समाज

धादिङमा माइक्रो र बस ठोक्किँदा एक जनाको मृत्यु १५ जना घाइते

तस्बिर: जिल्ला प्रहरी कार्यालय धादिङ।

काठमाडौँबाट लमजुङ बेसिशहर जाँदै गरेको माइक्रो धादिङमा एक बससँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब साढे १ बजे तिर गजुरी गाउँपालिका–२ बिहानीपम्पस्थित पृथ्वी लोक मार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। 

उनका अनुसार काठमाडौँबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्। माइक्रोमा सवार अन्दाजी २८/३० बर्सिया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

उनको सनाखत भने भएको छैन। उनको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै, माइक्रोमा सवार ११ जना र बसमा सवार चार जना गरी १५ जना घाइते छन्।

प्रकाशित: ५ पुस २०७९ ११:१४ मंगलबार