी अनुसन्धानमा हत्या भएका व्यक्तिहरू अमेरिकी महिला कोन्नी जो ब्रोन्चिज र क्यानडेली नागरिक क्यारिअरे लउरेन्ट रहेको खुलेको थियो। दुवैजना झोँछेको ओरिएन्टल लजमा बसेका थिए। उनीहरू दुवैको हत्यामा शोभराजको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो।

प्रहरीले उतिबेला शोभराजविरूद्धमा महत्त्वपूर्ण प्रमाण भेट्टाएको थियो। क्यानडेली नागरिक लाउरेन्टको कपडा शोभराजले प्रयोग गरेको गाडीमै फेला परेको थियो। शोभराज सोल्टी होटलमा बसेका थिए। प्रहरीले उनीसँग घटनाबारे सोधपुछ गरेको थियो। अनुसन्धानकै क्रममा रहेका उनी होटलबाट भागेका थिए। पछि आफैंले लाउरेन्ट र अमेरिकी नागरिक ब्रन्चिज प्रेमजोडी रहेको र एउटै कोठामा समेत बस्ने गरेको बयान दिएका थिए।

सोही मुद्दामा जिल्ला अदालत भक्तपुरले शोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर, उनी प्रहरीलाई छक्याउँदै फरार हुन सफल भए। मुद्दा फैसलाको २८ वर्षपछि नेपाल आउँदा २०६० सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

त्यो घटनाअघि नै शोभराज विश्व अपराध दुनियाँमा चर्चामा आइसकेको नाम थियो। त्यसको केहीसमय अघि मात्रै थाइल्यान्डमा चार जनाको सनसनीपूर्ण हत्या गरेर उनी नेपाल प्रवेश गरेको बताइन्छ। त्यसभन्दा अगाडि भारतमा गहना पसलेलाई झुक्याएर सुन चोरेर भाग्दैगर्दा पक्राउ परेपछि बिरामी भएको बहानामा लामो समय अस्पताल बसेर प्रहरीलाई छक्याउँदै भाग्न सफल भइसकेका थिए।

१९ वर्षमै अपराध, नेपालसँगको साइनो

चाल्र्स शोभराज जन्म ७८ वर्षअघि सन् १९४४ मा भियतनाममा भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। भारतीय बाबु र भियतनामकै आमाको अविवाहित जोडीबाट उनको जन्म भएको बताइन्छ। उनको जन्मको नाम चाल्र्स गुरुमुख शोभराज हो। जन्मपछिको बाल्यकाल फ्रान्समा बिताएको विभिन्न सञ्चार माध्यमले लेखेका छन्।

अविवाहित जोडीबाट जन्मिएपछि उनले राम्रो बात्सल्य नपाएर सानैदेखि फरक व्यवहार दर्साउने गरेको र सानातिना अपराधका गतिविधिमा लागेको बताइन्छ। यसैक्रममा १९ वर्षको उमेरमा फ्रान्सको एकघरमा चोरी गरेको घटना त्यहाँको प्रहरी रेकर्डमा रहेको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’ नामक पुस्तकमा उल्लेख छ। जसमा उनी पक्राउ परेर करिब एक वर्ष जेल बसेको बताइन्छ।

उनीबारेका अध्ययनहरूमा उल्लेख भएअनुसार त्यही जेल बसाई उनको अपराध दुनियाँ प्रवेशका लागि सबैभन्दा महत्त्वपूर्ण बन्यो। जहाँ उनले अन्डरवल्र्ड डन फिलिक्स इसकोन्जीलाई भेटे। त्यहाँबाट छुटेर फिलिक्ससँगै अन्डरवल्र्डका सदस्य भए। त्यही क्रममा फ्रान्सका ठूला धनाड्यको सूचना संकलन गरेर ठुलाठुला चोरीमा सफलता प्राप्त गरे।

यही क्रममा चान्तास नामक युवतीसँग प्रेम सम्बन्ध कायम गरी विवाहसम्म गरे। त्यसपछि प्रहरीले निगरानी बढाउन थालेपछि फ्रान्स छाडेर पूर्वीयुरोप बसेर अपराध गर्न थाले। त्यहाँ पनि सुरक्षित नदेपछि सन् १९७० मा भारतको मुम्बई आएको बताइन्छ। जहाँ सुरुमा इमान्दार बनेर काम गर्ने र पछि अपराध गर्न थालिहाले। यसैक्रममा उनी सुनचोरीको आरोपमा पक्राउ परेका थिए।

त्यहाँबाट भागेर उनी अफगानिस्तानको काबुल पुगेर त्यहाँ पुगेका विदेशी पर्यटक लुट्ने धन्दामा लागे। यसैक्रममा त्यहाँ पनि पक्राउ परेका थिए। त्यहाँपनि बिरामी भएको बहानामा अस्पताल गएर त्यहीँबाट भागेर भारत आए। त्यसपछि इरान, टर्की, ग्रिस, थाइल्यान्ड र नेपाल, इरानमा पुगेर अपराध कर्ममा लागिरहे। यसरी एकदेशबाट अर्को देशसम्म यात्रा गर्दा उनी चोरीको पासपोर्ट प्रयोग गर्थे।

यस्ता अपराधमा टर्कीको राजधानी इस्तानबुलमा रहेर उनका भाई एन्ड्री अपराध कर्म गर्थे। जहाँ शोभराजपनि जोडिएपछि उनीहरूको अपराधको साम्राज्य झन् बलियो भयो। पछि ग्रिसबाट एन्ड्री समातिएर १८ वर्ष जेल सजाय भोगेका थिए।

त्यहाँबाट भागेर थाइल्यान्ड पुगेका शोभराजले लगातार चारजना पर्यटकको हत्या गरेको बताइन्छ। सोही घटनापछि उनको नाम झन् बढी चर्चामा आएको थियो।

थाइल्यान्डबाट हत्या गरिएका तिनै पर्यटकको पासपोर्ट बोकेर भारत पुगे। त्यहाँ पुगेर भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग दोस्ती गरेर त्यसपछि भारत, नेपाल र मलेसियामा दर्जनौं आपराधिक काम गरेका थिए। त्यही क्रममा नेपालमा विभिन्न तीन हत्याका घटनामा उनको नाम जोडिन्छ। यसक्रममा विभिन्न देशमा २० जनाभन्दा बढीको हत्या गरेको बताइन्छ।

उता यही समयमा युवतीसहित भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीहरूलाई झुक्याउँदै गाइड बनेर हत्या प्रयास गरेकोलगायतका सानातिना मुद्दामा भारतमा १० वर्षका लागि काराबास सजाय पाएका थिए। उनलाई तिहाड जेलमा राखियो। जुन भारतको सबैभन्दा ठूलो जेल पनि हो।

तिहाड जेलमा आफ्नो बर्थ-डे मनाउने भन्दै कारागारका सुरक्षाकर्मीलाई बोलाएर भव्य पार्टी दिए। सो क्रममा बेहोस हुने औषधि मिसाइएको केक र अंगुरमा खुवाएर त्यहाँबाट फरार भएका थिए। त्यसअघि पनि उनी अफगानिस्तान, ग्रिस, थाइल्यान्ड, सिंगापुर र पेरिसलगायतका नौ देशका जेल र प्रहरी थुनाबाट पनि यसैगरी फुत्केर भागिसकेका थिए यसरी भागेका शोभराजलाई गोवा प्रहरीले पुनः पक्राउ गरेर जेलका राखेको थियो। जहाँबाट कैद सजाय भुक्तान गरेर सन् १९९७ मा छुटेका थिए।  

भारतबाट छुटेपछि सोहीवर्ष फ्रान्स गए। त्यहाँबाट फेरि जन्मस्थान भियतनाम गएर पाँच वर्ष सामान्य नागरिक भएर बसे। त्यसपछि सन् २००३(वि.स. २०६०)मा आफ्नै पासपोर्टमा नेपाल आए। यही क्रममा पक्राउ परेर केन्द्रीय कारागारमा राखिएको थियो।

केन्द्रीय कारागारमा हुँदा उनले नेपाली महिला निहिता विश्वाससँग विहे समेत गरेका छन्। निहीता शोभराजकी वकिल रहेकी सकुन्तला थापाकी छोरी हुन्। जेलभित्र सिन्दुर हालेर निहितासँग उनको बिहे भएको थियो। यसैक्रममा मुटुको समस्या हुँदा शल्यक्रिया गर्दा निहीताले रगतसमेत दिएकी थिइन्।

यसपटक गोपाल सिवाकोटीले दिएको ‘बन्दी प्रत्यक्षीकरण रिट’मा श्रीमती निहितासहित सासु शकुन्तला थापा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र रामबन्धु शर्माको शोभराजको पक्षमा बहस गरेका छन्। उनीहरूको बहसपछि अदालतले उनलाई कैदमुक्त गर्ने आदेश दिएको हो।

कारागारमा रहँदा पनि चर्चामा

१९ वर्ष केन्द्रीय कारागारमा रहँदा पनि उनी चर्चामा भइरहे। उनले त्यहाँबाट पटक-पटक भाग्ने योजना बनाएको पनि चर्चा हुनेगरेको थियो। तर, भाग्न सकेनन्। यही क्रममा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको चर्चा भइरह्यो। उनले कारागारभित्रै सेटिङ मिलाएर विभिन्न देशमा फोन गर्ने गरेको खुलासा भइरह्यो। यसै क्रममा विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अन्तर्वार्ता दिनसमेत भ्याएका थिए। जसमा उनको जेलजीवन र आगामी योजनाबारे कुराकानी गरिएको थियो। यस्तै एउटा सञ्चार माध्यमसँगको अन्तर्वार्तामा उनले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराइदिन्छु भन्ने विवादित अभिव्यक्ति दिएइका थिए।

यही जेल बस्दा विभिन्न अन्तर्राष्ट्रिय अन्डरवल्र्ड गिरोहका सदस्यसँग सम्पर्कमा बसेको, कुराकानी गरेको लगायतका चर्चा हुने, सूचना चुहिने पनि हुँदै आएका थिए।

शोभराज विश्व अपराध दुनियाँमा यति चर्चित नाम होकी उनीबारे तमाम अन्तर्राष्ट्रिय जर्नलमा लेखिएका छन्, अन्तर्वार्ता छापिएका छन्। भारतीय जेलमा हुँदा प्रसिद्ध लेखक रिचार्डने र जुली ल्याबले चाल्स शोभराजको जीवनी नै लेखेका छन्। सन् १९७९ मा लेखिएको ‘लाइफ एण्ड क्राइम आफ चाल्र्स शोभराज’मा शोभराजको अन्तर्वार्ता छापिएको छ। बेलायती सञ्चार संस्था बिबिसीले त चाल्र्स शोभराजबारे टेलिफिल्म नै बनाएर प्रसारण गरेको छ। जसको नाम ‘द सेरपेन्ट र द बिकिन किलर’ छ।

प्रकाशित: ७ पुस २०७९ ००:४५ बिहीबार

अपराध दुनियाँका सनसनीपूर्ण पात्र कारागारमा रहँदा पनि चर्चामा