समाज

आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीको भविष्यमाथि खेडवाड गर्दै शिक्षक

जिल्लाभरका सामुदायिक विद्यालय बन्द गराएर जिशिका धनुषामा धर्ना बसेका अस्थायी शिक्षक । तस्बिरः सुरेश यादव

जनकपुर–धनुषा र महोत्तरीका अस्थायी शिक्षकले आफ्नो फायदा प्राप्ति गर्ने होडमा विद्यार्थीको भविष्यलाई लत्याउँदै आफैले विद्यालय बन्द गराउँदै हिँडेका छन्।
समान्य प्रक्रियाद्वारा आफूहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलित शिक्षकहरुले आइतबार दुई जिल्लाको विद्यालय बन्द गरी जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका हुन् ।
अस्थायी शिक्षकको आन्दोलन देशव्यापी भएपनि जिल्ला पिच्छे आ–आफ्नै शैलीमा विरोधको कार्यक्रम गरिरहेको अस्थायी शिक्षक आन्दोलन समितिका धनुषा अध्यक्ष आमोद झाले जनाए। अन्य जिल्लाहरुमा कतै हालसालै पारित भएको विधेयकको प्रतिलिपि जलाएर त कतै सरकारको विरोध गरेर आन्दोलन गरिएपनि धनुषा र महोत्तरीमा विद्यालय बन्द गराएको उनले बताए।
‘अस्थायी शिक्षक राष्ट्रिय आन्दोलन समितिले जिल्ला तताउँदै आन्दोलनलाई केन्द्रसम्म पुर्याउन निर्देशन दिएकाले सोही अनुसार हामी धनुषा र महोत्तरीका शिक्षक साथीले जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएका हौं’, झाले भने। उनले वर्षौदेखि आफूहरुले झेलिरहेको समस्या समाधान गर्न पठनपाठन अवरुद्ध गराउनुको विकल्प नभेटेको ढिपी गरे।
विभिन्न मितिमा अन्यान्य प्रक्रियाद्वारा नियुक्त भएका अस्थायी शिक्षकलाई समान्य प्रक्रियामार्फत स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले लिने परीक्षामा अयोग्य ठहरिने शिक्षकलाई पनि स्थायी शिक्षक सरह ‘गोल्डेन ह्याण्डसेक’ योजनामा समेट्नुपर्ने र अस्थायी शिक्षकलाई व्यवस्थित गर्ने विषयमा कुनै शर्त राख्न नहुने लगायत माग उनीहरुको छ।
गर्मीको कारण बिहानी कक्षा चलिरहेको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरी जिल्ला शिक्षा कार्यालयमा धर्ना बसेका शिक्षकले आन्दोलनमा सबै दलसँग आवद्ध शिक्षक संगठनहरुको साथ मागेका छन्।
‘यो मुलुकमा संघर्षकै कारण राजतन्त्रलाई विस्थापित गरी गणतन्त्र कायम भएको छ’ बनिनियाँ उच्च माविका प्रधानाध्यापक एंव अस्थायी शिक्षक संघर्ष समितिका पूर्व सचिव सुरेश यादवले धर्नामा बसेका शिक्षकलाई सम्बोधन गर्दै भने, ‘चुनौति त छ तर, तपाइहरुले हार मान्नु भएन। निरन्तर संघर्ष गरिरहनुस्, हाम्रो पूर्ण साथ रहनेछ।’ अन्य विद्यालयका प्रधानाध्यापक तथा विभिन्न दलसँग आवद्ध शिक्षकहरुले पनि विद्यालय बन्द गरी आन्दोलन गर्ने शिक्षकलाई साथ दिने वचनबद्ध भएका छन् ।
धनुषाका निमित्त जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले कुनै व्यक्ति÷संस्थाले कुनै पनि बहानामा विद्यालय बन्द गराउन नपाउने बताउँदै आइतबार बन्द गराउने कार्यको नेतृत्व लिने शिक्षकहरुलाई कारवाही गर्ने जनाएका छन् ।
‘जिल्ला शिक्षा कार्यालय मार्फत रहेका विद्यालय निरिक्षक र स्रोतव्यक्तिहरु मार्फत विद्यालय बन्द गराउने शिक्षकको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउँछौं’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी दिलिप चापागाइँले भने विद्यालय बन्द भएको बारे शिक्षा अधिकारीले जानकारी नगराएको गुनासो गरे। ‘शिक्षकले आफ्नो अधिकार प्राप्तिको लागि आन्दोलन त गर्न पाइहाल्छन् । तर, विद्यार्थीको पढ्न पाउनुपर्ने अधिकार खोस्नु भएन नि !’ प्रजिअ चापागाइँले नागरिकसँग भने, ‘जबरजस्ती विद्यालय बन्द गराइएको छ, अहिले (आइतबार साँझ) सम्म अधिकारीले जानकारी नै गराएका छैनन् अनि कसरी कारवाही गरौं ?’
उनले विद्यालयलाई पूर्ण शान्ति क्षेत्र कायम राख्न सम्पूर्ण सरोकारवाला व्यक्ति, संस्था र निकायले जिम्मेवार भएर क्रियाशिल हुनुपर्ने बताए । ‘आजको घटना त ढिलो मात्रै सुनें’ उनले थपे, ‘आइन्दा यस्तो घटनो दोहोरियो भने, कसैलाई छाडिदैन ।’

 

प्रकाशित: १२ असार २०७३ ११:२७ आइतबार

आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीको भविष्यमाथि खेडवाड गर्दै शिक्षक