समाज

बंशिलाघाटमा पक्की पुल बन्ने

बंशीलाघाटमा पुल शिलान्यास कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रदेश मन्त्री रामकुमार राई तथा उदयपुर र खोटाङका प्रदेश सांसदहरु राजन किराँती र भूपेन्द्र राई। तस्बिर:महेश्वर

उदयपुर र खोटाङ सीमा नदी सुनकोसीको बंशिलाघाटमा पक्की पुल निर्माण हुने भएको छ। उदयपुरतर्फ शिवाई–बेलटार हुँदै खोटाङको चिसापानी–दिक्तेल जोड्ने सडक खण्डमा पर्ने बंशीलाघाट चौदण्डीगढी नगरपालिका १ र खोटाङतर्फ बाराहापोखरी गाउँपालिका ६ मा रहेको छ।  

चौदण्डीगढी नगरपालिकाका निवर्तमान प्रमुख खगेन्द्र राईका अनुसार सो पुल निर्माण गर्ने सम्झौता ०७५ सालमै भएको थियो। तर, ठेकेदार कम्पनीले नै पुलको प्राविधिक इस्टीमेट र डिजाइनसमेत बनाएर निर्माण गर्ने योजना भएकाले अहिले मात्र शिलान्यास भएको चौदण्डीगढीका पूर्व नगरप्रमुख खगेन्द्र राईले बताए। बन्न लागेको पक्की पुलको शुक्रबार दिउँसो परराष्ट्रमन्त्री तथा उदयपुर निर्वाचन क्षेत्र १ का नवनिर्वाचित सांसद डा. नारायण खड्काले शिलान्यास गरे।  

प्रदेश १ खानेपानी, सिंचाई तथा उर्जामन्त्री एवं खोटाङबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ), उदयपुर १ (क) का प्रदेश सांसद राजन किराँती (बासु), खोटाङ (ख) का सांसद भूपेन्द्र राई, चौदण्डीगढी नगरप्रमुख कालुमान लामा, पूर्व प्रमुख खगेन्द्र राई तथा दुवै जिल्लाका सम्बन्धित वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा डा। खड्काले पुलको शिलान्यास गरेका हुन्।  

पुल शिलान्यास गर्दै मन्त्री खड्काले आफूलाई पुनः जिताएर पठाएका मतदाताको सम्मान गर्दै विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। पुल, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत योजनाहरू आफुले प्राथमिकतामा राखेको बताउँदै खड्काले योजना कार्यान्वयन गर्न सबै पक्ष तत्पर रहन आग्रह गरे।  

खोटाङका सांसद तथा प्रदेश खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रामकुमार राईले बंशीलाघाटमा पुल बनेपछि उदयपुर र खोटाङ मात्र नभएर सप्तरी, सुनसरी, मोरङलगायत दक्षिणी भेगका जिल्लादेखि भोजपुरलगायत छिमेकी जिल्लाबासीलाईसमेत आवागमन गर्न सहज हुने बताए। सप्तरीको फत्तेपुरसँग जोडिएको शिवाई र बेलटार हुँदै चिसापानी भएर सदरमुकाम दिक्तेल पुग्ने। सडक भएकाले बंशीलाघाटको पुलको अत्यन्त महत्त्व हुने मन्त्री राईको भनाई थियो।  

कार्यक्रममा विशेष अतिथि प्रदेश सांसदहरु राजन किराँती, भूपेन्द्र राईलगायतले पुल चाँडै निर्माण गरेर सो सडकलाई दोहोरो आउजाउको नाका बनाउनुपर्ने बताए। कार्यक्रममा सडक विभागका महानिर्देशक (डिजी) अर्जुनजङ थापा, उपमहानिर्देशक उमेशबिन्दु श्रेष्ठ, पुल सेक्टर १ धरानका प्रमुखलगायतको उपस्थिति थियो।  

१ सय ५० मिटर लामो र ११ मिटर चौडाईको उक्त पुल निर्माणको रेखदेख पुल सेक्टर १ धरानले गर्नेछ। उक्त पुलको काम एमएस कालिका÷वेदांसी जेवीले निर्माणको जिम्मा लिएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) सहित १९ करोड १८ लाख ४१ हजार ४ सय रुपैँयामा निर्माण हुने उक्त पुल सम्झौता मिति ०७९ मंसिर १ गतेदेखि ३३ महिना अर्थात साढे ३ वर्षभित्र बनाईसकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सेक्टरले जनाएको छ।  

प्रकाशित: २ पुस २०७९ १४:२० शनिबार