समाज

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

महाशाखाका अनुसार दंगालले भुकम्पपीडित कोटामा  जापान, क्यानाडा, अमेरिका लगायतका देशहरुमा  पठाइदिन भन्दै  आठ जना युवायुवतीबाट २४ लाख ३० हजार असुली गरेका थिए। उनले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट  ५ लाख, सगुन मानान्धरबाट २ लाख, छिरिङ तामाङबाट १ लाख, राम बहादुर तामाङबाट  १ लाख, खुदनाथ घोडासैनिबाट  ४ लाख ४० हजार, विकाश तामाङबाट ३ लाख र सितामाया तामाङबाट  ३ लाख ४५ हजार उठाएको खुलेको छ ।

महाशाखाका अनुसार  दंगालले जोतिषी सिद्धान्तमा पिएचडी, संस्कृत र  फलादेशमा आचार्य पास तथा एमएस्सी र एमडि डिग्री प्राप्त गरेको दाबी गर्दै आएका छन्। उनी कास्की र  रुपन्देही जिल्लामा पूर्व जिल्ला शिक्षा अधिकारी समेत रहेको प्रहरीले जनाएको छ।
द्वन्द्व कालमा विस्तापित भई अमेरिकामा ४ वर्ष बसेर अमेरिका,जापान,क्यानाडामा सम्पर्क स्थापित गर्न सफल भएपछि दंगाल नेपाल फर्केर विदेश पठाउने धन्दामा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

महाशाखाका एसपी सहकुल थापाका अनुसार दंगालले हालसम्म सम्पर्कको आधारमा ७ जनालाई अमेरिका पठाइ सकेका छन्। उनका अनुसार अमेरिका,जापान,क्यानाडामा एजेन्ट राखेर विदेश पठाउने धन्दामा लागेका दंगाल यसपटक असफल भएपछि प्रहरी फन्दामा परेका हुन्।

दंगालले  अमेरिकाको  लागि १६ लाख, क्यानाडाको लागि १२ लाख र जापानको लागि रु १० लाख रेट समेत तोकेका थिए। महाशाखाले दंगालबाठ ठगिएकापीडित बढन सक्ने जनाएको छ ।

प्रकाशित: १३ असार २०७३ १०:४३ सोमबार

अमेरिका क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ