समाज

लुम्बिनीमा आत्महत्याका घटना बढ्दो

लाँउलाँउ र खाँउखाँउ भन्ने कलिलो उमेरमै रुपन्देहीको कञ्चन गाउँपालिका लौसाकी १८ वर्षीय दिक्षाले गत भदौमा डोरीको पासो लगाइ आफ्नो जीवनलिला समाप्त पारिन।

बुटवलको एक सामुदायिक स्कुलमा १२ कक्षामा पढ्ने ती किशोरीले घरमै सिलिङ फेनमा डोरीको पासो लगाएकी थिइन। उनका दुई दिदी काठमाडौँमा अध्ययनरत छन्। घरमा आमा बुबासँगै रहेकी उनले के कति कारणले आत्महत्या गरिन यकिन तथ्य प्रहरीले फेला पार्न सकेन। उनका  परिवारले पनि आत्महत्याको सम्भावित कारण बताउन चाहेन। प्रहरीले नैराश्यता वा आवेगमा ती किशोरीले आत्महत्याको बाटो रोजेको हुन सक्ने भनेको छ।

कपिलवस्तुको शिवराज नगरपालिका रमुवादहकी आरती थारु गत बैशाखमा आफ्ना दुई वर्षका छोरासँगै झुन्डिएको अवस्थामा फेला परिन। घर नजिकैको सामुदायिक वनमा चुन्नीको पासोमा दुई बर्से अबोध बालक सहित उनी मृत फेला परेकी थिइन। २५ वर्षकै उमेरमा दुधे बालक सँगै घाँटीमा पासो लगाउन उनलाई के ले बाध्य पार्‍यो भन्ने सम्बन्धमा नत प्रहरीले ठोस कारण पत्ता लगायो न उनको परिवार सगं यसको जवाफ छ। प्रहरी अनुसन्धानमा पारिवारिक कलह आत्महत्याको मुख्य कारण हुन सक्ने उल्लेख छ। घटनाका सम्बन्धमा माइती, घरपक्ष र छिमेकका भिन्न भिन्न तर्क छन्। 

रुपन्देहीकै कञ्चन गाउँपालिका पिपरीचापाका १७ बर्से सवनले गत भदौ अन्तिम साता झुन्डिएर आत्महत्या गरे। गेम खेल्न मोबाइल नदिएको झोकमा अघिल्लो दिन राती आमासँग झगडा गरेका सवन अर्को दिन बिहान झुन्डिएको अवस्थामा फेला परेको प्रहरी बताउँछ।

यी प्रतिनिधि घटना हुन्। कलिलो उमेरका युवा युवती, काखे नानी छोडेर आत्महत्या गर्ने महिला तथा परिपक्व उमेरका पुरुष मात्र होइन बृद्धबृद्धा समेतले आफ्नो जीवनलिला आफै समाप्त गरेका घटना लुम्बिनी प्रदेशमा बढ्दो छ। सबैभन्दा धेरै आत्महत्याका घटना रुपन्देहीमा छ।

लुम्बिनी प्रदेश प्रहरीको तथ्याङ्क अनुसार प्रदेशका १२ जिल्लामा पछिल्लो साढे तीन वर्षमा मात्रै ४ हजार ५६७ जनाले आफ्नो जीवन लिला आफै समाप्त पारेका छन्। चालु आर्थिक वर्षका ५ महिनामा मात्रै प्रदेशमा ५८४ जनाले आत्महत्या गरेका छन्। जसमा २५० महिना र ३३४ जना पुरुष छन्। गत आर्थिक बर्ष २०७८/०७९ मा १ हजार ३४१ जनाले आत्महत्या गरेका थिए। जसमा पुरुष ८१३  र महिला ५२८ जना छन्। सबैभन्दा धेरै रुपन्देहीमा २६६, दाङमा २२७, कपिलवस्तुमा १६९,बर्दियामा १६२, नवलपरासीमा १०१, पाल्पामा ७५ जना, रोल्पामा ७३, गुल्मीमा ७१, प्युठानमा ६८, अर्घाखाँचीमा ५९, बाँकेमा ५८ र रुकुममा १२ जनाले आत्महत्या गरेका थिए। अघिल्लो बर्ष २०७७/०७८ मा १ हजार ४०८ जना र २०७६/०७७ मा १ हजार २३४ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रदेश प्रहरी सँग छ।

कोरोना काल सुरु भएयता प्रदेशमा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ। आत्महत्या गर्नेको संख्या गत बर्ष नगन्य रुपमा घटे पनि यसले सामाजिक समस्याकै रूप लिने खतरा बढेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायले बताए। आत्महत्या गर्नेमा १६ देखि २५ बर्ष उमेर समूहका धेरै छन्।

१०/११ वर्षका बालबालिकाले समेत आत्महत्या गरेका घटना छन्। गत साउनमा रुपन्देहीको कञ्चन गाउँपालिकाको हरैयामा १० वर्षीय बालक आयुषलाइ चुन्नीको पासो लगाएको अवस्थामा उद्धार गरिएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो। कञ्चनकै ४ नम्बर वडाका ११ वर्षीय बालक सोहनले पनि डोरीको पासो लगाएर आत्महत्या गरेको बताइएको छ। एक वर्षमा १६ बर्ष मुनीका ११० जना बालबालिकाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ। ६० बर्ष नाघेका १३० जना छन्।

आत्महत्याका घटना बढ्नुमा पारिवारिक र सामाजिक तनाव मुख्य कारण देखिएको डिआइजी उपाध्यायले बताए। ‘प्रविधिको विकास र रफ्तार अनुरूप ग्रामीण तहसम्म विकास पुग्न नसक्नु, बेरोजगारी समस्या, आर्थिक सङ्कट, देखासिकी, युवापुस्तामा विकास भइरहेको उच्च महत्त्वाकाङ्क्षा, बालमैत्री परिवार र समाज निर्माण हुन नसक्नु जस्ता कारणले पारिवारिक र सामाजिक तनाव सिर्जना भइरहेको उनले बताए। ‘अत्यधिक तनाव र नैराश्यताले व्यक्तिलाई डिप्रेसनको सिकार बनाउँछ। डिप्रेसनको बेलैमा उपचार नहुँदा त्यसले आत्महत्याको रूप लिएका घटना धेरै छन्’ डिआइजी उपाध्यायले भने।

गरिबी, वैदेशिक रोजगारीले निम्त्याएका विकृति, विवाहेत्तर सम्बन्ध, मानसिक रोग, असफल प्रेम सम्बन्ध, शैक्षिक असफलता, घरेलु हिंसा, दुर्व्यसनी पनि आत्महत्याका मुख्य कारण देखिएका छन्। पछिल्लो समय आर्थिक क्षेत्र देखिएको मन्दी र दीर्घ रोगका कारण पनि आत्महत्या गर्नेहरू बढेको डिआइजी उपाध्यायको भनाइ छ।

आत्महत्याले सामाजिक समस्याकै रूप लिँदै गए पनि यसको न्यूनीकरणमा तीन तहका सरकारको ध्यान पुग्न सकेको छैन। सुरक्षा निकायले बेलाबखत गर्ने आत्महत्या न्यूनीकरणका अभियानरुह पनि सतही र सहर केन्द्रित देखिन्छन्। प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी उपरीक्षक नवरत्न पौडेलले आत्महत्या न्यूनीकरणकालागि स्थानीय सरकार, नागरिक समाज, स्कुल, क्लबसँग समन्वय गरी लक्षित समूहसम्म पुग्ने गरी विशेष अभियान संचालन गरिने बताए। 

प्रहरी सहित सरकारी तथा गैरसरकारी  निकायले आत्महत्याको सम्भावित कारण पत्ता लगाइ रोकथामका लागि लक्षित समुदाय सम्म चेतना मूलक कार्यक्रम पुर्‍याउनु पर्ने बताउँछन् समाज शास्त्री जीवनारायण अधिकारी। व्यवहारिक र नैतिक शिक्षाको अभावले बालबालिका तथा युवाहरूमा हठात मनस्थिति,जिद्दी स्वभाव तथा उच्च महत्त्वाकाङ्क्षा बढ्दै जाने र त्यसले नकारात्मक रूप लिने गरेको उनको ठहर छ।

बालबालिका तथा युवापुस्ताहरूलाई व्यवहारिक शिक्षा प्रदान गरी स्वरोजगार मूलक काममा लाग्न प्रेरित गर्ने, दीर्घ रोग तथा मनोरोगको सर्वसुलभ उपचार र वैदेशिक रोजगारीलाई कम गर्दै स्वदेशमै स्वरोजगार सृजना, राज्यका सेवा सुविधालाई पिछडिएको जाती समुदायको पहुँचमा पुर्‍याउने, आर्थिक क्षेत्रको सुदृढीकरण,जस्ता काम गर्न सके आत्महत्याका घटनामा कमी ल्याउन सकिने समाज शास्त्री अधिकारीको ठहर छ। ‘हरेक व्यक्तिको जीवन बहुमूल्य छ र परिवार,समाज र राष्ट्रकालागि उसको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुराको महसुस गराउने वातावरण सृजना गर्ने दायित्व राज्यले पुरा गर्नु पर्छ’ समाज शास्त्री अधिकारीले भने।

मनोरोग विशेषज्ञ डा.असिम रेग्मीले शारीरिक स्वास्थ्य उपचारलाई जत्तिकै महत्त्व मानसिक स्वास्थ्यलाई दिनु पर्ने बताए। ‘शरीरमा सानो समस्या देखिए उपचार खोज्छौ तर मन दुख्दा त्यसको उपचार खोज्दैनौँ र मानसिक रोग निम्याउछौं। त्यही मानसिक रोगका कारण व्यक्तिले आफैलाई चोट पुर्‍याउने र आत्महत्याका योजना बनाउने गरेको देखिन्छ’ डा रेग्मीले भने। तनाव, नैरास्यता, एकोहोरो पन जस्ता लक्षण देखिएको व्यक्तिलाई समयमै सम्बन्धित चिकित्सकबाट उपचार या मनोपरामर्स प्रदान गर्न सके आत्महत्याको दरलाइ घटाउन सकिने डा रेग्मीले बताए।

प्रकाशित: २ पुस २०७९ १२:३० शनिबार