समाज

काठमाडौंमा भारतीय सैन्य टोली

भारतीय सेनाका ‘आर्मी ट्रेनिङ कमान्ड चिफ अफ स्टाफ’ लेफ्टनेन्ट जनरल जेएस सन्धुसहितको टोली आइतबार काठमाडौं आएको छ।

नेपाल सरकार र भारत सरकारबीच सम्पन्न सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहका बैठकमा सम्झौता भएअनुसार स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गर्न भारतीय सेनाका उच्च अधिकारीहरूको टोली यहाँ आएको नेपाली सेनाले जनाएको छ।  

सम्झौतामा दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरूले एकअर्काको देशको स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गर्ने उल्लेख छ।  

भ्रमण दललाई सेनाको नं.१४ बाहिनीका बाहिनीपति सहायक रथी विनोद खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। पुस ९ गतेसम्म हुने भ्रमणका क्रममा लेफ्टनेन्ट जनरल सन्धुले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने छन्।  

त्यस्तै भारतीय टोलीले कमान्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पश्चिम पृतना हेडक्वार्टर, नेपाली सैनिक व्याटल स्कुल तथा धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ। 

प्रकाशित: ४ पुस २०७९ ००:५५ सोमबार