समाज

फोक्सिन्टारको पक्की पुल अन्तिम चरणमा, अब बेलिब्रीज लगाउनु नपर्ने

३ महिनाअघि खिचिएको फोक्सिन्टारस्थित पक्की पुल। तस्विरः महेश्वर

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने निर्माणाधीन ‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ मा पर्ने फोक्सिन्टारस्थित कसुनोसीमा यस वर्षदेखि बेलिब्रीज लगाउन छाडिएको छ।

कोसीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै हरेक वर्ष जडान गर्दै खोल्ने गरिएको बेलिब्रीज यो वर्षदेखि लगाउन नपर्ने भएको हो। उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ३ बिच भएर बग्ने कोसीमा विगत ८ वर्षदेखि हिउँदमा बेलिब्रीज लगाउने र बर्खा लागेपछि खोल्ने गरिएको थियो। 

त्यहाँ निर्माणाधीन पक्की मोटरेबल पुल सकिनै लागेका कारण यस वर्षदेखि बेलिब्रीज लगाउन छाडिएको गाईघाट दिक्तेल सडक कार्यालयका प्रमुख (डिई) गोपाल खकुरेलले बताए। उनका अनुसार प्रत्येक वर्ष मंसिर अन्तिममा बेलिब्रीज जडान गर्ने गरिन्थ्यो भने वैशाख अन्तिममा खोल्ने गरिएको थियो।

झण्डै ३ दशकदेखि निर्माणाधीन गाईघाट–दिक्तेल सडक मार्गमा यातायात सहज आवागमन गर्न हिउँदमा बेलिब्रीज लगाउने गन्थ्यिो। त्यस्तै वर्षा लागेपछि बाढीले बगाउने खतरा हुने हुँदा वैशाख पहिलो साताभित्र खोलेर राख्ने गरिन्थ्यो। अर्को वर्ष फेरि पुनर्जडान गर्ने र खोल्ने क्रम वर्षौँदेखि चलिरहेको थियो।

डिई खकुरेलका अनुसार गाईघाट दिक्तेल सडकको नयाँ ट्र्याक खुलेसँगै गाडीहरू कोसी तार्ने प्रयोजनका लागि आर्थिक वर्ष ०७२/७३ देखि फोक्सिन्टारमा बेलिब्रीज जडान गर्न थालिएको हो। ५० मिटर लामो र ५ मिटर चौडा बेलिब्रीज कोसीको पानी घटेपछि सोझो यातायात चलाउन लगाउने गरिन्थ्यो भने वर्षा लागेपछि वैशाख सुरुतिर भत्काउने गरिन्थ्यो।

यो वर्ष भने पुल सञ्चालनमा आउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले त्यहाँ बेलिब्रीज नलगाउने निर्णय भएको सडक कार्यालयले जनाएको छ। पुल बनेपछि त्यहाँ बेलिब्रीज लगाउन र भत्काउन लाग्दै आएको बर्सेनि झण्डै १ करोड हाराहारी रकम बचत हुने सडक कार्यालय गाईघाटका सूचना अधिकारी इन्जिनियर प्रभात किरण राईले बताए।

इन्जिनियर राईका अनुसार विगत वर्षहरूमा यति बेलासम्म बेलिब्रीज जडान भइसक्थ्यो। तर, यस वर्ष पुल बनिसक्ने ग्यारेन्टी भएकैले सडक विभागले बेलिब्रीज नलगाउन निर्देशन दिएको उनले बताए। पुलको मुख्य ढलान सकेर माथिल्लो सतह कालोपत्रे गर्ने तयारी भइरहेको छ। पुलको रेलिङ तथा एप्रोज कालोपत्रे र अन्य ससाना कामहरु मात्र बाँकी रहेको इन्जिनियर इन्जिनियर राईले बताए।

रौतामाई गाउँपालिका ५ का वडाध्यक्ष पाण्डव राईले पुल यही पुस पहिलो साताभित्रै सकेर गाडी आवागमन खुल्ला गर्ने गरी काम भइरहेको बताए। दशकअघि निर्माण सुरु भएको पुल ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ढिला हुँदा एकातिर राज्यको करोडौँ बजेट बेलिब्रीजमा खर्च हुन्थ्यो भने अर्कातिर दुई जिल्लावासी यात्रुलाई सकस पर्ने गरेको थियो। पुल अन्तिम चरणमा पुगेकाले बेलिब्रीज लगाउन छाडेपछि खर्च कटौती हुनुका साथै सोझै गाडी चलेपछि उदयपुर र खोटाङका जनतालाई आउजाउ सहज भएको राईले बताए।

पुलको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको ‘पुल सेक्टर नं. १ धरान’ ले सकेसम्म पुस पहिलो सातादेखि पुल सञ्चालनमा ल्याउने गरी युद्ध स्तरमा काम भइरहेको जनाएको छ। ‘पुलको काम ९५ प्रतिशत सकिइसकेको छ, अव बढीमा साता दिनभित्र गाडी आउजाउ गर्न सुरु हुन्छ’ पुलको काम अनुगमनमा रहेका सेक्टर इन्जिनियरले भने ‘छिटै काम सकेर उद्घाटन गरी ठेकेदारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

प्रकाशित: २ पुस २०७९ ०८:५३ शनिबार