समाज

पेस्तोलसहित युवक पक्राउ

सिरहाको बिष्णुपुर गाउँपालिकाबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही पालिका वडा नम्बर ३ का २२ वर्षीय विन्दे भन्ने सावनकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए।

दुई दिनअघि सोही गाउँमा भएको एक वैवाहिक कार्यक्रमबाट चोरी भएको मोटरसाइकल खोजतलासको क्रममा प्रहरीले दासको घरमा खानतलासी गर्दा कम्मरमा लुकाएको कटुवा पेस्तोलसहित उनलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए। मोटरसाइकल चोरीको आरोप लागेपछि उनको घरमा प्रहरीले तलासी गरेको थियो। पक्राउ परेका दासको पृष्ठभूमि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

‘हतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ’, डिएसपी बुढाथोकीले भने, ‘उनले कहाँबाट हतियार ल्याएका हुन् लगायतका विषयबारे खुलाउने गरी अनुसन्धान अघि बढाइएको छ।’

प्रकाशित: १ पुस २०७९ ०४:५९ शुक्रबार

पक्राउ