जाडो मौसममा हुस्सुले गर्दा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि मोरङ ट्राफिक कार्यालयले सावरी साधनमा ‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्न थालेको छ ।
शुक्रबारदेखि एक्कासि हुस्सु बढेसँगै विराटनगरमा सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टीकर’ टाँस्ने अभियान थालेको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ । हुस्सु लाग्दा र रातको समयमा सवारी साधन राम्रोसँग नदेखिँदा दुर्घटना बढी हुने भएकोले त्यसको न्यूनीकरण गर्नका लागि ठुला, साना सवारी साधन तथा साइकलमा समेत ‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्न थालेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
उनले सडकको बिच भागमा रहेका डिभाइडरमा समेत टल्कने ‘रिफ्लेटिक्भ स्टीकर’ राखिएको बताए । सबै सवारी साधनमा ट्राफिक प्रहरीले टल्कने स्टीकर टाँसे पनि सवारी साधन धनी स्वयंमले यस अभियानमा सहभागिता जनाउँदै आफै पनि स्टीकर टाँस्न अनुरोध गरेको बताउँदै, ट्राफिक प्रमुख कार्कीले भने, ‘जाडो मौसममा बढी दुर्घटना हुने हुँदा सवारी साधनका बत्ती र पछाडिबाट राम्रोसँग देख्ने गरी स्टीकर राख्नुपर्छ । स्टीकर टाँस्ने काम पहिले पनि गर्दै आएको भए पनि जाडो मौसम बढेसँगै पुनः यस कार्यलाई अभियानका रूपमा अघि बढाएका हौँ ।’
विराटनगर–विराट चोक सडकअन्तर्गत विराटनगर–१९ स्थित घिनाघाटबाट अभियानको सुरुवात गरिएको हो । प्रहरी सहायक निरीक्षक तुलामणि आचार्यका अनुसार रिफ्लेक्टिभ स्टीकर बस, ट्रक, टिपर, मोटरसाइकल, साइकल तथा बलयगाडा समेतमा स्टीकर टाँसिएको छ ।
प्रकाशित: १ पुस २०७९ १३:१९ शुक्रबार