प्राचीन कपिलवस्तुको पहिचान बुद्धकालीन धानका रुपमा रहेको कालानमक धान लोप हुने अवस्थामा पुगेको छ।
लगानी अनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गए पछि यो धान लोप हुने अवस्थामा पुगेको हो। सहज बजारीकरणको समस्या तथा सिचाई र सिहार सुसार बढी गर्नु पर्ने र रोग तथा कीराको प्रकोप बढी देखिने भएकाले कृषिकहरु यसको साटो हाइब्रिड धान तर्फ आकर्षित भएका छन्।
भिआइपी देखि पर्यटकहरूको रोजाई भए पनि लागत अनुसार कम उत्पादन भए पछि कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन्। मसिनो र बास्नादारको सुचीमा पर्ने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो। अहिले बजारमा हाइब्रिड र रैथाने दुबै खालको कालानमक पाइन्छ। सेतो रंगको कालानमक पनि रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
यस्तै यसै प्रजाति अन्तर्गत गोपालभोग समेत रहेको छ। यो धान बासमतीभन्दा उत्कृष्ट मानिन्छ। यो पकाउँदा बास्नादार हुन्छ। स्वाद मिठो हुन्छ। यसले स्वास्थ्यलाई फाइदा गर्ने कृषि विज्ञ भीमनाथ शर्मा बताउँछन्। ‘यो उत्कृष्ट धान हो, यसको स्वाद नै बेग्लै हुन्छ’, शर्मा भन्छन्। यो चामलमा फाइबर आइरन लगायतका भिटामिन पाइन्छ। प्राचीन कपिलवस्तुको मुख्य खेती मानिन्छ, कालानमक।
विगतमा कपिलवस्तु, रुपन्देही तथा नवलपरासीमा यसको खेती हुन्थ्यो। तर, अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे। त्यसो गर्दा कपिलवस्तुसहित रुपन्देहीको दक्षिणी क्षेत्रमा कालानमकको खेती शून्य प्रायः भयो। यसको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महँगो परेको जनाइएको छ। यो धान असारमा रोपेपछि मङ्सिरको अन्तिम साता मात्रै काट्न तयार हुन्छ। सिँचाइ पनि पर्याप्त चाहिन्छ। ६ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ। अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको मायादेवी गाउँपालिकाको बलुहवाका कृषक आदित्य प्रसाद चौधरीले बताए।
‘धान ढिलो पाक्दा तोरी र गहुँ लगाउने किसानलाई मार पर्ने गर्छ।’ ९ हेक्टर कालानमक धान खती गरेको उनले भने। कपिलवस्तु कृषि ज्ञान केन्द्रका प्रमुख डा.रवीन्द्रनाथ चौवे पतेराले चुसेर बालामा चामल पस्नै नदिने समस्या रहेकाले यो धान उत्पादन चुनौतीपूर्ण हुने बताउँछन्।
यो धान उत्पादन बढाउन कपिलवस्तुमा प्रवर्द्धनात्मक कार्यक्रम नै लागू गरिएको छ। मसिना तथा बास्नादार धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई बीउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको चौवेको भनाइ छ। उनका अनुसार यसको उत्पादन बढाएर मसिनो धान आयात प्रतिस्थापन गर्ने योजना छ। कालानमकको बोट अग्लो हुन्छ। बाला काला हुन्छन्। अग्लो बोट भएकाले ढल्ने सम्भावना बढी हुन्छ। यसको उत्पादनमा मेहनत बढी हुँदा किसान अन्य प्रजातिमा लागेको जनाइएको छ। उत्पादकत्व कम छ। कृषि विज्ञ शर्माका अनुसार अन्य धान प्रतिहेक्टर ४ मेट्रिक टन उत्पादन हुँदा यो धान डेढ मेट्रिक टन मात्रै उत्पादन हुन्छ।
चामल बिक्रीमा भने किसानलाई बराबरी लाभ हुन्छ। अन्य धानको चामलको मूल्य ५० रुपैयाँदेखि ६० रुपैयाँ छ। कालानमक ३ गुणा बढी मूल्यमा बिक्री हुन्छ। अहिले बजारमा यसको मूल्य प्रति केजी १ सय ६० देखि १ सय ८० छ।
बुद्धकालीन समयमा असार पूर्णिमाका दिन तिलौराकोट दरबार बाहिर धान मंगलत्सव मनाएर कालानम धान लगाइने गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मत्तेयले बताए। उनका अनुसार स्थानीय भाषामा बजरङ्ग धान अन्तर्गत कालानमक धान प्राचीन कपिलवस्तुको प्रचिन रैथाने धान रहेको उनले बताए। बढी पानी चाहिने र रोग तथा कीराको प्रकोप लाग्ने भएकाले कृषकहरूले बिस्तारै यो धान लगाउन छाड्दै गएको उनी बत्ताउँछन्।
उनले प्राचीन कपिलवस्तुको शानकारुपमा रहेको कालानमक धानलाई प्रवर्द्धन गर्नुपर्ने बताए। कालानमकको विशिष्ट विशेषताका कारण नेपाल कृषि अनुसन्धान परिषद् नाकले ३ बर्ष अघि शुद्धोदन नामको उन्नत जातको धानको बीउ समेत विकास गरेको थियो। तर त्यस बारे कृषकलाई त्यति जानकारी नै छैन। कालानमक नेपालकै रैथाने भएकाले यसको बीउ बचाउन नार्कले नै ध्यान दिनुपर्ने तर्क विज्ञ शर्माको छ। ‘अहिले पुरानै कालानमक लोप भइसक्यो कि जस्तो छ’, उनी भन्छन्, ‘यसलाई जोगाउन नार्कले चासो दिनुपर्छ।’ कपिलवस्तु, रुपन्देही क्षेत्रमा करिब ६ सय हेक्टरमा यसको खेती भइरहेको जनाइएको छ। जस मध्ये कपिलवस्तुमा साढे ३ सय हेक्टर कालानमक र ५० हेक्टर गोपालभोग लगाइने गरिन्छ।
प्रकाशित: २ पुस २०७९ ०९:३५ शनिबार