समाज

नगरको नालामा स्ल्याब राख्न नगरपालिकाको निर्देशन

रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रमा निर्माण भएको नालामा स्ल्याब राख्न निर्देशन दिएको छ। सहरी विकास डिभिजन कार्यालयले गौर नगरपालिकामा निर्माण कार्य सम्पन्न भइसकेको तर खुल्लै रहेको नालामा स्ल्याब राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।

नगर प्रमुख शम्भु साहले डिभिजन कार्यालयलाई नालामाथि स्ल्याब राखी सुरक्षित बनाउन ताकेता गर्दै आएका थिए। नालामा कुनै दुर्घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी डिभिजन कार्यालय र सम्बन्धित निर्माण व्यवसायीको हुने भन्दै नगर प्रमुखले चेतावनी दिँदै आएका थिए।

स्ल्याबको अभावमा नालाहरु खुल्लै हुँदा फोहोर हुँदै गएको छ। मानिस तथा चौपाया खसेर घाइते समेत हुने गरेको नालामा कहिलेकाहीँ साइकल तथा मोटरसाइकल यात्रुलाई कठिन हुने गरेको छ। यसै गरी नाला खुल्ला हुँदा सडक साँघुरो भएको पनि स्थानीयको आरोप रहेको छ। फोहोरले दुर्गन्धित नालामाथि स्ल्याब राख्दा लामखुट्टे पनि कम हुने स्थानीयवासीको भनाइ छ।

डिभिजन कार्यालयले दिएको निर्देशन सकारात्मक भए पनि निर्देशनलाई कार्यान्वयन नहुँदासम्म जोखिम कायम रहेको नगर प्रमुख साहले प्रतिक्रिया दिएका छन्।

प्रकाशित: ४ पुस २०७९ १२:४९ सोमबार