समाज

गौर – बैरगनिया सिमानाका तिन दिनका लागि शिल

रौतहट सदरमुकाम गौरसित सिमाना जोडिएको भारतीय बजार बैरगनिया नगरपालिकामा आइतबार चुनाव हुने भएकोले सिमानाका शिल गरिएको छ।  

भारतको बिहार राज्यको सीतामढी जिल्लामा पर्ने बैरगनिया नगरपालिकामा आइतवार नगर परिषदको चुनाव हुँदैछ। नगर परिषदको चुनावको समयभन्दा दुई दिन पहिलेदेखि नै सिमानाका बन्द गरी सहयोग गर्न भारतीय पक्षले नेपालको प्रशासनलाई पत्राचार गरेको थियो। 

नेपालमा पनि चुनाव हुँदा कम्तीमा दुई दिन पहिलेदेखि सिमानाका बन्द हुँदै आएको छ। असामाजिक गतिविधि हुन नदिन चुनावको दिन साँझसम्म नेपाल र भारतको सिमानाका बन्द रहने बताइएको छ।  

सिमानाका बन्द भएपछि भन्सार क्षेत्र सुनसान रहेको छ। दुई देशबिच आवागमन बन्द रहेको छ। कतिपय मानिसलाई चुनावको विषयमा जानकारी नहुँदा सिमाक्षेत्रमा पुगेर घर फर्किन बाध्य भएका छन्।  

सितामढी जिल्लाका सह जिल्ला पदाधिकारी विश्वासभाजनले औपचारिक रुपमा पत्राचार गरी सिमानाका शिल गर्न आग्रह गरेका छन्।

प्रकाशित: १ पुस २०७९ १२:१८ शुक्रबार

रौतहट