समाज

स्कुल बनाउने बालुवा लिन गएकी चेपाङ बालिकाको ढिस्कोले पुरिएर मृत्यु

चितवन–चितवनको विकट पहाडी गाविस लोथरको वडा नं. ७ स्यामराङमा विद्यालय बनाउन बालुवा लिन गएकी एकजना चेपाङ बालिकाको ढिस्कोले पुरेर निधन भएको छ। स्यामराङको दुङबाङ राष्ट्रिय प्रथामिक विद्यालयको भवन भनाउने बालुवा लिन गएकी सोही स्कुलमा कक्षा पाँचमा पढ्ने  होमरी प्रजा चेपाङको निधन भएको प्रधानअध्यापक अतिबल चेपाङले जानकारी दिए ।

बालिकालाई शनिबार दिउँसो ढिस्कोले च्यापेको थियो । चितवन जिल्ला प्रहरी कार्यालयले भने घटनाको बारेमा कुनै जानकारी नआएको बताएको छ । जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा बन्ने भवनका लागि  सबै गाउँलेले मिलेर बालुवा ओसारिरहेका छन् ।१४ वर्षीया होमरी पनि बालुवा लिन विद्यालयबाट करिब १ घण्टा टाढा गएकी थिइन् ।

शनिबार दिउँसो २ बजेतिर एक्कासी ढिस्को झरेर उनलाई पुर्यो । गाउँलेले उद्दार गरी घरसम्म ल्याएपनि तत्कालै अस्पताल पु¥याउन नसक्नाले उनको ज्यान गएको प्रधानाध्यापक चेपाङले जानकारी दिए । अति नै विकट भएकाले स्यामराङबाट तुरुन्तै अस्पतालसम्म ल्याउन सकिन्न । पूर्वी चितवनको भण्डाराबाट उत्तर तर्फगाडीमा तीन घण्टा कच्ची सडकको यात्रा र त्यसपछि पनि  पैदल ३ घण्टा नै हिडेपछि बल्ल स्यामराङ पुगिन्छ ।
विद्यालय भवन बनाउने बालुवा बोक्नेले पाथीको ४० रुपैयाँ ज्याला पाउने गर्छन् । सोही ज्यालाको आशाले विदाको दिन होमरी पनि बालुवा बोक्न गएकी थिइन् ।

 

प्रकाशित: १२ असार २०७३ ०६:२० आइतबार

स्कुल बनाउने बालुवा लिन गएकी चेपाङ बालिकाको ढिस्कोले पुरिएर मृत्यु