समाज

नेपाल दलित पत्रकार संघ सार्वजनिक

काठमाडौं– नेपाल दलित पत्रकार संघ बुधबार औपचारिक रुपमा सार्वजनिक भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको औपचारिक उट्घाटनसहित संघले ११ सदस्यीय कार्यसमिति सार्वजनिक गरेको छ।

संघको अध्यक्षमा नागरिक दैनिककी पत्रकार पवित्रा सुनार, उपाध्यक्षमा कमान्डर पोस्ट दैनिकका गोपाल बराइली, महासचिवमा गोरखापत्र दैनिकका लक्ष्मण दर्नाल, कोषाध्यक्षमा रेडियो हिमालयका बुद्धि विश्वकर्मा, सचिवमा नेपालवाणी नेटवर्क रेडियोका सन्तोष गन्धर्व छन् ।

सदस्यमा क्रमशः नयाँपत्रिका दैनिकका कृष्णा रिजाल, बिबिसी रेडियोकी सविता विक, रेडियो नेपालकी कमला रसाइली, एबिसी टेलिभिजनका विनोद बिके, जागरण मिडिया सेन्टरका विरु नेपाली, नयाँपत्रिका दैनिककै विश्वास खड्गाथोकी छन् ।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री शेरधन राईले संचारकर्मीहरुले उठाउँदै आएको पेशागत सुरक्षाका बिषय संविधानको क्रियाशिलतासँगै लागू हुँदै जाने बताए । राज्य पूर्ण पे्रस स्वतन्त्रताको पक्षमा रहेको जनाउँदै मिडिया क्षेत्रमा राज्यले अंकुश लगाउन नखोजेको जनाए ।

कार्यक्रममा नेपाल पत्रकार संघका अध्यक्ष महेन्द्र बिष्ट, नेपाल पे्रस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, सूचना आयोगकी सदस्य यशोदा तिम्सिना, उच्चस्तरीय मिडिया आयोगका काशीराज दाहालले सम्बोधन गर्दै शुभकामना दिएका थिए ।

 

प्रकाशित: १० असार २०७३ ०२:४३ शुक्रबार

नेपाल दलित पत्रकार संघ सार्वजनिक