समाज

अवरुद्ध भएको पाँच महिनापछि बस्यो डुडुवाको गाउँसभा

बाँकेको डुडुवा गाउँपालिकाको सोमबार सुरु भएको गाउँ सभा। तस्बिर: नागरिक

अवरुद्ध भएको पाँच महिनापछि बाँकेस्थित डुडुवा गाउँपालिकाको गाउँ सभा सोमबार बसेको छ।

गाउँपालिकाको १२ औँ सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालु आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे। उक्त सभामा ६५ करोड ३१ लाख ९३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिकाले कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधि भाषा र उर्दु भाषाको संरक्षणका लागि मातृभाषाका गुरु/शिक्षक/सहजकर्ता मार्फत मातृ भाषाको संरक्षण र विकासमा जोड दिने, एसइई उत्तीर्ण भएका डुडुवा गाउँपालिकाका सबै छात्रालाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना जस्ता महत्त्वपूर्ण योजनाको प्रस्ताव गरेको छ।

यसअघि एमाले र जनता समाजवादी पार्टी (जसपा) का जनप्रतिनिधिले सभा सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। समयमा गाउँ सभा नहुँदा सबै सेवा ठप्प थिए। केही दिन अघि भएको सहमति अनुसार सोमबारका लागि सभा डाकिएको हो। सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, वडा नम्बर १ देखी ६ सम्मका वडाअध्यक्ष र वडासदस्यहरुको उपस्थिति रहेको थियो।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित नेपाली काँग्रेसले एउटा मात्र वडा जितेको थियो। कुल ६ वटा वडा रहेको गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले ३ र नेकपा एमालेले २ वटा वडा जितेको थियो।

गत असारमा तीन पटक गाउँ सभा र ६ पटक कार्यपालिका बैठक आव्हान गरेपनि जसपा र एमालेका जनप्रतिनिधिले ‘बहुमतको दम्भ’ देखाएर सभा अवरुद्ध गरेको अध्यक्ष चौधरीको आरोप थियो। जसले गर्दा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सभाले स्वीकृत नगर्दा कर्मचारीले पाँच महिनाको तलब खान पाएका थिएनन्, भने गाउँपालिकाले अत्यावश्यक सेवा र विकास निर्माणका कार्यहरू अगाडी बढाउन सकेको थिएन।

तलब खान नपाउँदा कर्मचारी तथा शिक्षकले आन्दोलन समेत गर्नु परेको थियो। प्रस्तुत नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न मंगलबार दिउँसो २ बजे पुनः गाउँ सभा बोलाइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिएका छन्।

प्रकाशित: ४ पुस २०७९ १६:२१ सोमबार