समाज

माइक्रोनेसियामा अलपत्र सातको उद्धार

काठमाडौं- मानव तस्करको प्रलोभनमा परी पूर्वी प्रशान्त क्षेत्रमा अवस्थित टापु राष्ट्र माइक्रोनेसिया पुगेका १६ नेपालीमध्ये सात जनालाई मलेसियास्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ। उनीहरूलाई शनिबार नेपाल फर्काइएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार मानव तस्करहरुले मोटो रकम लिई उनीहरूलाई अस्ट्रेलिया र अमेरिका पठाइदिन्छु भन्दै माइक्रोनेसिया पुर्‍याएका थिए। उनीहरूलाई मलेसिया र इन्डोनेसिया हुँदै डुंगामा माइक्रोनेसिया पुर्‍याएर समुद्री क्षेत्रमा कागजातविहीन अवस्थामा छाडेका थिए। उनीहरूलाई माइक्रोनेसिया प्रहरीले पक्राउ गरेपछि घर फिर्ती केन्द्रमा राखिएको थियो। त्यसपछि छानबिन तथा प्रक्रिया पूरा गरी उनीहरूलाई निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी स्वदेश फर्काइएको हो।

उद्धार गरी स्वदेश फर्काइएका नेपालीमा पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रबिन लामा, स्याम्युल तामाङ र जयराम वाइबा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सन्जिम राई र धनुषाका अमितकुमार साह छन् । माइक्रोनेसियामा अलपत्र १६ मध्ये केहीले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) समक्ष शरणका लागि आवेदन गरेको दूतावासले जनाएको छ।

प्रकाशित: १३ असार २०७३ ०१:५६ सोमबार

माइक्रोनेसियामा अलपत्र सातको उद्धार