समाज

आज १५ असार, किसानलाई रोपाइँको चटारो

भुसुण्डेफाँटमा रोपाइँ गर्दै किसान ।

गोरखा–छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए।

कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बिउ रोपरिरहेकी थिइन्। चर्को घाममा बेलाबेला रुखको छाहरीमा राखिएको ग्रागाको पानीले घाँटी भिजाउँदै किसान धमाधम रोपाईं गरिरहेका देखिन्थे। अघिल्लो साल खडेरीले सबै खेतमा धान रोप्न नपाएका किसान अहिले बेलैमा वर्षा भएपछि खुसीले खेती लगाउनमा ब्यस्त छन् ।
 

समयमै वर्षा भएपछि हिजोआज दरौँदी फाँट, भुसुण्डे, मनकामनाबेसी, टाँरीफाँट, आरुपोखरी जस्ता गोरखाका ठूला फाँटमा किसानलाई खेती लगाउनको चटारो छ। ‘दिनदिनैजसो पानी परेको छ’, स्थानीय सुरेश कुमालले भने, ‘यस वर्ष अघिल्लो पटक नरोपिएको टारी खेत पनि रोपिने भो।’ वर्षभरी खाने धान रोप्नै नपाउँदा उनले गत वर्ष चामल बेसाएर खानुपर्यो । अहिले पानी पुग्ने भएपछि धमाधम खेती लगाएका छन्।

खेत रोप्न मध्य सिजन सुरु भएको  छ। किसानले गाउँमा खेतला नपाउँदा समयमै खेत रोपेर नसक्ने गुनासो गर्छन। खोप्लाङ– ६ कि पद्य्कुमारी अधिकारीले भनिन्, ‘छोरा मान्छे ज्यालामा खोज्दा पनि पाँइदैन, गोरु जोत्न निकै समस्या हुने गरेको छ।’ रोपाईं गर्दा पुरुषले आली लगाउने, बाउसे गर्ने, खेत जोत्ने, सम्याउने र महिलाले बिउ काडेर रोप्न चलन छ। गाउँका सबै युवा पुरुष विदेशमा रहेकाले खेत जोत्ने बाहेका सबै काम महिलालले गर्छन्। अधिकारीले भनिन्, ‘ज्याला दिएर पनि मान्छे पाँइदैन, एकै दिन सक्ने मेलो हप्ता दिन लगाएर गर्नुपरेको छ।’

एक हल गोरुसहित एक जना पुरुषले एउटा मेलाको एक हजार दुई सय रुपैयाँ पाउँछन्। आली लगाउने पुरुषले पाँच सय र धानको बिउ रोप्ने महिलाले चार सय रुपैयाँ पाउँछन्। अहिले ज्यालामा भन्दा पनि अर्मपर्ममा खेती लगाउने चलन बढेको छ। खेत रोप्दै गरेकी सावित्री चुँदाराले भनिन्, ‘आफ्नो पनि खेत रोप्नुपर्यो, अहिले पर्म लगाएन भने आफ्नो पनि बाँझै बस्छ, त्यसैले पालो लगाउन आएकी हुँ।’

भूकम्पले घर भत्किएर टहरामा बसेका किसान अहिले घर बनाउन छाडेर खेती लगाउनमा ब्यस्त छन्। सरकारले घर बनाउन पैसा दिने भन्दै अनुदान सम्झौता करिब ४० गाविसमा सकिसकेको छ। केही गाविस पैसा पीडितको खतामासमेत जम्मा भएको छ। तर उनीहरुले अझै झिकेर घर बनाउन समय पाएका छैनन ।

 

प्रकाशित: १५ असार २०७३ ०४:२६ बुधबार

१५ किसानलाई रोपाइँको चटारो