समाज

पत्रकार महासंघ ताप्लेजुङले जिल्लाको बृहत्तर विकासका लागि सार्वजनिक बहस सञ्चालन गर्ने

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको १० औं साधारण सभाले ताप्लेजुङ जिल्लाको बृहत्तर विकासका लागि गर्नुपर्ने कामको प्राथमिकीकरण र सवाल समाधानको मार्ग पहिचान गर्न सार्वजनिक बहस सञ्चालन गर्ने निर्णय गरेको छ।

संघीय राजधानी,सम्बन्धित प्रदेश राजधानी र जिल्लामा यस्तो बहस सञ्चालन गर्ने निर्णय भएको पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले जानकारी दिए। उनका अनुसार पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएको र दुईदेशीय सीमानाका समेत भएको उत्तरी ताप्लेजुङको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बत सीमानाका टिप्तालामा केन्द्र,प्रदेश र जिल्लाका पत्रकारहरुको भेला राखिने भएको छ। यो भेलाले नेपाल–चीन विकासका आयामहरुको पहिचान गर्ने बिश्वास राखिएको पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्यले जानकारी दिए।

४ हजार २ सय मिटर उचाईको यो सीमानाका टिप्तालामा सम्बन्धित बिषयमा कलम चलाउने पत्रकारको भेलामार्फत जलवायु परिवर्तन,पर्यटन प्रवद्र्धन र दुईदेशीय विकासका सम्भावना,चुनौति र समाधानको सुत्र पत्ता लाग्ने पत्रकार महासंघ ताप्लेजुङको निश्कर्ष रहेको महासंघले जनाएको छ। साधारणसभाले पत्रकार महासंघ ताप्लेजुङका आवद्ध तथा अन्य सक्रिय सञ्चारकर्मीको बार्षिक स्वास्थ्य बीमा गर्ने समेत निर्णय गरेको महासंघ सचिव आचार्यले बताए।

जिल्लामा कार्यरत पत्रकारको क्षमता विकासका लागि बिभिन्न निकायसंग साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने,पत्रकार महासंघको शाखा भवनको मर्मतसम्भारका लागि प्रदेश १ सरकारको यातायात तथा सञ्चार मन्त्रालयसंग योजना माग गर्ने निर्णय समेत साधारणसभाले गरेको छ। साधारणसभाकै अवसरमा पत्रकार महासंघका बिभिन्न जिम्मेवारीमा रही अहिले जनप्रतिनिधि बनेका दुईजनालाई सम्मान समेत गरिएको छ। प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई,प्रदेशसभाका सांसद खगेनसिंह हाङगाम,फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,पत्रकार महासंघ प्रदेश नं १ का उपाध्यक्ष लवदेव ढुङ्गाना सहितको उपस्थितिमा जनप्रतिनिधिमा निर्वाचित दुई पत्रकारलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शान्ताकुमारी आङबुहाङ र अग्रज पत्रकार लिलाचक्र गुरुङ रहेका छन्। पत्रकार महासंघको बैधानिक व्यवस्था अनुसार जनप्रतिनिधिमा निर्वाचित आङबुहाङ र गुरुङ अब पत्रकार महासंघको सदस्य रहने छैनन्। २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार आङबुहाङ आठराई त्रिबेणी गाउँपालिकाको उपाध्यक्षमा र गुरुङ फुङलिङ नगरपालिका वडा नं २ को सदस्यमा निर्वाचित भएका थिए। दुबैजना एमालेबाट जनप्रतिनिधि बनेका हुन्।

जिल्ला समन्वय समितिको प्रमुखको आकाँक्षा सहित वडा सदस्य बनेका गुरुङ जिसस चयनमा आफ्नो पार्टीको बहुमत नपुगेपछि जिसस प्रमुखमा प्रतिस्पर्धी नै बनेनन्। साधारणसभाले सचिव आचार्यद्धारा प्रस्तुत सांगठनिक तथा कोषाध्यक्ष मदन गौतमद्धारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई सुझाव र शंसोधन सहित पारित गरेको छ।  

प्रकाशित: १ पुस २०७९ ०५:३५ शुक्रबार

पत्रकार महासंघ ताप्लेजुङ