समाज

किसानको घाउमाथि उपमेयरको नुनचुक

मलखादको चरम हाहाकार भएको बेला रौतहटको एक नगरपालिकाको उपप्रमुखले डिपोलाई खाद उपलब्ध नगराउन पत्राचार गरेको पाइएको छ। रौतहटको वृन्दावन नगरपालिकाकी उपप्रमुख संगीता कुमारी रामले नगरपालिकाको सिफारिशमा किसानको लागि आउने मलखाद विक्री वितरणमा रोक लगाएको पत्र सार्वजनिक भएको छ।  

किसानले लेट भेराइटीको गहुँ खेतमा छरिरहेको तथा अर्लि भेराइटीको उम्रिसकेको गहुँमा सिंचाइ गरिरहेकाले रासायनिक मलखादको अत्यन्त धेरै माग रहेको छ तर किसानलाई गहुँसँगै खेतमा छर्न डिएपि तथा सिँचाइसँगै युरिया मल पाएका छैन्न्। बजारमा डिएपि र युरिया दुवै किसिमका रासायनिक मलको चरम अभाव भएको देखिएको छ।  

रासायनिक मलको चरम अभाव भएको समयमा किसानहरुले भारतबाट आएको मल करिब दोब्बर मूल्यमा किन्न बाध्य छन्। तर बजारमा भारतीय मलको पनि अभाव देखिएको छ। सर्वसाधारण किसानले गहुँबालीमा मल हाल्न नपाइरहेको अवस्थामा आपसी विवादका कारण उपप्रमुख रामले रासायनिक मल रोक्का गरेपछि किसान झन् मर्कामा परेका छन्।  

वृन्दावन नगरपालिकामा नगर प्रमुख विनोद प्रसाद कुर्मी र उपप्रमुख रामबिच विवाद रहेको छ। प्रमुख तथा उपप्रमुखबिच सम्वाद हुन समेत रोकिएको छ। उपप्रमुखले आफूसित नगर कार्यपालिकाको बहुमत रहेको भन्दै नगरपालिकाको कुनै पनि कार्यक्रम संचालन हुन नदिने धम्की दिने गरेको नगर प्रमुख कुर्मीको भनाइ छ।  

पहिलेदेखि नै बिना योजना तिन करोड रुपैया आफूखुसी खर्चको लागि उपप्रमुख रामले माग्दै आएकोमा आफूले योजना बनाएर पालिकाको बैठकमा प्रस्तुत गर्न भनेपछि रिसाएको प्रमुख कुर्मीको भनाइ छ।  

उपप्रमुख रामले भने प्रमुख कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले उपप्रमुखलाई सबै काममा बाइपास गरी आफूखुसी काम गरिरहेको र नियमानुसार विकास निर्माणको काम गर्न भनेपछि आफूविरुद्ध खनिएको आरोप लगाउँदै आएकी छन्।  

मलखाद तथा कृषिसम्बन्धी समितिको संयोजकमा नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुखलाई जानकारी नै नगराई नगर प्रमुख कुर्मी, कार्यालय प्रमुख भुजेल र कृषि शाखा प्रमुख ओमप्रकाशले कृषिसम्बन्धी निर्णय गरेको थाहा पाएपछि आफूले जानकारी माग्दा पनि नदिएपछि चिठी लेख्न बाध्य भएको उपप्रमुख रामको भनाइ छ।  

उपप्रमुख रामले साल्ड ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय गौरको नाममा पत्र लेखे पनि नगरपालिकाको दर्ता चलानी फाँटका कर्मचारीले चलानी रजिस्टर नै लुकाएको र पत्र दर्ता नै गराउन नसकेको बताएकी छन्।  

नगर प्रमुख र उपप्रमुखको विवादले नगरपालिकाको विकास निर्माण कार्य करिब ठप्प रहेको अवस्थामा किसानले सरकारबाट अनुदान सहयोगमा पाएको केही सहुलियतको गुणस्तरीय रासायनिक मल पाउनबाट वञ्चित हुँदा किसानको घाउमा उपमेयरले नुनचुक दलेर मर्माहत पारेको किसानहरुको भनाइ छ।  

नगर प्रमुख र उपप्रमुखको आपसी स्वार्थमा किसानहरु पीडितमाथि झन् पीडित बन्न पुगेको किसानहरुको भनाइ छ।  

प्रकाशित: २ पुस २०७९ १३:५७ शनिबार